Home / Feature Breaking news / ओए ! विहे कहिले गर्ने ?

ओए ! विहे कहिले गर्ने ?

शंकर अतीत

म सानो छदाँ सुन्ने एउटा उखान थियो ‘विवाह एउटा त्यस्तो लड्डु’ हो जसले खान्छ पछुताउँछ र जसले खाँदैन त्यो पनि पछुताउँछ ।’ यति विघ्न प्रष्ट अडान लिन नसकेको एउटा उखान नेपाली समाजमा छ भने माथि उल्लेखित उखान नै हो जस्तो लाग्छ ।

हुन त यो समाजले आफ्नो पुस्ताको अस्तित्व हुनुपर्छ र त्यसका लागि पनि विवाह गर्नुपर्छ भन्ने मान्यता राख्छ तर छोरा जन्मिँदा पुस्ताको अस्तित्व देख्ने र छोरी हुँदा पुस्ताको अस्तित्व नदेख्ने पनि यही समाज हो ।

खैर, यसको लेखनी अर्को पटक गरौँला । फेरि विवाहकै कुरा गरौँ । सामाजिक सञ्जालमा आफूलाई घत लाग्ने शब्द सहित तस्वीर राख्यो भने कमेन्टमा विवाह शब्दको यसरी वर्षा हुन्छ कि मानौँ बादलहरु नै पृथ्वीमा झरेर पानी पारिरहेका छन् ।

कुनै पनि व्यक्तिको विवाह उसको निजी मामला हो त्यसका वावजुत विवाह सामाजिक तरिकाले गर्ने प्रचलन हाम्रो समाजमा व्याप्त छ । बारम्बार कहिले विवाह गर्छस् ? भनेर सोधिने प्रश्नले प्रश्नकर्तालाई प्रश्न सोधेको जस्तै मात्र लाग्ला तर जवाफ दिनेको मनोविज्ञान कुन दिशामा कुदिरहेको होला हेक्का राख्न सक्नुपर्दछ ।

होइन भने जुन कुरा आफ्नो खुशीको परीधिभित्र पर्दैन भने त्यस्ता कुरालाई मानिसहरुले आफ्नो जीवनको डायरीमा त्यति विघ्न टाँसेर किन बसालेका हुन्छन् होला ? आफ्नो खुशीको कुरा होइन भने मानिसहरु किन व्यर्थमा अरुको बोझ बोकेर हिड्छन होला ? भेटाउनै नसकेको यो प्रश्नको उत्तर स्वयम् प्रश्नकर्तालाई पनि थाहा छैन ।

कहिले त सोच्दछु मैले फूलसँग खिचेको तस्वीर, नदिको एक किनारसँग सामिप्यता गासेको दृश्य, आफूसँगै बगाउन नसकेर नदीले छाडेर थुपारिदिएको बालुवाको बगरसँग मित्रता देखेर, यी मानिसहरुमा उम्रिएको फगत एक दृष्टिभ्रम मात्र पो हो कि ? तर विवाह किन गरेको छैनस् भन्ने चिन्तायुक्त प्रश्नको पछाडि त्यति दुःखी हुनपर्ने त म देख्दिन तर बारम्बार त्यही प्रश्न तेस्र्याउँदा स्वाभाविक लाग्दैन् भन्ने हो ।

समयसँगै व्यक्तिको जीवनमा विवाह पनि एक दिन अवश्य आउँछ । तर यो अनिवार्य छैन कि विवाहको चासोप्रति सोधिने सबै प्रश्नको जवाफ दिनैपर्छ भन्ने ।

विवाहको बारेमा बारम्बार चासो राख्ने समाजले किन एकल महिलाहरुको बारेमा बोल्दैन ? किन अन्तरजातीय विवाहका बारेमा बोल्दैन ? दुई मुटुलाई एक बनाइ विवाहमार्फत् जीवनको नयाँ रथमा हिडेका जोडीहरुको बेला–बेला सुनिने सम्बन्धबिच्छेद र त्यसले समाजमा पारेको असरको बारेमा किन बोल्दैन ? समाजशास्त्रले विवाह, परिवार समाजका ईकाई हुन् भन्छ र यी ईकाईले नै समाजलाई चलायमान बनाउँछ पनि भन्छ ।

यी समाजका ईकाईहरुमा बेला–बेलामा आउने खटनपटनले उत्पन्न गरेका असरका बारेमा बहस हुन जरुरी छ ।विवाहको कुनै मापदण्ड छैन कि यति नै बेला हुनुपर्छ भन्ने यो समयसँगै हुन आउने एक स्वाभाविक प्रक्रिया हो । अब यो आफूले बोक्न छाडिदिउँ, उसकै जिम्मामा छाडौँ जससँग यसले सम्बन्ध राख्दछ ।

