Home / Feature Breaking news / कहिले पाउँछ ओली सरकारले पूर्णता ?

कहिले पाउँछ ओली सरकारले पूर्णता ?

राप्ती सन्देश समाचारदाता
काठमाडौं,१५ फागुन । प्रधानमन्त्री केपी ओलीले अबको एकसाता भित्र मन्त्रिमण्डललाई पूर्णता दिने भएका छन् । मन्त्रिमण्डललाई पुर्णता दिन प्रधानमन्त्री ओलीले सत्ता सहयात्री माओवादी केन्द्रका नेता पुष्पकमल दाहालसँग औपचारिक अनौपचारिक वार्तालाई निरन्तरता दिएका छन् ।

‘प्रधानमन्त्री सकभर चाँडै क्याविनेटलाई पूर्णता दिने पक्षमा हुनुहुन्छ, त्यसका लागि निरन्तर छलफल भइरहेको छ’, ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
अधिकारीले बढीमा एक साताभित्र मन्त्रिमण्डललाई पूर्णता दिने प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको पनि जानकारी दिए ।
गत फागुन ३ गते प्रधानमन्त्रीको सपथ खाएका ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा नै मन्त्रिमण्डलले पूर्णता पाउने अपेक्षा गरिएको थियो । तर, दोस्रो पटकको मन्त्रिपरिषद बिस्तारका क्रममा अन्तिम समयमा थौरै मन्त्री मात्रै समावेश गरेर आकार बढाएका थिए ।

दोस्रो पटकक मन्त्रिमण्डल विस्तारपछि ओली नेतृत्वको क्याविनेट सात सदस्यीमात्रै बनेको छ । बाँकी १० मन्त्रालय अझै मन्त्रिविहिन छन् ।

किन भयो ढिला ?
पूर्व निर्धारित कार्यक्रमअनुसार एमाले र माओवादीबीच सोमबार नै मन्त्रिमण्डललाई पुर्णता दिने तयारी थियो । यो बीचमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमलाई पनि सरकारमा ल्याउन नेताहरुबीच छलफल जारी थियो ।
त्यहि प्रयासस्वरुप सोमबार बिहान एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच झण्डै २ घण्टा बालुवाटारमै छलफल भयो । उक्त छलफल सकारात्मक भएपनि उपेन्द्र यादवले तत्कालै सरकारमा जान नसक्ने बताए । ओली प्रचण्ड र यादवबाहेक बालुवाटार बैठकमा एमाले नेता सुवास नेम्वाङ पनि सहभागि थिए ।
सकेसम्म फोरमलाई पनि सोमबारै सरकारमा सहभागि गराउनेगरी भएको उक्त छलफलमा उपेन्द्र यादवले पुरानै अडान दोहोर्याए । जुन उनले पहिलादेखि नै भन्दै आएका थिए –संविधान संशोधनमा लिखित प्रतिवद्धता ।

तैपनि यादवले आफ्नो पार्टीमा सरकारमा जाने नजानेबारे छलफल चलाउने र केही दिनभित्रै निर्णय दिने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।
यादव हिँडेपछि पुन, ओली प्रचण्ड र नेम्वाङवीच क्याविनेट विस्तार केही दिन राक्ने कि भन्नेमा समेत छलफल भयो ।

तर, नेताहरु आफैले गरेको घोषणा विपरित क्याविनेट विस्तार नगर्दा अविश्वास बढ्ने भन्दै केही सङ्ख्या मात्रै भएपनि थप्ने र बाँकी अर्को चरणमा पूर्णता दिन नेताहरु सहमत भएका थिए ।

उपेन्द्र मनाउन नेम्वाङलाई जिम्मा
एमाले माओवादीले फोरमलाई सरकारमा ल्याउनुअघि उसको माग पुरा गर्न गर्नुपर्ने गृहकार्यका बारेमा एमाले नेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री अ‍ोली र प्रचण्डले जिम्मेवारी दिएका छन् । त्यसका लागि नेम्वाङ मंगलबारबाटै यादवसँग छलफलमा जुटेका छन् ।

‘सरकारमा सहभागि हुने नहुने र हामीहरुले पुरा गर्नसक्ने मागका बारेमा कुराकानी भइरहेको छ साय छिटै निश्कर्ष आउला ’ नेता नेम्वाङले टेलिफोन संवादमा भने ।
फोरमलाई सरकारमा सहभागि गराउँदा २ वटासम्म मन्त्रालय दिने एमाले–माओवादीको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*