Home / Feature Breaking news / स्थानीय तह प्रविधिमैत्री बन्दै

स्थानीय तह प्रविधिमैत्री बन्दै

दाङ, २० भदौ । जिल्लाका स्थानीय तहहरु प्रविधिमैत्री बन्दै गएका छन् । पहिले पहिले कागजी रुपले काम काज हुने गरेपनि हाल पछिल्लो समयमा भने कागजी काम काज भन्दा प्रविधिमैत्री काम सुरु गरीएको स्थानीय तहले बताएका छन् ।

घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाहरुले प्रविधिमैत्री सेवा सुरु गरेको बताएका छन् ।जनतालाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै जिल्लाका स्थानीय तहहरुले वडास्तरबाटै अनलाइनबाट एकिकृत सम्पति कर संकलन देखि अन्य सेवाहरु पनि सुरु गरेका छन् । सामाजिक सुरक्षा भत्ता,जग्गा तथा अन्य राजश्व संकलन र पञ्जिकरणलाई अनलाइन सिष्टमबाट गर्न थालेको छ । स्थानीय तहहरुले कर्मचारीहरुलाई तालिम दिई सवै वडाहरुलाई प्रविधिमैत्री सेवा दिन शुरु गरेको बताएका छन् ।

सेवालाई कागजरहित बनाउनका लागि धेरैजसो वडामा सेवा सुरु गरेको र केही वडाहरुमा इन्टरनेटदेखि बिद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । घोराही उपमहानगरपालिकाले यो वर्षदेखि वडा न १९ बाहेक सवै वडामा नेट इन्टनेट विस्तार गरिसक्ने जनाएको छ । तर वडा न १९ भने पहाडी र विद्युत विस्तार समेत भैनसकेकोले यो वर्ष इन्टरनेट विस्तार हुन नसक्ने जनाएको छ । अन्य वडावाट उपमहानगरले अनलाइमार्फत एकिकृत सम्पतीकर शुरु गरेको छ ।

यस्तै वडा कार्यालयबाट अनलाइन सिस्टमबाट जेष्ठ नागरिक, एकल महिला , दलित, अपाङ्ग तथा पोषण भत्ताको नाम दर्ता, लगत कट्टा, परिचय पत्र निकाल्ने कार्य पनि भइरहेको छ, भने अब केही महिनाभित्रै अनलाइन घटना दर्तालाई पनि सवै वडामा बिस्तार गर्ने उप महानगरपालिकाको योजना छ ।

सिंहदरवारको अधिकार घरघरमा भन्ने नारा लगाएर साविक गाविसबाट हुने काम नगरमा केन्द्रित गरेकोमा निकै समस्यामा भएको र अहिले आफ्नै ठाउँबाट सेवा पाउँदा भने साँच्चिकै परिवर्तनको महसुस भएको तुलसीपुर– ५ निवासी रमेश थापाले बताए ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन सुरु गरेको छ । सबै वडाहरुबाटै अनलाइनबाट कर संकलन र घटना दर्ता गर्न सुरु गरेको बरिष्ठ अधिकृत ललित घर्तीले बताए । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिन प्रयास गरेपनि एक दुई वटा वडाहरुमा भने केही समस्या देखिएको उनले बताए ।

त्यस्तै लमही नगरपालिकाले सबै वडाबाटै कर संकलन र घटना दर्ता सुरु गरेको जनाएको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीले सबै वडालाई प्रविधिमैत्री बनाएको भन्दै वडाबाटै प्रविधिमैत्री सेवा सुरु गरेको बताए । प्रविधिमैत्री सेवाले गर्दा सवै नागरिक र कर्मचारीलाई पनि सहजता भएको तुलसीपुर– ७ निवासी सन्तोष केसीले बताए ।

‘अहिले सवैलाई सेवा प्रवाहमा सहजता भएको छ , यसले गर्दा कागजको बचत पनि भएको छ ’ उनले भने । केही वडाहरुमा विकट क्षेत्रमा रहेकाले केही प्राविधि समस्या आएको र ति स्थानमा पनि सेवा दिने तयारी गरेको स्थानीय निकायहरु बताउछन् ।

गोरक्ष दैनिकवाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*