Home / Feature Breaking news / दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल बिजयी

दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल बिजयी

दाङ,२१ पुस । दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी विजयी भएका छन् । सोमवार राति अबेर सम्पन्न मतगणनाबाट अध्यक्षमा बुढाथोकी निर्वाचित भएका हुन् ।

प्रतिष्पर्धा भएको अध्यक्षमा पदमा संयुक्त प्यानलका टंकसिंह बुढाथोकीले १ हजार २ सय ५७ मत प्राप्त गर्दै विजयी भएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिए । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी बसन्त जोशीले १ हजार १३ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा पनि संयुक्त प्यानलकै सुशील पोख्रेल विजयी भएका छन् । उनले १ हजार २ सय ६३ मत प्राप्त गर्दै बिजयी भए ।

उनका निकटतम प्रतिद्वन्दी धनपति शर्माले ९ सय ८५ मत प्राप्त गरे । कुल ४ हजार ३ सय ३८ मतदाता रहेको संघको निर्वाचनमा २ हजार ४ सय ३४ मत खसेको थियो । खसेको कुल मतमा १ सय ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

जिल्लाको सबैभन्दा पुरानो र ठूलो व्यावसायिक संस्था दाङ जिल्ला उद्योग बाणिज्य संघमा यस पटक सबै पदमा सर्वसहमतिमा पदाधिकारी चयनको प्रयास गरिएपनि अध्यक्ष र कोषाध्यक्ष पदका जोशी र शर्माको उम्मेदवारी परेपछि निर्वाचन गरिएको हो ।

कुल २१ सदस्यीय रहने नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पदबाहेक सबै पदमा सर्वसहमतिमा पदाधिकारी निर्विरोध चयन भइसकेका छन् । बुढाथोकी र पोख्रेललाई सबै दलको साथ थियो भने जोशी र शर्मा स्वतन्त्र रुपमा वागी उम्मेदवार थिए ।

१६ औं अधिवेशनमार्फत भएको सर्वसहमति अनुसार निर्विरोध चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्ष नरेश कार्की, उद्योग उपाध्यक्ष अनिल आचार्य, वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र बुढाथोकी, सचिव नरेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा राजभक्त राना चुनिएका छन् ।

यस्तै उद्योग सदस्यमा भरतराज रेग्मी, महिला सदस्यमा देवकला बस्नेत, सदस्यहरुमा जुद्धबहादुर घर्ती, जगत आचार्य, विकास वली, एकनारायण पौडेल, विष्णुप्रसाद धिताल, लिलाराम खड्का, विनोदप्रसाद पाण्डे, विष्णुप्रसाद गौतम सर्वसहमतिमा चयन चुनिएका छन् ।

यस्तै बस्तुगत सदस्यमा माधव खनाल र एशोसियट सदस्यमा ज्ञानबहादुर फौदार चयन भएका दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । कुल २१ सदस्यीय रहने नयाँ कार्यसमितिमा अन्य पदाधिकारीको चयन संघको सिफारिसमा हुनेछ । बि।सं २०२७ सालमा स्थापित संस्थाले पुस १८ गते स्वर्ण जयन्तीसँगै साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*