Home / Feature Breaking news / कांग्रेस महाधिवेशन : ७ प्रदेशमा नेतृत्व चुनिदै

कांग्रेस महाधिवेशन : ७ प्रदेशमा नेतृत्व चुनिदै

दाङ, १७ मसिर । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशन विहीवारदेखि सुरु भएको छ । अधिवेशनले प्रदेशमा कांगेसका नयाँ नेतृत्व चयन समेत गर्ने छ । मुलुक नयाँ संरचनामा गएसँगै हुन लागेको यो कांग्रेसको प्रथम अधिवेशन हो । गण्डकी र कर्णाली प्रदेशमा सामान्य विवाद भए पनि अन्य प्रदेशमा अधिवेशनको उद्घाटन उत्साहपूर्ण भएका छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् । उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशन सुरु भएको बताए ।

संयोजक घिमिरेले भने ‘कांग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु । केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाएको छ । बिहीबारदेखि अधिवेशनको कार्यक्रम सुरु भएको छ ।’ समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

शुुक्रवार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ । कांग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको थियो । यस प्रदेशमा एक हजार ६ सय ७१ मतदाता छन् ।

कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री रहने छन । प्रदेश २ को अधिवेशन जनकपुरमा सुरु भएको छ । प्रदेशमा एक हजार ९ सय ८० मतदाता छन । त्यसैगरी कांग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु भएको छ । बागमती प्रदेशमा कांग्रेसका एक हजार ९ सय ६० मतदाता छन । प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । गण्डकी प्रदेशको अधिवेशन पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशमा एक हजार १०० भन्दा बढी मतदाता छन् ।

यसैगरी लुम्बिनी प्रदेशको अधिवेशन बटुवलमा सुरु भएको छ । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रदेश अधिवेशनको उद्घाटन गरेका हुन । त्यसैगरी कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा सुरु भएको छ । कर्णाली प्रदेशमा ७ सय ५० मतदाता छन । त्यसैगरी सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेश अधिवेशन समितिको संयोजन गरेका छन् । कांग्रेस नेता नरनारायण शाहका अनुसार अधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ७१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । यो प्रदेशमा ९७५ मतदाता छन् ।

लुम्बिनी प्रदेश सभापतिमा पुन र शाह

लुम्बिनी प्रदेश सभापति पदमा अमरसिंह पुन मगरले उम्मेद्वारी दिने भएका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन । सिंह यसअघि रोल्पा कांग्रेस सभापति थिए । पौडेल पक्षले सहमतिमै सभापतिलगायत उम्मेदवार तय गरेको छ । उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ र रूपन्देहीका अष्टभुजा पाठक उम्मेदवार बन्ने भएका छन् ।

महामन्त्री पदमा नवलपरासीका विक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्यलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । सहमहामन्त्री पदमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरीलाई उम्मेदवार बनाएको छ । लुम्बिनीमा सभापति शेरबहादुर देउवा पक्षबाट प्रतिनिधि सभा सांसद भरत शाह प्रदेश सभापति पदका उम्मेदवार छन । शुक्रवार मनोनयन दर्ता र मंसिर १८ मा मतदानको कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*