खेमराज रिजाल
मानपुर, २१ असार । ‘ल्याब खोई ? बिग्रेका छ । ल्याब पनि बिग्रन्छ र ? चलाउने प्राविधिक नभएर ? कति भो बिग्रेको ? एक बर्ष ।’ मानपुर स्वास्थ्य चौकीले सेवाग्राही बिरामीहरुलाई दिने जवाफ हो, यो । विगत एक बर्षदेखि मानपुर स्वास्थ्य चौकीले निरन्तर यही जवाफ सेवाग्राहीहरुलाई दिँदै आएको छ ।
चौबीसै घण्टा सुत्केरी सेवा उपलब्ध हुने भनिएको मानपुर स्वास्थ्य चौकीमा अहिले प्रयोगशालासमेत सञ्चालनमा नआउँदा स्वास्थ्य उपचारसेवा नै ठप्प भएको छ । रोग पहिचान गर्नेभन्दा बढी लक्षण सोध्ने र औषधि थमाइदिने थलोका रुपमा मानपुर स्वास्थ्य चौकी स्थापित भएको छ । जसले तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट हेल्थको अवधारणालाई नै गिज्याइरहेको छ । तर तुलसीपुर उपमहानगरपालिकाका प्रमुखलगायत स्वास्थ्य प्रवद्र्धन केन्द्र पनि यो विषयमा मौन बसेको छ, अर्थात प्रयोगशाला सञ्चालनमा उपमहानगरपालिकाकै ध्यान पुग्न सकेको छैन ।
अहिले स्वास्थ्य चौकीमा नियमित सेवा लिने भनेका गर्भवती महिलाहरु हुन् । उनीहरुको महिनैपिच्छे गरिने चेकजाँच भनेको उच्च रक्तचाप, पिसावमा सुगर र एल्वोमिन नै हो । तर प्रयोगशाला ठप्प हुँंदा गर्भवती महिलाहरुले समेत यो सेवा पाइरहेका छैनन् । मानपुर स्वास्थ्य चौकीका अनुसार प्रयोगशाला बिग्रनुअघि दैनिक कम्तीमा ५० जनाले प्रयोगशाला सेवा लिन्थे । त्यसमा अधिकांश गर्भवती महिला र बालबालिका हुन्थे । तर प्रयोगशालामा एकजना ल्याव असिस्टेन्टको व्यवस्थापन हुन नसक्दा मानपुर स्वास्थ्य चौकी पूरै सुनसान छ । अहिले मुस्किलले दर्जन बढी सेवाग्राहीसमेत सेवा लिन जान छाडेको स्थानीयबासीहरुले बताएका छन् ।
कुनै बेला दाङ जिल्लाको २ नम्बर स्वास्थ्य संस्थाका रुपमा चिनिने यो स्वास्थ्य चौकी अहिले खण्डहरजस्तै हुँदा स्थानीयबासीहरुको पनि आक्रोश छ । दाङमा घोराहीमा रहेको महेन्द्र अस्पतालले पूर्वतर्फका बिरामीलाई धानेको थियो । मानपुर स्वास्थ्य चौकीले पूरै पश्चिम दाङलगायत रोल्पा, सल्यान र रुकुमका बिरामीलाई पनि सेवा दिन्थ्यो । मोदिनीकुमार सिजापती डाक्टर यही स्वास्थ्य केन्द्रबाट जमेका थिए । यस स्वास्थ्य केन्द्रमा सेवा दिँदादिँदै उनले घरजग्गा जोडेर घरजमसमेत यतै गरेका थिए । तर मानपुर स्वास्थ्य चौकीको यो इतिहासलाई वर्तमान स्थानीय पालिकाले मेटाइदिन थालेको आरोप स्थानीयबासीहरुको छ ।
‘पटक–पटक स्वास्थ्य चौकीमा माग गर्यौ साथै उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाको समेत ध्यानाकर्षण गरायौं तर यो वडालाई नगरपालिका नेतृत्वले राजनीतिक आँखाले हेर्दै आएको छ’, तुलसीपुर उपमहानगरपालिका–१७ का स्थानीयबासी शेरबहादुर बस्नेत भन्छन् । एउटा ल्याव असिस्टेन्टको दरबन्दी पनि बनाउन नसक्नुले स्थानीय पालिका स्वास्थ्य क्षेत्रमा गम्भीर नरहेको भन्ने देखाएको पनि उनको अभिव्यक्ति थियो ।
अहिले स्वास्थ्य चौकीको सञ्चालन एवं व्यवस्थापन र स्वास्थ्य सेवामा बृद्धिको सबै अधिकार स्थानीय पालिकालाई आएको छ । त्यसैअनुरुप स्वास्थ्य क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारले समेत स्थानीय पालिकालाई उल्लेख्य रुपमा बजेट दिँदै आएका छन् । तर तीनै तहका सरकारले स्वास्थ्य चौकीको यो बेहालको अवस्थालाई सम्बोधन गर्न नसकेको पनि स्थानीयहरुको गुनासो रहेको छ ।
