Home / Feature Breaking news / राजनीतिक तरंगले कस्तो परिणाम ल्याउने हो ?

राजनीतिक तरंगले कस्तो परिणाम ल्याउने हो ?

नारायणप्रसाद श्रेष्ठ

मानव अन्तरनिहित दिव्यताको बोध गराइ सामाजिक, सांस्कृति, आर्थिक र राजनीतिक क्रान्ति ल्याइ सत्य तथा यथार्थपरक राजनीतिक संस्कारको विकास गर्नु यो युगको माग हो । दया र मायामा होइन व्यवहारबाट प्रमाणित गरी २१औं शताब्दीको अपेक्षा पूरा गर्दै सामाजिक मूल्य र मान्यतालाई सार्थकता दिनु राजनीतिक चरित्रको उत्कृष्टता हो ।

वर्तमान अवस्थामा देखिएको विकृति र विसंगतिलाई चिर्दै असल संस्कृति, परम्परा र रीतिथिति कायम गराउनु राजनीतिक व्यक्तित्वको जिम्मेवारी हो । यही तथ्यपरक असल संस्कार राष्ट्रिय विकासको बलियो आधार पनि हो । राष्ट्रलाई कुन दिशातर्फ उन्मुख गराउने ? तथा प्रत्येक नेपाली नागरिकको अभिमतलाई राष्ट्रिय चिन्तनको विषय कसरी बनाउने हो ? राजनीतिक नेतृत्वकर्ताको गहन दायित्व पनि हो ।

राष्ट्र र राष्ट्रियतालाई अछुन्न राख्दै नेपालीको गौरवमय इतिहासलाई विश्वसामू चिनारी दिन तथा शान्ति र इमान्दारिता नेपालीपनको आदर्शता हो, सुसभ्य समाज र शान्ति क्षेत्र नेपालको चाहना हो भनी शुद्ध राजनीतिक चरित्र २१औँ शताब्दीको माग हो । तसर्थ, राजनीतिलाई क्षणिक स्वार्थ र अहंकारले परिपोषित नगरी राजनीति राष्ट्रिय विकासको मूल आधार हो भन्ने गरी सबै सचेत राजनीतिक व्यक्तित्वले जिम्मेवारी निभाउनुपरेको छ ।

हाल विविध विकृति र विसंगति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको राजनीतिक अस्थिरता र अविश्वासको मडारिँदो बादलले राजनीतिक क्षेत्र निकै अन्योलग्रस्त अवस्थामा गुज्रिरहेको छ । एकाधिकारवादी र साम्राज्यवादी चिन्तनले जकडिएको राजनीतिक परिदृश्य स्वार्थपरक, अहमवादी, अभिष्ट पूरा गर्ने लक्ष्यतर्फ परिलक्षित भइरहेको अवस्था देखिन्छ । सञ्चार क्षेत्रमा देखिएको भौतिक विकास र त्यसले सिर्जना गरेको साँघुरिएको विश्वमानचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटनाले ल्याउने राजनीतिक तरंग क्षणभरमै विश्वमा प्रभाव परिरहेको हुन्छ ।

तथापि, धरतीको एक मुठी माटो समाइ राष्ट्रिय चिन्तनमा राजनीतिक शुद्धता हुनु अहिलेको आवश्यकता हो । तसर्थ, मानवीय मूल्य र मान्यताको पहिचानसँगै नेपाल र नेपालीको सपनालाई सकारात्मक तथा भावनात्मक रुपले नयाँ आयाम थप्दै गोरेटो निर्माण गर्नु नेतृत्वकर्ताको जिम्मेवारी पनि हो । राजनीतिक चिन्तन उत्कृष्टतातर्फ परिलक्षित हुनु र भए गरेका गलत प्रवृत्तिलाई त्याग गर्नु वर्तमानको आवश्यकता हो । तसर्थ, प्रत्येक राजनीतिक व्यक्तित्वले प्रथमतः आफूले आफैलाई र आफ्नो अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्छ ।

