Home / Feature Breaking news / निर्धारित समयमै महाधिवेशन : नेता चौधरी

निर्धारित समयमै महाधिवेशन : नेता चौधरी

दाङ, १० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । उनले महाधिवेशन तोकिएकै समयमा सुरु हुने भएकाले नेता तथा कार्यकर्ताहरुलाई चुनावी तयारीमा लाग्न आग्रह गरेका हुन् ।

घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता चौधरीले क्रियाशील सदस्य विवादकै कारण यसअघि पार्टीको महाधिवेशन निर्धारित समय हुन नसकेको भन्दै अब क्रियाशील सदस्यको विवाद समाधान भइसकेकाले महाधिवेशनको मिति परिवर्तन नहुने बताए । ‘कांग्रेसको १४औँ निर्धारित समयमै हुन्छ, त्यसैले अब दङाली सबै नेता तथा कार्यकर्ताहरुलाई चुनावी माहोलमा लाग्न आग्रह गर्दछु’, केन्द्रीय सदस्य चौधरीले भने– ‘अधिवेशनको मिति नजिकिसकेको छ । त्यसैले चुनावी माहोलमा लाग्नुहोस् ।’

नेता चौधरीले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरु सरकार सञ्चालनसँगै तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्न गम्भीर रहेको बताए । उनले अधिवेशनका लागि प्राविधिकरुपमा काम भइरहेको भन्दै भदौको १० गतेभित्र हरेक जिल्लाहरुमा निर्वाचन अधिकृत तोकिने बताए । ‘पार्टी सभापति, वरिष्ठ नेतालगायतका पार्टीका शीर्ष नेताहरु पार्टीको महाधिवेशन तोकिएकै मितिमा गर्न गम्भीर हुनुहुन्छ ।

त्यहीअनुसार अहिले तयारी अघि बढिसकेको छ’, उनले भने– ‘त्यहीअनुसार भदौको १० गते (आज) निर्वाचन अधिकृत तोक्ने कार्यक्रम छ । त्यही भएर अब ढुक्कसँग निर्वाचनका लागि अघि बढ्नुहोस ।’ उनले नेता तथा कार्यकर्ताहरुलाई गुटगत राजनीतिभन्दा पार्टीलाई राम्रो बनाउन सक्ने योग्य, सक्षम र क्रियाशील व्यक्तिलाई नेतृत्वमा चुन्नसमेत आग्रह गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशन यही भदौको १८ गतेदेखि सुरु हुँदैछ ।

त्यसैगरी नेता चौधरीले वर्तमान सरकारले नै भूमिहीन तथा सुकुम्वासी जनतालाई जग्गाको मालिक बनाउने बताए । अहिले जनतामा विरोधीहरुले बर्तमान सरकार भूमिहीन तथा सुकुम्वासी जनताविरोधी रुपमा चित्रण गर्न खोजेको भन्दै नेता चौधरीले जतालाई भ्रममा नपर्न समेत आग्रह गरेका छन् । ‘वर्तमान सरकार भूमिहीन तथा सुकम्बासी जनताकै पक्षमा छ ।

उनीहरुलाई जमिनको मालिक बनाउने गरी सुकुम्बासी समाधान आयोग बनाएर जग्गा दिन्छ’, नेता चौधरीले भने–‘सरकारले जग्गा दिँदैन कि भनेर कोही पनि आत्तिनुपर्दैन ।’ उनले बर्तमान सरकार जनताको पक्षमै रहेको बताए । तर पौडेल पक्ष भने क्रियाशील सदस्यरुको सूची माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*