दाङ, १२ मंसीर
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले दोस्रो चरणमा हुने निर्वाचनमा मतदाताको सहभागिता बृद्धि गर्नका लागि पत्रकारहरुले भूमिका खेल्नु पर्ने बताएका छन् ।
पहिलो चरणमा ६५ प्रतिशत मात्र मत खस्नुलाई गंभिर रुपमा लिदै मतदातालाई मतदान केन्द्रसम्म ल्याउन सबै पक्षले भूमिका खेल्न आबश्यक देखिएको उनको भनाई थियो ।
कैलालीको धनगडीमा नेपाल पत्रकार महासंघमा आयोजित आमसञ्चार र निर्वाचन बिषयक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाको वातावरण निर्माण गर्न, चुनावलाई भड्किलो हुन नदिन र आचारसंहिताको पालना भए नभएको बिषयमा गंभिर भूमिका खेल्न पनि पत्रकारहरुलाई आग्रह गरे ।
‘पत्रकारको सुरुक्षाका बिषयमा राज्यको ध्यानाकर्षण गराएका छौ’ पोख्रेलले भने, ‘स्थानीय तहमा कोही पत्रकार असुरक्षीत हुने अबस्था आउन नदिन जिल्ला स्थित प्रशासन र राजनीतिक दलले भूमिका खेल्न पर्छ ।’
उनले लोकतान्त्रिकिकरणको प्रक्रियामा सधै पत्रकारहरुले सघाउदै आएको स्मरण गर्दै लोकतन्त्रलाई जीवन्त बनाउनका लागि निर्वाचनलाई सुव्यबस्थित रुपमा सम्पन्न गराउन भूमिका खेल्नु पत्रकारहरुको दायित्व भएको बताए ।
‘यो प्रक्रियामा काम गर्ने पत्रकारहरुलाई सूचनामा पहुँच बनाउन स्थानीय प्रशासनले सहयोग गर्नु पर्छ’ उनले जिल्ला स्थित प्रशासनको ध्यानाकर्षण गराए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले पत्रकारको सुरक्षा र सूचनामा पहुँच स्थापना गर्न आफु प्रतिबद्ध रहेको जनाएका थिए ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावदको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य मिन बमले बिषय प्रशेब गराएका थिए ।