राष्ट्रिय राजनीतिमा मेरो जिम्मेवारी के हो ? म र मैले कस्तो दायित्व निर्वाह गर्नुपर्छ ? राष्ट्रले कुन किसिमको राजनीतिक विकास चाहेको छ ? त्यसको गहिरो अध्ययन मनन् हुन जरुरी छ । साथै यस विषयसँग सम्बन्धी आचरणको खोजी हुनु अहिलेको सान्दर्भिकता पनि हो । त्याग र सपर्मणमा आधारित राजनीतिक परिदृश्य, मूल्य र मान्यताभित्र देखिनुपर्ने राजनीतिक संस्कार, विचारको शुद्धता वर्तमानको अपेक्षा हो ।

हालै बढ्दै गएको राजनीतिक ध्रुवीकरणले ल्याउने परिणामको मूल्यांकन गरी सगुन साकार चिन्तन राष्ट्रिय विकासको मूल आधार पनि हो । त्यसैले सृष्टिको उत्कृष्ट रचनाभित्र परेको मानव स्वभाव राजनीतिक संस्कारबाट अलग रहन नसक्ने सत्यलाई बुझी चरित्र नै राष्ट्रिय राजनीतिलाई शुद्धिकरण र प्रतिस्थापन गर्ने महत्वपूर्ण कडी हुने हुँदा राजनीतिक व्यक्तित्व बढी जिम्मेवार हुनुपर्छ । राष्ट्रिय चिन्तन राष्ट्रियताको अछुन्नतासँगै विकासको मूलआधारतर्फ उन्मुख हुनु हिजो, आज र भोलिका लागि अपरिहार्य आवश्यकता हो ।

ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने यहाँ धेरै राजनीतिक उथलपुथल र दुर्घटना भएका छन् । शक्तिशाली व्यक्ति पनि पतन भएको इतिहास साक्षी छ । जसले जस्तो कर्म गर्छ त्यसले त्यस्तै प्रतिफल प्राप्त गर्छ भन्ने यथार्थता इतिहासले दर्शाएको छ । पानीलाई जस्तो भाँडामा राखिन्छ त्यही आकार लिन्छ । त्यसरी नै राजनीतिक विषय पनि जुन किसिमले व्याख्या र विश्लेषण गरिन्छ त्यही व्याख्या र चरित्रभित्र यो विषय अगाडि बढेको हुन्छ । जसले जडतत्वको विषयमा मात्र जान्दछ ऊ वास्तवमा अज्ञानी र स्वार्थी मानिन्छ र जो व्यक्ति चेनताको बारेमा मात्र जान्दछ ऊ केवल ज्ञानी मात्र कहलाउँछ ।

तसर्थ, जडतत्व र चेतनशक्ति जब दुवैको उपादेयताबारे मानिसले जान्दछ ऊ नै महान बन्नसक्छ । त्यसैले वर्तमानमा देखिएको अन्योलग्रस्त राजनीतिक दृश्यले देखाउन खोजेको राजनीतिक विचलन र अनिश्चिततालाई हटाइ इमानदार र भावि पिढीको लागि मार्गनिर्देशक बन्नसक्ने राजनीतिक आदर्शता कायम गरौँ । वर्तमानमा देखिएको राजनीतिक ध्रुवीकरणले अस्वस्थ राजनीतिक प्रतिस्पर्धा उन्मुख भएको अवस्था छ ।

नेतृत्वको अहमवादी चिन्तनले उत्तराधिकारीको अवस्था केवल चिन्तनको विषय मात्र बन्न पुगेको छ । नेतृत्वहरु केवल आफ्नो स्वार्थतिरमात्र केन्द्रित भएको अवस्था छ । लचकता र रुपान्तरणजस्ता शब्दहरु आत्मसमर्पण गराउनेतर्फ केन्द्रित भइ शब्दजालको रुपमा प्रयोग भएको पाइन्छ । झुठ्ठा आश्वासनको भारी बिसाउँदै जनअभिमत विपरीत कार्य राजनीतिक वृत्तचित्रमा देखिँदैछ । विश्वासको संकटले राजनीतिमा पराधीनको गोटीचाल महत्वपूर्ण बन्दै छ ।

