Home / Feature Breaking news / विश्वलाई सताइरहेको डेंगी- यस्ताे छ नेपालमा डेंगीकाे तथ्यांक

विश्वलाई सताइरहेको डेंगी- यस्ताे छ नेपालमा डेंगीकाे तथ्यांक

पछिल्लो दुई दशकमा विश्वभर तीव्र रुपमा फैलिइरहेको संक्रमणजन्य रोगमध्ये डेंगी पनि एक हो । जसबाट विश्वका १२९ वटा मुलुक प्रभावित छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर बर्सेनि ३९० मिलियन अर्थात् लगभग ३९ करोड मानिसमा डेंगी संक्रमण हुने गरेको छ । ३६ हजारभन्दा बढीले संक्रमणका कारण ज्यान गुमाउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो दुई दशकमा विश्वभर डेंगी संक्रमण आठ गुणाले बढेको पाइएको छ । कडा डेंगी १ प्रतिशतलाई मात्रै हुन्छ । विश्वका १ सयदेखि ४ सय मिलियन जनसंख्या जोखिममा छन् । बर्सेनी तीमध्ये ८० प्रतिशतलाई सामान्य तथा मायल्ड लक्षण हुन्छन् । बर्सेनि संक्रमित हुनेमध्ये ७० प्रतिशत दक्षिण एसियाली मुलुकमा हुने गरेको तथ्यांक छ । सन् २००० मा पाँच लाख पाँच हजार ४३० जनामा देखिएको संक्रमण २०१० मा आइपुग्दा २४ लाख हुँदै २०१९ सम्म आइपुग्दा ५२ लाख जनामा देखिएको थियो ।

डेंगी संक्रमणका कारण विश्वभर सन् २००० मा ९६० जनाको मृत्यु भएकोमा २०१५ मा आइपुग्दा यो संख्या बढेर चार हजार ६० पुगेको थियो । अहिले विश्वका १०० भन्दा बढी देशमा डेंगी प्रकोपको रुपमा फैलिइसकेको छ । हालसम्मको तथ्यांकमा सबैभन्दा बढी सन् २०१९ मा डेंगीबाट संक्रमित भएका थिए, जतिबेला अमेरिकी क्षेत्रमा मात्रै ३१ लाख संक्रमित भए भने २५ हजार जनसंख्या सिकिस्त बिरामी परेका थिए । सोही वर्ष एसियाली मुलुकमा मात्रै तीन लाख २० हजार जनसंख्यामा डेंगी संक्रमण पुष्टि भयो । सन् २०२० मा विश्वका १६ राष्ट्रमा र २०२१ मा ११ देशमा डेंगी देखिएको संगठनको तथ्यांक छ ।

नेपालमा यस्तो छ डेंगीको तथ्यांक
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगी संक्रमण पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सो वर्ष एकजनामा देखिएको डेंगी २००६ मा ३२, २००७ मा २७, २००८ मा १०, २००९ मा ३० तथा २०१० मा ९१७ जनामा देखियो । सन् २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६८६, २०१४ मा ३५६, २०१५ मा १३५, २०१६ मा एक हजार ५२७, २०१७ मा दुई हजार १११ तथा २०१८ मा ८११ जनामा पुष्टि भएको थियो । सन् २०१९ मा भने नेपालमा डेंगी संक्रमण प्रकोपकै रुपमा देखा पर्यो सो वर्ष सबैभन्दा बढी १७ हजार ९९२ जनामा डेंगी संक्रमण पुष्टि भयो । ६ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

सन् २०२० मा ५३० जनामा डेंगी देखियो भने २०२१ मा ५४० जनामा संक्रमण देखिएको थियो ।  यो वर्ष भदौ २५ गतेसम्म डेंगी संक्रमितको संख्या आठ हजार ३२७ पुगेको छ । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल डेंगी परीक्षण गरे पनि देशभरका सबै स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूबाट अझै तथ्यांक संकलन गर्न प्राविधिक कठिनाइ भइरहेकाले यकिन तथ्यांक आउन नसकेको बताउँछन् । डेंगी संक्रमणको लक्षण देखिएका सबै परीक्षणमा नआउने तथा परीक्षण भए पनि महाशाखासम्म ढिलो रिपोर्टिङ हुने भएकाले संक्रमितको संख्या समुदायस्तरमा अझै धेरै हुनसक्ने डा. दाहाल बताउँछन् ।

