Home / Feature Breaking news / नेपाली कांग्रेस र क्रियाशील सदस्यता

नेपाली कांग्रेस र क्रियाशील सदस्यता

तपराज जोशी

निराश भइसकेका नेपाली कांग्रेसका कार्यकर्तामा पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउने निर्णयले थोरै भए पनि आशा जागेको देखिन्छ । तर, कांग्रेस कमजोर हुनुका कारण क्रियाशील सदस्यको संख्या कम हुनु नै एकमात्र मुख्य कारण हो वा अन्य कारण पनि छन् ? यसका बारेमा नेपाली कांग्रेसले संस्थागतरूपमा निष्कर्ष निकाल्ने भने कुनै पहल गरेको पाइँदैन । पार्टीभित्रका विभिन्न समूहहरूले बन्द कोठाभित्र थुप्रै छलफल गरेको सुनिन्छ तर ती छलफल निष्पक्ष निष्कर्ष निकाल्न गरिएका थिए वा समूहगत स्वार्थपूर्तिका लागि आरोपप्रत्यारोपका लागि मात्र थिए ?

नेपाली कांग्रेस विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा क्रियाशील सदस्य संख्या थोरै भएका कारण नै खुम्चिएको हो त ? यसो हो भने २०४६ को आन्दोलनलगत्तै भएको निर्वाचनमा क्रियाशील सदस्यको संख्या एकदमै न्यून हुँदा पनि संसदीय निर्वाचनमा कसरी एकल बहुमत प्राप्त गर्न सफल भयो ? क्रियाशील सदस्यता त २०४८ सालदेखि मात्र सामान्य कार्यकर्ताका लागि खुला गर्दै जनस्तरमा वितरण सुरु गरिएको थियो ।

सदस्यतामात्रै पराजयको कारण हुन्थ्यो भने त्यतिबेला अहिलेभन्दा पनि नराम्रोसँग कांग्रेस पराजित हुनुपर्ने थियो । क्रियाशील सदस्यता र कांग्रेसको सम्बन्धलाई गहिरिएर विश्लेषण गर्ने हो भने विगतका विभिन्न निर्वाचनमा यी दुईबीचको सम्बन्ध उल्टो देखिन्छ । क्रियाशील सदस्यताको संख्या थोरै हुँदा कांग्रेसले निर्वाचनमा कुल मतको धेरै प्रतिशत प्राप्त गरेको देखिन्छ भने क्रियाशील सदस्यता बढाउँदै जाँदा तुलनात्मकरूपमा कम मत प्राप्त गरेको देख्न सकिन्छ । त्यसो भए के नेपाली कांग्रेसले हालै क्रियाशील सदस्यता दोब्बर बनाउन गरेको निर्णय गलत छ ? यो प्रश्नको सही उत्तर भविष्यले नै बताउला । अर्को निर्वाचनको परिणाम नहेरीकन निष्कर्षमा पुग्नु हतार हुन सक्छ ।

तर, एउटा कुरा के सत्य हो भने नेपाली कांग्रेसले बाँडेका क्रियाशील सदस्यता ककसले प्राप्त गरे ? तिनीहरूको नेपाली कांग्रेसप्रतिको प्रतिबद्धता कति हो ? के वितरण गरिएका सबै क्रियाशील सदस्यता उपयुक्त व्यक्तिले मात्र प्राप्त गरेका छन् ? यी सबै प्रश्नहरूको उत्तर खोजिनु आवश्यक छ ।

यी प्रश्नहरूको सही उत्तर नखोजी आगामी दिनमा नेपाली कांग्रेसले विगतको निर्वाचनको तुलनामा दोब्बर मत प्राप्त गर्न सक्छ ? भन्न सकिँदैन । क्रियाशील सदस्यता दोब्बर गर्ने निर्णयले राष्ट्रिय राजनीतिमा कांग्रेसको प्रभाव कति बढ्ला भन्ने विषयलाई पनि एकछिनका लागि थाती राखौँ । उपयुक्त व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गरिएको हो भने पक्कै पनि यसले पार्टीको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पार्नेछ ।

विगतमा देखिएको क्रियाशील र निर्वाचन परिणामबीचको उल्टो सम्बन्धले पराजयको कारण क्रियाशील सदस्यको संख्या कम हुनु नभई अरु नै कारणहरू भएको स्पष्ट हुन्छ । यसरी सोच्ने हो भने संगठनभित्र सदस्यता वितरणपछिको अर्को महत्त्वपूर्ण पक्ष नेतृत्व नै हो ।

