Home / Feature Breaking news / घोराहीमा एक घर एक क्वारेन्टाइन

घोराहीमा एक घर एक क्वारेन्टाइन

दाङ, ४ कार्तिक । घोराही उपमहानगरपालिकाले एक घर एक क्वारेन्टाइन एक आइसोलेसन निर्माण अभियान थाल्ने भएको छ ।

स्वास्थ्य महाशाखाका प्रमुख नारायण घर्तीले घोराही उपमहानगरपालिकाले गरेको स्वास्थ्यका लागि सक्षम प्रणालीको सहजीकरणमा भएको समुदायस्तरमा कोभिड १९ महामारी रोग नियन्त्रणसम्बन्धी जनप्रतिनिधिहरु तथा सरोकारवालासँगको छलफल यस्तो बताएका हुन् । त्यसको लागि वडाअध्यक्ष र सरोकारवालालाई यसका बारेमा जानकारी दिएको समेत उनले बताए ।

वडा सदस्य तथा टोल विकास संस्थाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालाई जानकारी दिएर अगाडि बढ्ने उनको भनाइ छ । दशैलगत्तै टोल–टोलमा पुग्ने गरी अभियान शुरु गरिएको प्रमुख घर्तीले बताए । कोरोना संक्रमणबाट बच्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कोरोना संक्रमण भए पनि घरमा नै सुरक्षित भएर बस्नसक्ने वातावरण बनाउन यस प्रकारको अभियान थालेको नगरपालिकाले जनाएको छ । संक्रमण भएका र स्वास्थ्य अवस्था सामान्य भएकालाई घरमा नै बस्ने व्यवस्था गरिने घर्तीले बताए ।

गम्भीर स्वास्थ्य समस्या देखिएकालाई मात्र स्वास्थ्य संस्थामा लगिने घर्तीले बताए । घरमा क्वारेन्टाइन एक आइसोलेसन निर्माण गरेर अगाडि बढेमा राज्यलाई कोरोनासँगको लडाइँ लड्न सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले नागरिकहरुलाई सचेत बनाउँदै अगाडि बढ्नुपर्ने बताइन् । संघीय सरकारको नीतिअनुसार नै स्थानीय सरकार अगाडि बढ्ने उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना रोगका फोकल पर्सन कमल चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका छत्रराज भट्ट, टिपिओ नेपालका प्रकाश घिमिरेले कोरोना संक्रमणको अवस्था, अपनाउनुपर्ने सतर्कता, मानसिक रुपमा परेको असरलगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण ठाकुरप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*