यदि यस्तै अवस्था केही समयसम्म रहीरह्यो भने तथा विचारमा साँघुरोपन देखिँदै जाने हो भने राष्ट्रिय स्वाधीनतामा कस्तो प्रभाव पर्ने हो ? सोच्नुपर्ने अवस्था छ । तसर्थ, भन्नैपर्ने छ– अरुलाई विश्वास गर्न नसक्ने राजनीतिक चरित्रले आफूलाई विश्वास गर भन्नु कति उपयुक्त ? राजनीतिक नाटक जनअभिमत विरुद्ध हुनु कति सुहाउने विषय हो ? कतै यस्तै राजनीतिक रबैयाले नेपाल र नेपालीको पहिचान र अस्तित्व गुमाउनुपर्ने अवस्था त आउँदैन ?

सिर्जनाले रोजेको संगीत, चरित्र नभइ संगीतले रोजेको सिर्जना भन्दै उल्टो बाटो राजनीतिक गन्तव्य कति जायज ? तसर्थ, यसको गहिरो अध्ययन, विश्लेषण हुन जरुरी छ । अमुख पार्टीको असहमतिले जनअभिमतको कदर भएन भने अरुलाई दोष दिइ हिड्ने संस्कृति र व्यक्ति विशेषको आचरणमा आघात पुग्ने गरी गाली गलौजको घटिया राजनीतिक संस्कार देखाइ धम्कीको भाषा प्रयोग गर्नु के राजनीतिक चरित्र हो ? यसले भावि सन्ततीलाई कस्तो प्रभाव पार्दछ ?

दलगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ सर्वोपरी हुन्छ भन्ने पाठ सिकाउन राजनीतिक नेतृत्वकर्तालाई कसले छेकेको छ ? हाम्रा पुर्खाले सजाइएको वीरता र राजनीतिक सुझबुझतालाई वर्तमानले किन बुझिरहेको छैन ? इतिहास फरक किसिमले लेखिँदै गरेको सत्य के नेतृत्वलाई थाहा छैन ? नाँच्न नजान्ने आँगन टेडो भनेझैँ आफूले पूरा गर्नुपर्ने दायित्व पूरा नगर्ने, जनता अल्मल्याउने चरित्र प्रदर्शन गर्दै जाने, विदेशी इसारामा आफूलाई सक्षम देखाउँदै हिड्ने राजनीतिक चरित्र प्रदर्शन गर्नु के इतिहासले खोजेको हो ?

तसर्थ, विभिन्न तर्क र कूतर्क बढाउनुभन्दा राज्यले खोजेको शान्ति र समृद्धिको बाटोमा गतिशील गराउने सहमतीय राजनीतिक संस्कारको विकास गरौँ । अहिलेको अवस्थालाई हेर्ने हो भने राजनीतिक असक्षमताको कारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेतमा तरंग आएको छ । विश्वास र नैतिकताको संकट मडारिएको छ । नीति निर्माण भए तर नैतिकता ह्रास भएको स्थिति छ । आफूले आफैलाई हिलो छ्याप्ने कार्य भए गरेको देखिन्छ । यो अवस्था जति लम्बिन्छ त्यति नै राष्ट्रिय स्वाधीनतामा प्रश्न उठ्दै जान्छ ।

चाहे कार्यपालिका होस्, चाहे व्यवस्थापिका होस् या न्यायपालिका होस्, यसमा नेतृत्वगर्ने जोकोही पनि यदि इमानदार र नैतिकवान बन्न सक्दैनन् भने राष्ट्रले खोजेको समृद्धि केवल सपना मात्र बन्ने छ । यो कुरा राजनीतिक नेतृत्वकर्ताले गम्भीर भएर सोच्नुपर्ने छ । राजनीतिक तरंग भइरहेको यस अवस्थामा जस, अपजसको कुरालाई बढी प्राथमिकता दिइ विश्वास र अविश्वासको वातावरण ल्याउनुभन्दा नेतृत्वकर्ताले इमानदारी प्रदर्शन गर्न सिकौँ, राष्ट्र रहे हामी रहन्छौँ भन्ने मातृभूमिप्रतिको इमानदारी प्रदर्शन गरौँ । पानीमाथि ओभानो बन्ने मानसिकता छोडौँ । वर्तमान यही खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*