Home / Feature Breaking news / दाङसहित पश्चिम नेपालमा माघीको रौनक

दाङसहित पश्चिम नेपालमा माघीको रौनक

पश्चिम नेपालका थारू समुदाय नयाँ वर्षका रूपमा मनाउने मुख्य चाड माघीको तयारीमा जुटेका छन् । सांस्कृतिक गतिविधिसँगै माघीमा तयार पारिने परिकारका कारण यो पर्व अन्य समुदायका लागि पनि विशेष बन्दै गएको छ । पश्चिम तराईका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा माघी उल्लासका साथ मनाइन्छ ।

थारू समुदायले ठाउँअनुसार भिन्नभिन्न तरिकाले माघी मनाउँछन् । बर्दियामा माघीका लागि आफन्तको जमघट र घर फर्किने क्रम सुरु भइसकेको छ । बर्दियाका थारू समुदायमा पाहुना र परिवारका सदस्यले जाँड चाख्नुपर्ने परम्परा छ । लरुवा (जंगलको जडीबुटी) बाट बनेको औषधिलाई अनदीको चामलबाट पाकेको भातमा मिसाएर भाँडोमा छोपेर राख्ने गरिन्छ । त्यही भात केही दिनमा बास्नादार र अमिलो खान मिल्ने भएपछि माटोको घैंटोमा खनाइन्छ । उमालेर पकाएको उक्त रस भरिएको घैंटोलाई बाहिरबाट माटोले लिपिदिएपछि महिनौंसम्म पिउन मिल्ने जाँड बन्छ । यो माघीको आवश्यक खान्कीमा पर्ने बर्दिया बाँसगढी नगरपालिकास्थित नगरस्तरीय बडघर संस्थाका लेखनदास एकराज चौधरीले बताए । योबाहेक अनदीको रोटी, ढिकरी, आलु र सुँगुरको मासु खाने गरिन्छ ।

माघीका लागि पुस २८ गते माछा मार्ने, २९ गते सुँगुर काट्ने र घरघरमा मासु राखिन्छ । सोही साँझ समुदायका सबै पुरुष बरघरको घरमा जम्मा हुन्छन् । मुडो बालेर दन्किएको आगो वरिपरि बसेर डम्फु बजाउँदै ढुमरु (ढामर) गाइन्छ । गाउँदागाउँदै बिहान ४ बजेपछि नाच्दै नजिकको जलाशयमा पुगेर स्नान गरेपछि सेतो टीका लगाई ठूलाबडासँग ढोग सलामी गर्छन् । घर फर्किएपछि घरका ठूला मान्छेसँग आशीर्वाद लिएर चामल, मासको दाल र नुन राखिएको ३ वटा ढकियाका सामग्री अन्य भाँडोमा खन्याएर दिदीबहिनीका लागि पोको बनाएर राखिदिन्छन् । त्यसपश्चात् माघ मनाउँदै खाना खाने चलन रहेको चौधरीले बताए ।

माघ १ गते खानपिन गर्दै पुरुषले घरका लागि वार्षिक योजना बनाउँछन् । परिवारमा विवाह, अंशबन्डादेखि वर्षभरि खेतीबाली लगाउनेलगायतका घरायसी काममा जिम्मेवारी बाँडफाँड गर्ने चलन रहेको लेखनदास चौधरी बताउँछन् । माघीकै दिन गाउँको भेलाले बरघर, चौकीदार (बाली रेखदेखकर्ता), लोहार (फलाम बनाउने मानिस), चिरकिया (गाउँको मन्दिरमा धुपबत्ती बाल्ने), गुरुवा (मुख्य पुजारी) तोकिन्छ । ‘गाउँमा के गर्न हुने, के नहुने भन्ने विषयमा समेत छलफल गरी निर्णय गर्ने चलन छ,’ उनले भने, ‘बरघरको छलफलले यस वर्ष बालविवाह, बहुविवाहविरुद्ध कदम उठाउने, छोरीको विवाह हुने घरमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुने, छोराको विवाहमा ५२ जनाभन्दा बेसी मानिस नजाने, १२ बजेपछि बाजा बजाएर अन्यलाई समस्या हुने गरी विवाह, पार्टी नगर्ने आदि निर्णय गर्ने योजना बनाएका छौं ।’

कपिलवस्तुको पूर्वी भागमा एक दिन मात्र मनाइने माघी पश्चिम क्षेत्रमा २ दिन र भित्री क्षेत्रमा ३ दिनसम्म मनाउने गरिएको थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् उमाशंकर थारूले बताए । ‘घरमा चेलीबेटी बोलाएर खुवाउने परम्परा छ,’ उनले भने, ‘पश्चिमी भेग र भित्री भेगमा जति दिन मनायो, त्यति दिनसम्म चेलीबेटीलाई त्यहीं राख्ने र खुवाउने गरिन्छ ।’

