दाङ, ५ भदौ । जिल्लाको पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै पछिल्लो समय कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङकाअनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ सय ५० वटा लेयर्सका फर्महरू रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।
जसमा ३ अर्ब बढी लगानी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा.वेदबहादुर केसीले बताए । कार्यालयका अनुसार जिल्लामा करिब साढे चार सय कुुखुरापालन व्यवसाय दर्ता भएर पनि अन्य धेरै व्यवसाय दर्ता नभएरै सञ्चालन भएका छन् ।कुखुरा पालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्ड सप्लायसर्यका हिसाबले समेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताए । तर, पछिल्लो समय कोरोनाका कारण व्यवसायी समस्यामा परेको बताए ।
‘छोटो समयमै राम्रो नाफा लिन सकिने व्यवसाय फोल्ट्री व्यवसाय हो, त्यसैले पोल्ट्री व्यवसाय राम्रो लगानी छ’–कार्यालय प्रमुख केसीले भने–‘तर पछिल्लो समय कोरोनाले व्यवसायीमा असर पु¥याएको छ ।’ कोरोना भाइरसका कारण जिल्लामा व्यवसायीले ठूलो घाटा व्यवहोर्नुपरेको छ ।जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यका भन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ । दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरूमा समेत कुखुरा, बच्चा, अण्डा पाठाउन सकिने भएकाले धेरै व्यसायीहरूले पोल्ट्री व्यवसायमा लागनी गरेको कार्यालयले जनाएको छ । अण्डा उत्पादनका हिसाबले दाङ देशभरमै चितवन जिल्लापछि दोस्रो अण्डा उत्पादन हुने जिल्लाका रूपमा चिनिन्छ ।
तर, कोरोनाका कारण पहिलेको तुलनामा अहिले अण्डाको उत्पादनमा समेत गिरावट आएको कार्यालय जनाएको छ ।पछिल्लो समय कुखुरापालन गर्ने व्यवसायी घट्दै गएको सुरक्षित कुखरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष चन्दन भण्डारी बताउँछन् । कोरोनाका कारण उत्पन्न भएको संक्रमणकालीन समयमा जिल्लामा करिब ५० प्रतिशत व्यवसायीहरू कुखुरा पालन व्यवसायबाट पलान भएको व्यवसायी समेत रहेका भण्डारीले बताए ।
‘दानाको मुल्य बढ्ने तर व्यवसायीले तयार गरेका कुखुराको मूल्य नबढ्ने, दानाको गुणस्तर मापन गर्ने व्यवस्था नहुँदा अखाद्य दानाका कारण व्यवसायीहरू मारमा पर्ने गरिरहेका थिए’–सचिव भण्डारीले भने–‘त्यसमा कोरोना भाइरसका कारण दुुई वर्ष लामो समय लकडाउन हुँदा आधा व्यवसायी व्यवसाय क्षेत्रबाट पलायन भएका छन् ।’ उनका अनुसार दुई वर्ष अघि जिल्लामा साना तथा ठूला लगानीका करिब १२ सय व्यवसायीहरू रहेका थिए । व्यवसायीहरू मारमा पर्नुको अर्काे समस्या भारतबाट कुखुरा तस्करी हुनु समेत भएको बताए ।