Home / Feature Breaking news / नजिकिँदै पुरानै गठबन्धन दल

नजिकिँदै पुरानै गठबन्धन दल

भावी राष्ट्रपतिबारे सत्तागठबन्धनका दलहरूबीच मतभेद बढिरहेका वेला तत्कालीन पाँचदलीय गठबन्धनका नेता भने नियमितजसो औपचारिक–अनौपचारिक छलफलमा

भावी राष्ट्रपतिको विषयमा सत्तागठबन्धनका दलहरूबीच मतभेद बढिरहेका वेला तत्कालीन पाँचदलीय गठबन्धनका शीर्ष नेता भने नजिकिँदै गइरहेका छन् । औपचारिक–अनौपचारिक रूपमा उनीहरू नियमितजसो छलफलमा छन् ।

आइतबार साँझ मात्रै सभापति शेरबहादुर देउवासहितका कांग्रेस शीर्ष नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिमा सघाउन औपचारिक आग्रह गरेका छन् । त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री प्रचण्डसँग छुट्टै छलफल गरेका थिए ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीसँग छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौलासहित बालुवाटार पुगेका थिए । करिब दुई घन्टाको छलफल सकारात्मक रहेको नेताहरूको भनाइ छ । कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सघाउन माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको छ । प्रचण्डले आफ्नो पार्टी र सत्तागठबन्धनका दलहरूबीच छलफल गरेर मात्रै निर्णय दिने जवाफ दिएका छन् ।

‘हामीले प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नका लागि औपचारिक प्रस्ताव राखेका छौँ । प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेका दल र आफ्नो पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिनुभएको छ,’ छलफलमा सहभागी कांग्रेस उपसभापति खड्काले भने ।

स्रोतका अनुसार छलफलमा कांग्रेस नेताहरूले राष्ट्रपति राष्ट्रिय सहमति चयन गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव र पहल स्वागतयोग्य रहेको बताएका थिए । सकभर राष्ट्रिय सहमति जुटाउने नभए विगतमा संविधान रक्षाका लागि एक ठाउँ उभिएका शक्तिहरू पुनः एक भएर अघि बढ्नुपर्ने उनीहरूको प्रस्ताव थियो । विगतमा भएका असमझदारी बिर्सेर नयाँ शिराबाट अघि बढ्न सकिने कांग्रेस नेताहरूको भनाइ थियो ।

राष्ट्रपतिको विषयमा छलफल गर्न माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको छ । महासचिव देव गुरुङले दिउँसो ४ बजे बैठक बस्ने बताए । ‘राष्ट्रपति निर्वाचनसहित समसामयिक विषयमा बैठकमा छलफल हुनेछ,’ उनले भने ।

आगामी १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारी दर्ताको कार्यतालिका छ । २५ फागुनमा निर्वाचन हुँदै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार निर्वाचन अधिकृतको कार्यालय राखिँदै छ । यसअघि नै निर्वाचन आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ । दुई मतदान केन्द्र राख्ने निर्णय आयोगले गरेको छ ।

माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रिय सहमतिको पक्षमा
माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको पक्षमा उभिने भएका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आइतबार साँझ भएको छलफलमा यसबारे साझा धारणा बनाएर जाने सहमति भएको छ ।

तीन नेताले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरेका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्नेमा नेताहरू एकमत देखिएको बालुवाटार स्रोतको भनाइ छ । माओवादी महासचिव देव गुरुङले राष्ट्रिय सहमतिको विकल्प नभएको बताए । ‘राष्ट्रिय सहमति निश्चित पार्टी वा पात्रमा होइन, छलफल गर्दा जसको नाममा सहमति हुन्छ, त्यही नै हो,’ गुरुङले भने । प्रचण्डले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति होस् भन्ने चाहेको उनले बताए ।

यद्यपि, छलफलमा बसेका नेताहरूले भने सामान्य कुराकानी मात्रै भएको प्रतिक्रिया दिएका छन् । ‘केही भएको छैन, सामान्य कुराकानी मात्रै हो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ पत्रिकासँग भने । जसपा अध्यक्ष यादवले पनि सामान्य ‘चियागफ’ मात्रै भएको दाबी गरे । उनले भने, ‘चियागफ मात्रै हो, केही भएको छैन ।’

भावी राष्ट्रपतिको विषयमा अहिलेको सत्तागठबन्धनका दलहरूबीच दूरी बढिरहेका वेला तत्कालीन पाँचदलीय गठबन्धनका शीर्ष नेता भने नजिकिँदै गइरहेका छन् । सत्तागठबन्धनभित्र माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ भने एमालेले आफ्नै उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडान राखेको छ । एमालेको अडानमा सत्तासहयात्री दल रास्वपा र राप्रपाले पनि साथ दिएका थिए । यद्यपि, एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे मुख खोलिसकेको छैन ।

तीन नेताबीचको भेटअघि पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनले सत्तागठबन्धनको भविष्य निर्धारण हुने बताएका थिए । यही साता सत्तागठबन्धन के हुने भन्ने टुंगो लाग्ने उनको भनाइ थियो । ‘कुन दिन त्यो गठबन्धन भत्कने हो ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि कांग्रेस र एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ (एमालेमा) चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्यो भनेको त्यही हो । त्यसकारण राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावसम्ममा थाहा भइहाल्छ,’ उनको भनाइ थियो ।

