देउखुरी, १४ असार । सहकारीको रकम हिनामिनाको आरोप लागेका दाङ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफू सो प्रकरणमा संलग्न नरहेको जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोप निराधार रहेको उल्लेख गर्दै आफू २०७४ असारदेखि सहकारीको कुनै जिम्मेवारीमा नरहेको बताएका छन् ।
‘साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो समेत नाम जोडिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रशारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमा भनेका छन्– ‘साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटियाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरी मिति २०७४ असार मसान्तदेखि कुनै पदीय जिम्मेवारीमा नरहेको जानकारी गराउँछु’ ।
हाल महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित अन्य तीन वटा सहकारी संस्थाबीच एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको भन्दै उनले संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर भूमिका निर्वाह गरे तापनि हाल जिम्मेवारीमा नरहेको बताए । उनले मर्ज भएपछिको सहकारीमा कार्यरत कर्मचारी विक्रम रानाले प्रविधिको दुरुपयोग रकम हिनामिना गरेको लिखितरुपमै स्वीकार गरिसकेको समेत बताए ।
अनुसन्धानको क्रममा उनले यस्तो बताएको भन्दै यसमा आफूलाई जोड्नुले आफ्नो इज्जत, प्रतिष्ठामा आँच पुग्नुका साथै चरित्र हत्या भएको समेत बताए । ‘हाल मलगायत संस्थामा आवद्ध २५ जनाविरुद्ध मुद्दा दायर भएको विषयमा पूर्व पदाधिकारीको नाताले प्रहरी, प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानका लागि पूर्णरुपमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने– ‘स्थानीय सरकार प्रमुखको नाताले जनताको रकमको सुरक्षा गर्नु प्रमुख दायित्वबोध गरी रकम हिनामिनामा संलग्न जो सुकैलाई कानुनबमोजिम हदैसम्म कारवाहीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
RaptiSandesh RaptiSandesh