कर छलीको मुद्धामा रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्धा दायर हुने भएपछि युरोपको विभिन्न सञ्चार माध्यममा उनी जेल पर्न सक्ने सम्भावनालाई लिएर बहस सुरु भएको छ।
कर छलीको सम्बन्धमा उनीविरुद्ध गोप्यरुपमा छानवीन भइरहेको थियो। तर, त्यो गोप्यता भंग भएसँगै सरकारी वकिलको कार्यालयले मंगलबार म्याड्रिडमा उनीविरुद्ध १ करोड ४७ लाख युरो छली गरेको आरोपमा मुद्धा दायर हुने जानकारी दिए।
केही साताअघि मात्र रोनाल्डोका प्रतिद्वन्दी तथा बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसीलाई कर छली सम्बन्धमा स्पेनको उच्च अदालतले ४१ लाख युरो असुल उपर गर्ने र २१ महिनाको जेल सजाय तोकेको थियो। मेसीले यसका लागि लामो कानुनी लडाई लड्नु परेको थियो। मेसी जस्तै रोनाल्डोले पनि लामो कानुनी प्रक्रियाबाट गुज्रिनु पर्ने पक्का छ। अझ, मेसीको तुलनामा रोनाल्डोको कर छली तीन गुना बढि मानिएको छ।
मेसीको मुद्धा २०१३ मा सुरु भएको थियो। स्पेनको कानुनमा पहिलो पल्ट वित्तिय अपराध गर्ने र २ वर्षसम्म जेलको सजाय तोकिएका व्यक्तिले जेलमा बस्नु पर्ने बाध्यता छैन्। तर, दण्डित गरिएको रकम भने तिर्नु पर्ने नियम छ।
यस्तै, रोनाल्डोको हकमा पनि २ वर्षभन्दा कमको जेल सजायको फैसला भएको खण्डमा उनले पनि मेसी जस्तै जेलमा बस्नु पर्ने छैन। उनीविरुद्ध पनि यसअघि कर छली गरेको कुनै अपराध छैन्।
तर, कर छलीको रकम मेसीभन्दा बढि भएको हुनाले जेल सजायको दायरा बढ्न सक्ने सम्भावनाका बीच रोनाल्डोका वकिलहरु कानुनी परामर्शमा जुटेका छन्। रोनाल्डोको मुद्धा प्रारम्भिक चरणमै रहेको छ।
RaptiSandesh RaptiSandesh