Home / Feature Breaking news / प्रधानमन्त्री बोल्दा टिभी बन्द गर्नुपर्ने अवस्था आयोः कांग्रेस

प्रधानमन्त्री बोल्दा टिभी बन्द गर्नुपर्ने अवस्था आयोः कांग्रेस

काठमाडौं,२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर बालबालिकामा नकारात्मक असर नपरोस् भनेर अभिभावकले टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेको छ । २०७५ सालमा सरकारले गरेका क्रियाकलापबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन आयोजना गरेको कांग्रेसले प्रधानमन्त्री ओलीका अभिव्यक्तिबाट बालबालिकामा नकारात्मक असर पर्न नदिन टेलिभिजनको च्यानल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेको हो ।

‘‘प्रधानमन्त्री जब टेलिभिजनमा बोल्न थाल्नुहुन्छ, बुढापाकाले मनोरञ्जन प्रशस्तै प्राप्त गर्नुभएको छ । बूढाबूढीले मनोरञ्जन प्राप्त गरेको अभिव्यक्तिसम्म त ठिकै हो तर केही नकारात्मक अभिव्यक्ति आउँछन्, जसको नकारात्मक असर नपरोस् भनेर टेलिभिजन च्यानल बन्द गर्नुपर्ने अवस्था आएको छ,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘बालबालिकाले ढुंगामुढा गर्लान् होइन, बालबालिकाका बाबुआमाले च्यानल बन्द गरेर, यो हेर्न बन्द गर प्रधानमन्त्रीको अभिव्यक्ति हेर्न उपयुक्त छैन भन्ने अवस्था बनेको छ ।’’

सरकारको विरोधमा कसैले बोले बुढापाकाले लाठी लगाउलान् भनेर नयाँ वर्षमा दिएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसले यस्तो टिप्पणी गरेको हो । ‘‘जिम्मेवार प्रधानमन्त्रीले राखेको यो अभिव्यक्ति भनेको नेपालको संविधानले प्रत्याभूत गरेको शान्ति सुरक्षाको सन्दर्भमा राख्नुपर्ने अभिव्यक्ति अनुरुप छ कि द्वन्द्व सिर्जना गर्ने अनुरुपको अभिव्यक्ति छ रु’’ प्रवक्ता शर्माले प्रश्न गरे ।

२०७५ सालले प्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि कर्म गर्नमा हुन्छ भन्ने विषयलाई छलफलका विषयका रुपमा छोडेर गएको उनको भनाइ थियो । ‘‘२०७५ सालले एउटा छलफल गर्नुपर्ने विषय छोडेर गएको छ, बहस गर्नुपर्ने विषय छोडेर गएको छ– प्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि कर्म गर्नमा हुन्छ भन्ने,’’ शर्माले भने । प्रधानमन्त्रीको सफलता बोल्नमा नभएर कर्म गराइले लेखिन्छ भन्ने तथ्य ओलीलाई पुनः सम्झाउनुपर्ने बेला भएको कांग्रेसको निष्कर्ष छ ।

प्रधानमन्त्री ओलीले २०७५ सालमा कम्युनिष्ट कार्यकर्तालाई अरिंगाल बन्न, बुद्धिजीवीलाई थला पार्ने र प्रतिपक्षी दल कांग्रेस लगायतलाई नन्दी–भृंगीको संज्ञा दिएर आफ्नो नकारात्मक सोच, शैली र संस्कारको उपहार दिएको प्रवक्ता शर्माले टिप्पणी गरे ।

‘‘अरिंगाल बन भनेर दिएको अभिव्यक्ति कम्युनिष्ट कार्यकर्तालाई उपहार, थला पार्छौं भनेर दिएको अभिव्यक्ति उपहार थियो बुद्धिजिवीहरुलाई । विपक्षी दल लगायत सबैलाई नन्दी–भृंगीको संज्ञा दिनु प्रधानमन्त्रीको नकारात्मक सोच, शैली र संस्कारको एउटा उपहार थियो देशका लागि,’’ उनको टिप्पणी थियो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विगत वर्षको असफलताबाट पाठ सिकेर जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहारका साथ जिम्मेवारीका साथ सरकारको नेतृत्व गर्न सचेत गराएको छ । ‘‘प्रधानमन्त्रीका आपत्तिजनक अभिव्यक्तिको भर्त्सना गर्दै जिम्मेवार भएर सरकारको नेतृत्व गर्नुस्,’’ प्रवक्ता शर्माले थपे, ‘‘२०७५ सालको असफलताबाट पाठ सिकेर जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहारका साथ सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छौं र शुभकामना पनि दिन चाहन्छौं ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*