घोराही, २३ भदौ
घोराहीको मुख्य बजार क्षेत्र तुलसीपुर चोकका सडक पेटीमा राखिएका फूटपाथ पसलहरु हटाईएको छ । सडक छेउबाट हटाएर फुटपाथ पसलहरुको एकीकृत व्यवस्थापन गरिएको छ । घोराही १५ स्थित घरेलु शिल्पकलाको झण्डै १० कठ्ठा जमिनमा फुटपाथ व्यवसाय सञ्चालनका लागि व्यवस्थापन गरिएको छ । घोराही उपमानगरपालिका वडा नम्बर १५ को सकृयतामा फुटपाथ पसलहरुको व्यवस्थापन गरिएको हो ।
तुलसीपुर चोक आसपासमा अव्यवस्थित रुपमा राखिएका फुटपाथ पसलका कारण सवारी दुर्घटनाको जोखिम अधिक थियो । सवारी दुर्घटनाको जोखिम संगै पैदल यात्रुहरुलाई हिँड्डुल गर्न असहज भएपछि फुटपाथ पसलहरुको एकीकृत व्यवस्थापन गरिएको वडा अध्यक्ष रमेश कुमार पाण्डेले वताए । ‘सडकको आधा भाग छोपेरै फुटपाथ पसलहरु सञ्चालन भैरहेका थिए, यसले सवारी दुर्घटनाको जोखिम एकातिर अत्यधिक बढ्दै गईरहेको थियो भने अर्को तिर पैदल यात्रुहरुलाई हिँड्न निकै समस्या भैरहेको थियो,’वडा अध्यक्ष पाण्डेले भने ।
आज देखि घरेलु शिल्पकलाको खालि जमिन सम्याएर त्यहाँ फूटपाथ पसलहरुको व्यवस्थापन गरिएको छ । अब देखि तुलसीपुर चोक आसपासका सडक छेउमा चल्दै आएको फुटपाथ व्यवसाथ बन्द हुने र कसैले त्यसरी गरेको पाईएमा कारवाही गरिने पाण्डेले वताए । पाण्डे सहितका जनप्रतिनीधिहरुले फुटपाथ पसलहरुलाई सडकबाट आज तयार पारिएको स्थानमा सारेका थिए ।