बरु ऊर्जाशील बनौँ, सुन्दर जीवन जिउने आशले एकअर्कालाई अँगालेका जोडीहरुको जीवनमा आएको वियोगान्तले विक्षिप्त भएको मनमा मल्हम लगाउँ, सामाजिक प्रतिष्ठा दिउँ न कि अरुलाई विवाहको प्रश्न तेस्र्याएर घरि–घरि घोचिराख्नु भन्दा ।

एक मनले अर्को मनसँग जोडिनलाई समाज र कथित जातलाई बेवास्ता गरेर विवाह गरेका प्रेमिल अन्तरजातीय जोडीलाई समाजमा माया र हौसला दिउँ अनि भनौंँ समाजलाई जिउँदो राख्न तिम्रो विवाह हामी सबैको लागि उदाहरण हो भनेर ।

म अझै पनि भन्छु– विवाह कसैको निजी मामिला हो, यसमा अरुको चासोको विषय रहला तर हाम्रो चासोले अरुको निद्रा हराम गर्नु हुँदैन । कसैका वैयक्तिक जीवनमा दखल अन्दाज किन गर्छ यो समाज, कसै माथि अनायसै दबाब किन सिर्जना गर्छ यो समाज ?

यदि यो हाम्रो चासोको विषयभित्र पर्छ भने यसपछिका जीवनमा आउने आयामका बारेमा पनि हाम्रो चासो रहनु पर्दछ । होइन भने सुरुवाती विषयमा चिन्ता उठान गरेर निष्कर्षमा भाग्न मिल्दैन । कागजमा लेखिएका वाहेक समाजमा त्यस्ता केही कानुन हुन्छन्, जुन लेखिएका हुँदैनन् तर तपाईं हाम्रो जीवन भोगाईसँग टाँसिएर बसेका हुन्छन् ।

हामी समाजमा बसिरहँदा, विवाह कहिले गर्नुहुन्छ ? विवाह गरेको केही वर्षपछि बच्चाबच्ची कहिले जन्माउनुहुन्छ ? बच्चाबच्ची जन्मिएपछि कहाँ पढाउनुहुन्छ ? यस्ता यावत प्रश्नहरुको सामना हामीले गरिरहेका हुन्छौँ ।

तर तपाईंलाई कहिल्यै सोध्दैन तिम्रा खुशीका इच्छाहरु के हुन् ? तिम्रो जीवनशैलीका आधारभूत आवश्यकता के हुन् ? के बिना तिमी अपूरो छौ ? तिमीले जीवनमा के भयो भने सन्तुष्टि प्राप्त गर्छौ ? यस्ता प्रश्न त समाजमा बस्नेहरुले बेवास्ता गरेर हिड्छन । जुन कुरा आफ्नो खुशीको परीधिभन्दा बाहिरको हो ।

त्यसलाई बढी चासोको विषयमा राखिरहेका हुन्छन् । त्यसैले सधैँ सोचिराख्छु मेरो जीवनको खुशीका आयामहरु के हुन् भनेर नसोध्नेहरुले बारम्बार म तिर विवाहको प्रश्न किन तेस्र्याउँछन ? जीवनका छालहरुसँगै एकदिन तिमी पनि बगेर आउँछौ भनेर विश्वासले भरिपूर्ण मान्छेलाई यति विघ्न एउटै प्रश्नले किन हिर्काइरहन्छौ ? अझै केहीबेर मलाई एकान्तको स्वच्छन्दतामा नाच्न देऊ, नदीका किनारसँग पौठेजोरी खेल्नदेऊ, नदीको बगरसँग मित्रता गाँस्न देऊ, जुनसँग एक्लै भलाकुसारी गर्न देऊ, आफ्नो आवाज आफैलाई सुन्न देऊ ।

एउटा कुरामा ढुक्क भएर बस मैले त जवाफ दिँदै दिँदिन, समयले एकदिन अवश्य दिने छ र तयार हुनु बारम्बार प्रश्न गर्नेहरु मेरो जवाफ पाएपछि तिम्रो प्रश्नबैंकमा अरु प्रश्न छन् कि नाइ, जसलाई झिक्न मिलेर मलाई भुक्तानी गर्न मिलोस् ।

यदि विवाह नै तिमीहरुको अन्तिम प्रश्न हो भने यो फगत प्रश्न ‘ओए ! तेरो विवाह कहिले गर्ने ?’ भनेर कहिलेसम्म भौँतारिन्छौ, प्रियजनहरु ? भनिन्छ नि समयसँगै कति झुटा कथाहरु निर्माण हुन्छ अनि ती कथाहरु नदोहारिएको नै मीठा हुन्छन् । मलाई यो कथा फेरि दोहो¥याउनु छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*