‘आफूहरुले पटक–पटक उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखामा दरबन्दी माग गरी पठाएका छौं तर अहिलेसम्म सुनुवाई भएको छैन’, मानपुर स्वास्थ्य चौकीका प्रमुख कृष्ण केसीले गोरक्षलाई भने । उनले प्रयोगशाला एक बर्षदेखि सञ्चालनमा आउन नसक्दा खिया लागेर काम नलाग्ने अवस्थामा जान थालेको समेत उल्लेख गरे । प्रयोगशाला नहुँदा दैनिक सेवाग्राहीहरुको समेत चाप घट्दै अहिले नगन्य मात्रामा बिरामी आउने गरेको पनि उनको अभिव्यक्ति थियो ।
विश्व स्वास्थ्य संगठनले अनुदान दिएका प्रयोगशाला सामग्रीहरु एक बर्ष अघिसम्म भोलेन्टियरका रुपमा कार्यरत ल्याव असिस्टेन्टले चलाएका थिए । तर उनी अन्यत्रै गएपछि प्रयोगशाला सञ्चालन हुन नसकेको हो । सो स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा नै उपलब्ध नभएपछि चौबीसै घण्टे प्रसुति सेवा लिनेहरुको संख्यामा पनि उल्लेख्यरुपमा कमी आएको बताइएको छ ।
‘हामीले वडाकै बजेटले राख्छौं भन्दा पनि उपमहानगरपालिकाले दिएन, आफै राख्ने आश्वासन दियो, तर अहिलेसम्म उपमहानगरपालिकाले प्रयोगशाला सहायकको व्यवस्थापन गर्न सकेको छैन’, वडाध्यक्ष थलराज पुरी भन्छन्, उपमहानगरपालिकाले मानपुरप्रति गरेको यो पक्षपात हो ।
तुलसीपुर उपमहानगरपालिकाले मानपुरभन्दा निकै कम बिरामी हुने अन्य स्वास्थ्य चौकीहरुमा समेत ल्याव असिस्टेन्ट खटाएको छ । तर मानपुरजस्तो एउटा इतिहास बोकेको र प्रशस्त जनसंख्यालाई सेवा दिने स्वास्थ्य चौकीलाई भेदभावपूर्ण व्यवहार गरेको वडाध्यक्ष पुरीको भनाइ थियो । सरकारले प्रयोगशाला सञ्चालन भएका स्वास्थ्य संस्थामा प्रयोगशाला शुल्क ज्येष्ठ नागरिकहरुलाई निःशुल्क गरेको छ । गर्भवती महिलाहरुलाई ५० प्रतिशत छुट दिएको छ । कम्तीमा ३६ प्रकारका औषधिहरु निःशुल्क गरेको छ । तर रोग पहिचान नै हुन नसक्दा यी निःशुल्क स्वास्थ्य उपचार सेवा समेत प्रभावित भएको स्वास्थ्य चौकीले जनाएको छ ।
कोरोनाका कारण ढिलो भयो : स्वास्थ्य प्रवद्र्धन शाखा
यसैबीच तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले कोरोनाका कारण कर्मचारी व्यवस्थापनमा ढिलाइ भएको बताएका छन् । यसअघि प्रदेश सरकारबाट करार सेवामा ल्याव असिस्टेन्टले काम गर्दै आए पनि करीब एक बर्षअघि उनको करार अवधि प्रदेश सरकारले थप नगर्दा प्रयोगशाला प्राविधिकविहीन भएको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताएका छन् ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकमा समेत यो विषयमा प्रस्ताव गइसकेको भन्दै उनले अब आर्थिक बर्षको सुरुआतमै मानपुर स्वास्थ्य चौकीमा ल्याव असिस्टेन्टको व्यवस्थापन हुने र प्रयोगशाला सञ्चालनमा आउने बताएका छन् ।
डेग÷मलेरिया अभिमुखीकरण
यसैबीच मानपुर स्वास्थ्य चौकीमा बर्षातको मौसममा प्रकोपका रुपमा देखिने प्राणघातक डेंगु, मलेरिया तथा कालाजारका विषयमा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । अभिमुखीकरणका क्रममा जनस्वास्थ्य निरीक्षक रविन्द्र नेपालीले लामखुट्टे र भुसुनाका माध्यमबाट सर्ने यी रोगहरुका लक्षण रोकथाम र औषधि उपचारका विषयमा जानकारी गराएका थिए ।
साथै मलेरियाको परीक्षण आरडिटी प्रविधिबाट हुने भए पनि प्रयोगशाला बिग्रिएकाले यहाँ भने नहुने बताएका थिए । कार्यक्रम वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा भएको थियो । सो अवसरमा स्थानीय शिक्षक, स्वास्थ्य चौकीका कर्मचारी तथा वडा कार्यालयका जनप्रतिनिधि एवं पत्रकारहरुको समेत सहभागिता थियो ।
RaptiSandesh RaptiSandesh