अहिलेको सत्तागठबन्धनमा संविधानविरोधीदेखि संविधानका पक्षपाती सबैखाले शक्तिहरू भएका कारण लामो समय टिक्न नसक्ने नेता नेपालको दाबी छ । सबै पद लिएर एकाधिकार चलाउन खोज्ने प्रवृत्ति फेरि हाबी हुन खोजेको उनले बताए । उनले भने, ‘सबै पद लिएर नेपाली राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने प्रवृत्ति हाबी हुने हो कि सन्तुलनको राजनीति अपनाएर मात्रै जानुपर्छ भन्ने मान्यता हुने भन्ने फैसला आगामी हप्ताभित्रमा सम्भवतः भइसक्छ । र, त्यसको निम्ति हामी तयार हौँ ।’ रास्वपाले पदको आसक्ति देखाउँदा गठबन्धन नै संकटमा परेको नेपालको दाबी छ ।

जसपा अध्यक्ष यादवले पनि पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा नेताहरूसँग सुझाव मागेका छन् । स्रोतका अनुसार दलहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने भन्दै आइतबारको बैठक स्थगित गरेर उनी प्रचण्ड र नेपालसँगको छलफलका लागि बालुवाटार गएका थिए । सोमबारको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा छलफल हुने भएको छ । ‘भोलि पनि बैठक बस्छ, स्वाभाविक रूपमा राष्ट्रिय राजनीतिको विषयमा छलफल हुन्छ नै,’ जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले भने । सोमबारको बैठकमा शीर्ष तहमा भएको छलफलको निष्कर्षका आधारमा आधिकारिक निर्णय हुने जसपा स्रोतले बताएको छ ।

जसपाको बटमलाइन : राष्ट्रपतिमा राष्ट्रिय सहमति, उपराष्ट्रपतिमा दाबी नछाड्ने
सातदलीय सत्तागठबन्धनमा रहे पनि सरकारबाहिरै बसेको जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुनुपर्ने बटमलाइन लिएको छ । जसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने र उपराष्ट्रपतिमा भने पार्टीले दाबी छाड्न नहुने विषयमा छलफल भएको हो ।

‘राष्ट्रपतिको उम्मेदवार त्यस्तो पात्र हुनुप¥यो जसले संविधान बचाउन सक्ने संरक्षकको भूमिका निर्वाह गर्न सक्छ भन्ने जसपाको बटमलाइन छ,’ जसपाका नेता एवं सांसद राजकिशोर यादवले भने, ‘सोमबार फेरि १२ बजेपछि बैठक बस्ने कुरा छ । त्यसअघि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटघाट गर्ने र राष्ट्रपति, उपराष्ट्रपतिबारे आधिकारिक निर्णय गर्ने तयारी छ ।’ बैठककै निर्णयअनुसार आइतबार साँझ यादवले प्रधानमन्त्री र नेपालसँग बालुवाटारमा छलफल गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष यादवले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिँदै सबै नेताको राय मागेका थिए । ‘अहिले सत्ता साझेदार दलमा राष्ट्रपति पदलाई लिएर माओवादी र एमालेबीच खिचातानी छ । यही वेला जनताको निराशालाई कारण देखाउँदै अहिलेको व्यवस्थालाई धरापमा पार्न चलखेल गर्ने शक्तिहरू उत्तिकै सक्रिय छन् । यस्तो अवस्थामा कसरी अघि बढ्न सकिन्छ ?’ अध्यक्ष यादवले बैठकको सुरुवातमै राय–सुझाव मागेका थिए ।

अधिकांशको मत प्रधानमन्त्री प्रचण्डकै लाइनमा ‘राष्ट्रिय सहमति’ नै उपयुक्त विकल्प रहेको भन्ने थियो । सत्ता साझेदार दलभित्र यतिखेर दुईवटा मत छ, एउटा पुस १० गते भएको सत्तागठबन्धनभित्रको सहमतिअनुसार एमालेलाई राष्ट्रपति दिनुपर्ने, अर्को राष्ट्रिय सहमति खोज्नुपर्ने । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमति कार्यान्वयन गर्दै एमालेलाई राष्ट्रपति दिनुपर्ने पक्षमा छन् भने जसपा र जनमत पार्टी प्रचण्डकै लाइनमा राष्ट्रिय सहमतिको पक्षमा छन् । त्यस्तै, जसपाको बैठकमा राष्ट्रपतिसँगै उपराष्ट्रपतिको विषयमा समेत चर्चा भएको छ ।

समावेशिता र शक्ति बाँडफाँटमा सन्तुलन ल्याउन पनि जसपाले उपराष्ट्रपति पाउनुपर्ने विषयमा छलफल भएको नेता राजकिशोरले जानकारी दिए । ‘समावेशी चित्रका लागि पनि उपराष्ट्रपतिमा जसपाको दाबी हो । बाँकी अन्य शीर्षस्थ नेताहरूसँगको भेटघाटपछि सोमबारको बैठकले निर्णय गर्ला,’ उनले दोहोर्‍याए ।  जसपाले सत्तागठबन्धनभित्र उपराष्ट्रपति, केन्द्रमा तीन मन्त्रालय र मधेस प्रदेशमा मुख्यमन्त्री दाबी गरेको थियो । त्यसमध्ये मुख्यमन्त्रीको माग सम्बोधन भए पनि केन्द्रमा मागेअनुसार चित्तबुझ्दो मन्त्रालय नपाएपछि सरकारमा सहभागी छैन ।

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*