यसका बारेमा विश्लेषण गर्नु पनि उत्ति नै आवश्यक हुन्छ । यहाँ फेरि प्रश्न उठ्छ के कांग्रेसले आफ्नो संगठनको विभिन्न तहको नेतृत्व पंक्तिभित्र योग्य र प्रतिबद्ध व्यक्तिहरूलाई समेटेको छ ? कुशल नेतृत्वबिना सुदृढ संगठनको कल्पना कसरी गर्ने ? जबसम्म उपयुक्त व्यक्ति उपयुक्त ठाँउमा पुग्ने वातावरण हुँदैन त्यो संगठनले निर्माण गर्ने नीति तथा कार्यक्रम पनि उपयुक्त हुन सक्दैनन् ।

यसबारेमा चिन्तन गर्ने कि नगर्ने ? के २०४६ साल यता वितरण भएका क्रियाशील सदस्यताले वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन योगदान गरेको छ ? पक्कै पनि छैन । त्यसो हो भने कुशल नेतृत्वविनाको हजारौंको भिडले के गर्ने ? ठूलो भिडले विनाश त सहजै गर्न सक्ला तर निर्माणका लागि ठूलो भिडभन्दा सिर्जनशील सानो समूह बढी सान्दर्भिक हुन सक्छ ?
यसरी यी सबै प्रश्नहरूको उपयुक्त निष्कर्ष निकालेरमात्रै पनि पुग्दैन । त्यसलाई व्यवहारमा उतार्नु अझ बढी आवश्यक हुन्छ । आगामी महाधिवेशनमा सबै नेताकार्यकर्ताहरूको चिन्तन त्यतातिर लक्षित गराउने हो कि ? किनभने वडा तहदेखि केन्द्रसम्मका प्रत्येक नेतृत्वले संगठनभन्दा आफ्नो राजनीतिक सुरक्षा र सफलताबाहेक अन्त कतै ध्यान दिएको देखिँदैन ।

कतिपय स्थानमा त नेतृत्व तहमा रहेका व्यक्तिहरूको कतिसम्म व्यक्तिवादी सोच देखिन्छ भने संगठनमा धेरै महत्त्वपूर्ण व्यक्तिहरू निस्क्रिय हुँदा पनि, पटकपटक निर्वाचनमा असफल भइरहँदा पनि, आफू र आफन्तमात्रै संगठनभित्र बाँकी रहँदा पनि, संगठनभित्र आफ्नो नियन्त्रण बनाइराख्न पर्छ भन्ने एकसूत्रीय अभियानमा लागिरहेको देखिन्छ । मानौ, संगठनलाई समाजले स्वीकार गरोस् या नगरोस् आफ्नो अनुकूल भए पुग्छ ।

नेतृत्वलाई सांगठनिक अवस्थाको यथार्थबोध भइहालेछ र आफ्ना कमीकमजोरी आगामी दिनमा सच्याउँदै जान चाहेछन् भने पनि पार्टीभित्र हुने आमूल परिवर्तनले मात्र कांग्रेस नेपाली राजनीतिको केन्द्र बन्छ नै भनेर ठोकुवा गर्न सकिँदैन । कांग्रेसले आफूलाई नेपाली राजनीतिको केन्द्रका रूपमा स्थापित गर्न अरु थुप्रै पक्षहरूको विश्लेषण गर्दै परिवर्तन हुनुपर्ने देखिन्छ ।

वैचारिक स्पष्टता र जनअपेक्षित कार्यशैली स्थापित गर्नसक्नु संगठनका लागि अर्को महत्वपूर्ण पक्ष हुन जान्छ । अब प्रश्न उठ्छ नेपाली कांग्रेसले कस्तो विचार बोकेको छ र यसले कसको प्रतिनिधित्व गर्छ ? किसान, मजदुर, आम सर्वसाधारण वा पुँजीपति र संभ्रान्त वर्ग अथवा सबैको ? यो स्पष्ट हुनु पनि त्यति नै आवश्यक हुन्छ ।

सबैको प्रतिनिधित्व गर्न खोज्नु नराम्रो होइन तर हरेक राष्ट्रिय पार्टीको आधारशीलाका रूपमा कुनै वर्ग समुदाय वा समूह मूल आधारका रूपमा रहेको पाइन्छ । पार्टीको घोषणपत्रभित्र निश्चित समुदाय, वर्गलाई प्राथमिकतामा राख्नैपर्ने हुन्छ । त्यसैले बलियो जनाधारविना सुदृढ संगठनको कल्पना गर्नु व्यर्थ हुन्छ । कुनै पनि समुदायले पार्टीलाई आफ्नो नठान्दा संगठनको धरालत कमजोर हुन जान्छ । त्यसैले आफ्नो राजनीतिक धरातलको पहिचान र उसकाप्रति समर्पण पनि त्यति नै आवश्यक हुन्छ ।

अर्को पक्ष हो – आचरण र व्यवहार । आज विश्वले नै लोकतान्त्रिक आचरण र व्यवहारलाई अंगीकार गरिसकेको छ ।