किन बन्यो काठमाडौं उपत्यका डेंगीको हब ?
यो वर्ष प्रकोपको रूपमा फैलिइरहेको डेंगीबाट ललितपुर सबैभन्दा बढी प्रभावित भएको छ । ललितपुरमा भदौ २७ गतेसम्म तीन हजार ६२२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । काठमाडौंमा एक हजार ८९० जना र भक्तपुरमा ७६० जनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार वि.स.२०७७/७८ मा गण्डकी प्रदेशमा सबैभन्दा बढी १४५ जनामा डेंगुको संक्रमण देखिएको थियो । सो वर्ष सुदूरपश्चिम १२५ जना, वाग्मतीमा ७०, लुम्बिनीमा ७३, कर्णालीमा ४८, प्रदेश १ मा २८ र सबैभन्दा कम मधेस प्रदेशमा ४ जना गरी जम्मा ४८९ जनामा डेंगु देखिएको थियो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा नै संखुवासभामा ४७ जना डेंगी संक्रमित भेटिएका थिए । पछिल्लो वर्ष म्याग्दी, पर्वत वाग्लुङ, भोजपुरलगायत पहाडी जिल्लामा डेंगुका बिरामी बढेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१२ मा गरेको एक अध्ययनमा लामखुट्टे एक हजार आठसय मिटर माथिसम्म पुग्छ । अनुसन्धानले नेपालमा ‘एडिज एजिप्टाई’ले  एक हजार आठसय मिटर तथा ‘एडिज अल्बोपिक्टस’ले दुई हजार एकसय मिटरको उचाइसम्म पुगेर प्रजनन गर्न सक्ने देखिएको छ । यसअर्थमा डेंगी संक्रमण गराउने लामखुट्टे पहाडी जिल्ला र चिसो ठाउँहरूमा बढ्दै गएको देखिन्छ ।

डेंगी फैलाउने लामखुट्टेका लागि सहरी वातावरण नै सबैभन्दा अनुकूल भएको विज्ञहरूको ठहर छ । काठमाडौं उपत्यकामा अव्यवस्थित र बिना मापदण्ड सञ्चालनमा रहेका वर्कशपका कारण लामखुट्टेलाई सर्भाइभ गर्न उचित वातावरण मिलेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारी बताउँछन् । “वर्कशपहरूमा अव्यवस्थित रुपमा राखिएका टायरमा जमेको पानी, घरैपिच्छे पानी जम्मा गरेर राखिएका ट्यांकी, कुलर र ने गमलामा जम्मा भएको पानी नै लामखुट्टेका लागि उपयुक्त वासस्थान बनिरहेको छ,” अधिकारी भन्छन् । सहरीकरण भए पनि मजबुत सहरी स्वास्थ्य व्यवस्थापन नहुनुले काठमाडौं संक्रमणजन्य रोगहको हब बन्दै गएको अधिकारीको अनुभव छ ।

मापदण्ड नराखी सञ्चालन गरिएका वर्कशप, कवाडीलगायतका व्यावसायले यो जोखिम अझै बढाएको उनको भनाइ छ । काठमाडौंमा पहिलेदेखि नै डेंगी फैलाउने लामखुट्टे रहे पनि पछिल्ला वर्षमा बढ्दो सहरीकरण नै संक्रमण फैलाउने काफी भएको अधिकारीको दाबी छ । सहरी क्षेत्रमा जनसंख्याको चापसँगै लामखुट्टे बढेको र पछिल्ला वर्षमा लामखुट्टेले आफूलाई जस्तोसुकै वातावरणमा पनि बाँच्न सक्नेगरी आनीबानी परिवर्तन गर्दा काठमाडौंलगायतका सहरहरूमा लामखुट्टेजन्य रोगहरूको संक्रमण बढेको किटजन्य रोग शाखा प्रमुख डा. दाहाल बताउँछन् । अघिल्ला वर्षहरूको तथ्यांकलाई हेर्दा यो वर्ष डेंगी संक्रमण कात्तिक अन्तिमसम्म रहनसक्ने महााशाखाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*