Home / Feature Breaking news / पर्यटक केन्द्र बन्दै ‘जखेरा’

पर्यटक केन्द्र बन्दै ‘जखेरा’

लिलाधर वली
दाङ, ८ फागुन । लमही बजारदेखि झण्डै ५ किलोमिटर पूर्व–उत्तर क्षेत्रमा जखेरा ताल छ । तालको बीचमा मन्दिर छ । त्यही ताल पछिल्लो समय पर्यटकको लागि आकर्षणको स्थल बन्दै गएको छ । पिक्निक खानको लागि वा घुम्नको लागि त्यो आन्तरिक वा बाह्य पर्यटकको लागि च्वाइसमा पर्ने गरेको छ ।

आकर्षक पोखरी, बीचमा रहेको शिव र गणेशका छुट्टाछुट्टै मन्दिरमा पुजापाठसँगै पिक्निकका लागि पछिल्लो समय जखेरा आकर्षकको केन्द्र बन्दै गएको स्थानीयको अनुभव छ । लमही नगरपालिका–३ जखेरा निवासी ओमभगत चौधरीको दैनिकी १६ वर्षदेखि जखेरा तालमा बित्ने गरेको छ । जखेरा तालमा डुंगा चालकका रुपमा कार्यरत चौधरीले तालको संरक्षणको समेत काम गर्दै आएका छन् ।

‘सानो पोखरीका रुपमा रहेको ताललाई ठूलो बनाएर डुंगा राखेदेखि नै म यहाँ डुुंगा चालकका रुपमा काम गर्दैछु’, चौधरीले भने– ‘धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको तालमा डुंगा चलाउँदा सन्तुष्ट नै छु ।’ त्यसमा काम गरेबाफत मासिक १५ हजार तलव पाउने गरेको समेत बताए ।

तालमा डुंगा चलाउने उनी एक्ला माझी भने होइनन् । जखेरा तालमा तीन वटा डुंगाहरु रहेका छन् । तीन वटा डुंगाका लागि तीनजना माझीहरु रहेका छन् । तर अन्य माझीहरु भने मानिसहरुको चहल–पहल भएमा आउने गर्दछ । तर ओमभगत भने दैनिक आउने गरेको उनले बताए ।

‘तालमा तीन वटा डुंगाहरु रहेका छन्, जसमा छुट्टाछुट्टै चलाउने व्यक्तिहरु समेत हुनुहन्छ’, उनले भने– ‘तर अन्य व्यक्तिहरु सधै आउनु्हँुदैन । म भने सधै आउने गरेको छु ।’ विगत १६ वर्षदेखि जखेरा तालमै डुंगा चलाउँदै आएका चौधरीले अन्य क्षेत्रको तुलनामा जखेरा तालको विकास हुन नसकेको बताउँछन् ।

देउखुरीकै अन्य ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु जखेराको तुलनामा धेरै अघि बढिसकेको उनी बताउँछन् । ‘सानो अजमरी बोटहरुले ढाकेको पोखरीलाई विस्तार गरेर समुदायबाटै डुंगा चलाउने बनायौं । तर राज्यले यो ठाउँको विकास र विस्तारका लागि पहल गर्न सकेन’, उनले भने– ‘जसले गर्दा देउखुरीमा पर्यटकीय विकासको राम्रो सम्भावना भएको जखेरा तालको विकास हुन सकिरहेको छैन ।’

उनका अनुसार तालको बिस्तारसँगै मानिसहरुको चहल–पहल हुने ठाउँतिर रेलिङ, पिक्निकका लागि घर र खानेपानी धारा, व्यवस्थित पार्क निर्माणसँगै तालमा जलविहार गर्नका लागि स्टिमरको आवश्यकता रहेको चालक चौधरीले बताए । तर यसका लागि राज्यले सहयोग गर्न आवश्यक छ । ‘देउखुरीमा जलविहार गर्नका लागि जखेरा ताल मात्र छ, जसमा तीनवटा डुंगाहरु रहेका छन्’, उनले भने– ‘अब यी डुंगाहरु पूरा भैसके, त्यसैले अब स्टिमर ल्याउन आवश्यक छ ।’

जखेरा घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको कामसमेत स्टिमरको हुने गरेको उनले बताए । करिब तीन बिगाहा क्षेत्रफलमा फैलिएको जखेरामा जलविहार गर्नका लागिसमेत उपयुक्त रहेको उनी बताउँछन् । जखेरामा जिल्लाका विभिन्न ठाउँहरुसँगै कपिलवस्तु, प्युठान, रोल्पा, बाँके, बर्दियालगायत जिल्लाका विभिन्न ठाउँहरुबाट समेत मानिसहरु घुम्न आउने गरेको बताए ।

धार्मिक तथा पर्यटीकय स्थलका रुपमा रहेको जखेरा तालमा दैनिक करिब ४ देखि ५ सय मानिसहरु घुमफिर तथा पिक्निकका लागि आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यालय सचिव सरिता चौधरीले बताइन् । धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्रवेश निःशुल्क भए पनि पोखरीमा डुंगामा चढ्नका लागि प्रतिव्यक्ति ५० रुपैयाँ लाग्ने गरेको छ ।

डुंगामा चढेर पोखरी घुमेको र पिक्निकबाट दैनिक करिब ६÷७ हजार रुपैयाँ संकलन हुने गरेको र त्यही पैसाबाट कर्मचारीलाई तलव, मन्दिरको विकास र संरक्षणमा लगाउने गरेको उनीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*