रूपन्देहीको माघी मनाउने चलनमा केही फरक आएको थारू कल्याणकारिणी सभा रूपन्देहीकी सचिव सरिता चौधरी बताउँछिन् । पहिले जिल्लाका हरेक गाउँमा मनरा (मादल) बजाएर गाउने, झर्रा र झुमरामा नाच्ने गरिए पनि अहिले विशेष महोत्सव चलेका स्थानमा बाहेक अन्यत्र ती नाच देख्न हराएको उनले बताइन् । रूपन्देहीमा माघी आउनुभन्दा साताअघिदेखि नै छोरीचेलीलाई माइती बोलाएर खुवाउने चलन छ । १३ दिने दाजुभाइलाई समेत समेटेर खानपिन गरिन्छ । यहाँ भुजा र तिलको लड्डु, घोंगी, माछा, ढिकरीलगायत खाने चलन छ । उनले आफूहरूले पकाएको परिकार चाख्न अन्य समुदायका मानिससमेत आउँदा आफ्नो परम्परा, संस्कार चिनिएकामा खुसी लाग्ने जनाइन् ।

दाङमा माघीको तयारीस्वरूप थारू समुदायले महिना दिनदेखि नै जंगल गएर दाउराको जोहो गर्ने, सालको पात ल्याएर टपरी खुट्ने, घरमै पेय पदार्थ बनाउने, नयाँ आलु खन्ने, सिन्की बनाएर राख्नेलगायत काम गर्छन् । पाँच दिनअघिदेखि साँझमा आगोछेउ बसेर झुमरु गाउने गरिन्छ । महिलाले घरमा खान्की तयार पार्ने गरेको मुक्त कमलहरी विकास मञ्च दाङकी व्यवस्थापक मंगला थारूले बताइन् । उनले माघ १ गते खान्की खानुअघि दाजुभाइले दिदीबहिनीका लागि भाग छुट्याएर चामल, दाल, नुन पोको बनाइदिन्छन् । ‘हाम्रोतिर चेलीबेटी आउने नभई उनीहरूलाई घरमै सामग्री पुर्‍याइदिन्छौं,’ उनले भनिन्, ‘माघ ५ गतेसम्म घरघरै भैलो खेल्न जाने, नाच्ने, पैसा पाउने गरिन्छ । त्यो पैसाले सबै मिलेर वनभोज जाने गरेका छौं ।’

थारू संस्कतिअनुसार कुनै पनि पूजापाठ वा पर्वमा मासु खाने चलन पहिले नरहेको पश्चिम नवलपरासी थारू कल्याणकारिणी सभाका अध्यक्ष मुन्द्रिका चौधरी बताउँछन् । ‘परापूर्वकालदेखि नै खिचडी पकाउनेले बेसार, दाल, चामल, अदुवा मिसाएर पकाउँथे, पाकेको खिचडीमा भेली राखेर खान्थे,’ उनले भने, ‘अहिले मासु काट्ने खाने गर्छन्, वास्तवमा थारू पर्व सस्तो पर्व हो भन्ने प्रचलन थियो, अहिले आधुनिक हुँदै गएको छ ।’ परासीमा चेलीबेटीलाई नयाँ लुगा किनिदिने, खाना खुवाउने र घरको जग पूजा, वर्षभरिका लागि मुखिया चुन्ने चलनसमेत रहेको छ ।

बाँकेको नेपालगन्जमा माघीलाई सामान्य हिसाबले मनाउने गरिएको थारू कल्याणकारिणी सभाकी उपमहानगर अध्यक्ष बास्मती थारूले बताइन् । ‘गाउँघरमा ३ दिनसम्म पनि मनाइन्छ,’ उनले भनिन्, ‘हामीले आफूले गर्न नसके पनि जोगाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गर्छौं, नाचगान देखाउँछौं, परिकार बनाउँछौं ।’ माघीभन्दा अघि नै गाउँगाउँमा युवालाई जम्मा गरेर मादल बजाउन, नाच्न, ढकिया बुन्न र थारूले लगाउने पहिरनसम्बन्धी जानकारी दिएर यसको जगेर्नामा लागिरहेको उनको भनाइ छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू समुदाय पनि माघीको तयारीमा व्यस्त छन् । ‘अब गंजी (सखरखण्ड) र तरुल खोज्ने काम बाँकी छ, अरू धेरै तयारी भइसक्यो,’ कञ्चनपुर भीमदत्त नगरपालिका–१ राजीपुरकी लक्ष्मी डगौराले भनिन्, ‘सालका पात ल्याएर दुनाटपरी बनाउनेदेखि घर लिपपोत गर्ने, तरुल र सखरखण्ड खोज्ने र पिठो चामल तयार पार्ने काम लगभग सकियो ।’

माघीका बेला मघौटा, छोकरा र हुर्दङ्वालगायतका नाच नाचिन्छ । परम्परागत पहिरनमा सजिएका महिला र पुरुष नाच्दा निकै आकर्षक देखिन्छ । तर पछिल्लो समय परम्परागतभन्दा पनि रेकर्डेड गीतमा नाचगान हुन थालेको थारू समुदायका अगुवा बलबहादुर डगौरा बताउँछन् । ‘हरेक कुरामा नयाँ स्वाद चाहिन्छ कि त पुरानालाई परिमार्जन गर्न सक्नुपर्‍यो, नत्र अहिलेको पुस्ता नयाँतर्फ जान्छ,’ डगौराले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*