गैरलोकतान्त्रिक देशहरूले पनि आफू लोकतन्त्रवादी भएको दाबा गरिरहेका प्रशस्त उदाहरण पाइन्छन् । त्यसैले हामीले आफूले आफैँलाई प्रश्न गर्ने बेला भएको छ हामी देशकै पहिलो लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ता कति लोकतान्त्रिक छौँ ? पार्टीभित्र लोकतन्त्रको अभ्यास कसरी गरिरहेका छौँ ? नेता कार्यकर्तालाई मात्रै सोध्ने हो भने त यो प्रश्नको सहजै उत्तर आउँछ — हामी लोकतान्त्रिक व्यवहार नै गरिरहेका छौँ ।

यसको अर्थ हो सायद हामीले आजसम्म सर्वसाधारणको नजरले कांग्रेसलाई हेर्ने प्रयत्न नै गरेनौ । त्यसैले हामी जनसाधारणको उत्तरसँग त्यति परिचित छैनौँ । सामान्य नागरिकको देखेको व्यवहार हो – कांग्रेस सैद्धान्तिकरूपमा जति लोकतान्त्रिक छ व्यवहारमा त्यति नै अलोकतान्त्रिक ! किनभने, हामीले हरेक कार्यको सुरु अन्तर्मनमा ‘म’ राखेर गरेको देखिन्छ भने व्यवहारमा पनि ‘म’ र ‘मेरो’को प्राप्तिका लागि जुनसुकै हदसम्म गिर्न तयार भएको पाइन्छ । सबैको भावनालाई ग्रहण गर्दै ‘हामी’लाई आफूभित्र स्थान दिएको पाइँदैन ।

आफ्नो स्वार्थपूर्तिका लागि जति पनि जालझेल गर्न झुटो बोल्न र गैरलोकतान्त्रिक व्यवहार गर्न तयार भएको देखिन्छ । त्यसैले होला आफ्नो नजिकको नेता कार्यकर्ताको मृत्यु हुँदा पर्याप्त सम्मान, अलंकार विभूषण प्रदान गर्ने गरिन्छ भने आफ्नो समूह बाहिरकाको मृत्युलाई सामान्यरूपमा लिइन्छ ।

अब पनि ‘म’बाट ‘हामी’तिरको यात्रा अघि नबढाउने हो भने सुदृढ संगठन फेरि पनि कल्पनामै सीमित हुनसक्छ । राजनीति गर्ने सबैले मनन गर्नै पर्छ – कुनै पनि राजनीतिक संगठन व्यक्तिको हुँदैन समग्र समाजको आवश्यकताको उपज हुन्छ । संगठन समाजमा नै गठन हुन्छ, समाजभित्रै हुर्किन्छ र समाजका सदस्यहरूको मायाले मात्र सुदृढ हुन सक्छ ।

त्यसैले क्रियाशील सदस्यता पनि समाजको सरोकारको महत्त्वपूर्ण विषयवस्तु बन्न सक्नुपर्छ । क्रियाशील सदस्यता केही नेताकार्यकर्ताको स्वार्थसिद्धि र भागबण्डाको विषय मात्र बन्नुहुँदैन ।

पार्टीभित्र स्थापित आफैँ क्रियाशील सदस्यता वितरण गर्ने, आफन्त र सहमत व्यक्तिलाई मात्र दिने र उनीहरूको मत प्राप्त गर्दैमा आफू समाजकै नेतृत्व गर्ने व्यक्ति भएजस्तोे गरी आफूलाई जनताको नेता म नै हुँ भन्न मन पराउने संस्कृतिको अन्त्य हुनु आवश्यक छ । लोकतान्त्रिक पद्धतिको स्थापनापश्चात् पनि क्रियाशील सदस्यतामाथि सीमित व्यक्तिको पकड हुनेगरी नियन्त्रित गरिनु पनि आवश्यक देखिँदैन ।

कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदस्य बन्न चाहने जनसाधारणका लागि सदस्यता खुला गर्न सक्नुपर्छ । कांग्रेसमा आबद्ध हुन चाहने सबैले निश्चित आधारमा सदस्यता पाउनुपर्छ र उनीहरूकै सहभागितामा नेतृत्व चयन गर्ने परिपाटी बसाल्नुपर्छ ।

कम्युनिस्ट पार्टीलेजस्तो सदस्यतामा बन्देज लगाएर संगठनलाईे मुठ्ठीभित्र राख्ने बाटोमा कांग्रेसका नेता हिँड्नुहुँदैन । क्रियाशील सदस्यतालाई हरेक महाधिवेशनमा झगडाको बीउ बनाउनुभन्दा क्रियाशीलको व्यवस्था नै खारेज गरी साधारण सदस्यबाट नै नेतृत्व चयन गर्ने प्रावधान राखे हुन्छ । यसले लोकतान्त्रिक पार्टी साँचो अर्थमा लोकतान्त्रिक बन्ने बाटो खोल्नेछ ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*