Home / Feature Breaking news / आज थारू समुदायले मनाउँदै अट्वारी

आज थारू समुदायले मनाउँदै अट्वारी

दाङ, १२ भदौ । दाङ सहितका थारू बाहुल्यता रहेको जिल्लाहरूमा अट्वारी पर्व आज (आइतवार) धुमधामका साथ मनाइँदै छ । थारू समुदायको दोस्रो ठूलो पर्वका रूपमा रहेको अट्वारी कुसे औंशी पछिको पहिलो आइतवार पर्व मनाइन थालिइएको हो ।

दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारू समुदायको बसोबास रहेका जिल्लाका थारू समुदायमा कुसे औंशी पछिको पहिलो आइतवार यो पर्व मनाउन थालेको हो । दुई दिनसम्म मनाइने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवम् धार्मिक विश्वास छ । अट्वारीको पहिलो दिन आइतवारका दिन सूर्यको जन्म भइ संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यताअनुसार सूर्यको पूजाआराधना गरी अट्वारी पर्व मनाउने गर्दछन् । सूर्यलाई उज्यालो, अग्नी र शक्तिका रूपमा पूजा गर्ने प्रचलन छ ।

महाभारतको कथा अनुसार पाण्डवमध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरूसँग युद्ध लड्न गएको र युद्ध लडेर फर्किँदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किम्बदन्तीअनुसार दिनभरि थारू समुदायका पुरुषहरू ब्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्छन् ।अट्वारीको पहिलो दिन अर्थात् शनिवारमध्ये रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने गर्दछन् ।

अट्वारी पूजामा अनदीको रोटी, काँक्रो, दही, केरा, बेलौतीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । दिनभरि ब्रत बस्नुपर्ने भएकाले ब्रत बस्ने पुरुषहरूले गयराती भाले नबास्दै भिनस¥या अर्थात दर खाने चलन रहेको थारू समुदायका अगुवा चन्द्रप्रसाद चौधरी बताउँछन् । उनकाअनुसार अट्वारीको दिन माछा, मासु बाहेक रोटी, दूध, दही, तरुल, फलफूललगायतका परिकार अग्नीमा चढाई पूजा गरिने उनको भनाइ छ ।

दोस्रो दिन बिहानै ब्रतालु पुरुषहरू नजिकैको जलाशयमा गइ स्नान गरेर रोटी, माछा, विभिन्न तरकारीका परिकारहरू अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ । बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन पु¥याउन जाने चलन छ । अट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच माया–प्रेम साट्ने पर्वका रूपमा स्थापित छ ।

अट्वारीलाई एकता, विजय तथा भ्रातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको र छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन भएको थारू अगुवा चौधरीले बताए । दिनभरि परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाइलो गरिन्छ ।

आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त सँगको भेटघाट, सुख, दुःख बाँड्ने र आत्मीयता बढाउने अवसरको रूपमा पनि लिने उनले बताए । अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन् । ब्रत बसेका ब्रतालुहरूले फलफूललगायतका पक्वान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्यै राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ ।

अट्वारीको दोस्रो दिन बिहान पतौला, खरिया, खुर्मा, फुलौरी, भात, गाबा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ गरी पूजापाठ गर्ने प्रचलन रहेको थारू अगुवाहरू बताउँछन् । अट्वारी पर्वमा थारू बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । थारू समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन् तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ ।
तीन पालिकाले दिए अट्वारी बिदा

दाङका तीन स्थानीय तहले थारू जातिले मनाउँदै आएको अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् । स्थानीय बिदामा मिलान हुने गरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अट्वारी पर्वको अवसरमा आइतवार सार्वजनिक बिदाको घोषणा गरेका छन् । हरेक वर्ष कृष्ण जन्मअष्टमी पछिको दोस्रो आइतवार र कुसेऔंसी पछिको पहिलो आइतवार आज मनाउँदै मनाउँदै छन् ।

दाङ जिल्ला थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका थारू समुदायले आफ्नो कला, संस्कृति तथा परम्पराअनुसार चाडपर्व हर्षाेल्लासका साथ मनाउने गरेका छन् । यसैबीच लुम्बिनी प्रदेशले पनि थारू जातिको अट्वारी पर्वको अवसरमा सम्बन्धित समुदायकलाई मात्र बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*