देवी भण्डारी
सल्यान, ११ फागुन । सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती बलेको छ । उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा विजुली बाल्न सफल भएको हो ।
कालीमाटी गाउँपालिका–३ स्थित रामपुरमा मंगलबार गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सनशिलता ओली डिसीले संयुक्त रुपमा विद्युतको उद्घाटन गरेका हुन । एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक बर्ष २०७६÷०७७ को बजेट अन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले जानकारी दिएका छन् । दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरिले बत्ति बाल्न पाएको थापाले बताए ।
यसअघि वडा नं. १ को लक्ष्मीपुरमा करिव ५ सय घरधुरिमा र ३ नम्वरको लामिडांडाको ४० बढी घरधुरीमा विजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । केही सातामै ४ करोड ५२ लाखको लागतमा बाँंकी रहेका वडाहरुमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत सहकारी र गाउंँपालिकाको साझेदारिमा योजना संचालन हुन लागेकी उपाध्यक्ष सनशिलता ओली डिसीले बताइन । साथै गाउंपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उनले बताइन ।
खुसीयालीमा सोरठी र टप्पा
लामो प्रतीक्षापछि कालिमाटी गाउँपालिकामा विद्युत आइपुग्दा स्थानीयहरु हर्षित भएका छन । खुसियालीमा स्थानीयहरुले मंगलबार नाचगान समेत गरेका छन । स्थानियहरुले गाउंमा विजुली आएको खुसियालीमा सोरठी, टप्पालगायत मौलिक लोक कला संस्कृति प्रदर्शन गरेका हुन । पहिलो पटक विद्युत पुगेपछि स्थानीयलाई मट्टी तेल किनेर बत्ति बाल्नुपर्ने बाध्यता हटेको छ ।
कालिमाटी ३ का वडा अध्यक्ष वीरबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्युत प्राधिकरण दाङका प्राविधिक प्रमुख प्रकाश देवकोटा, सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य बिजय थापा, विश्वराज आचार्य, पुरन्धारा विद्युत सहकारीका अध्यक्ष तिलकराम शर्मा, कालिमाटी २ का वडा अध्यक्ष इन्द्र बहादुर ओलीलगायतका बक्ताहरुले विद्युतीकरणले गाउंँपालिकामा उज्यालो छाएको भन्दै उज्यालोमा नै सकारात्मक पक्षको विजारोपन हुने बताएका थिए ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिन्सी शाखा प्रमुख प्रदिपकुमार खत्रीले गरेका थिए ।
RaptiSandesh RaptiSandesh