Home / Feature Breaking news / मानवीयता हराएकै हो ?
फाईल फोटो

मानवीयता हराएकै हो ?

प्रेमनारायण भुसाल

घटना नम्बर एक 

काठमाडौंको बानेश्वरमा सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो टोलको खाली रहेको होस्टेलमा बस्न दिएको विरोधमा स्थानीयको भिडले आक्रमण प्रयास ग¥यो । टोलमा कोरोना फैलने आशङ्काले उनीहरु जसरी पनि स्वास्थ्यकर्मीलाई त्यस क्षेत्रबाट हटाउन लागिपरेका थिए । तनहुँको भानु नगरपालिकामा प्राविधिकलाई कोरोना पोजेटिभ नहुँदा पनि स्थानीयले दुव्र्यवहार गरे । उनलाई कोठामा बस्न नदिने तथा सामाजिक बहिष्कार समेत गर्ने काम भयो । कोभिडकै कारण मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार गर्नबाट रोक्न जनप्रतिनिधिकै नेतृत्वमा प्रतिरोधका घटना पोखरा, बुटवललगायतका क्षेत्रमा भए । चितवनमा चिकित्सकको आवासमा कोरोना सङ्क्रमितको घर भनेर पोस्टर टाँस्ने प्रयास गरेर स्वास्थ्यकर्मीलाई हतोत्साहित गरियो ।

घटना नम्बर दुई

गोङ्गबुमा टाउको र खुट्टा एउटा झोलामा तथा शरीरका अन्य भाग अर्को सुटकेसमा फेला परे । विभत्स किसिमले गरिएको कृष्णबहादुर बोहराको हत्यामा एक महिला र शव व्यवस्थापनमा किशोरीको समेत संलग्नता देखियो । हत्या गर्दा अपनाएको विधि तथा हत्यापश्चात् शवलाई टुक्राटुक्रा पार्ने काममा चरम क्रूरता देखाप¥यो । महिलाद्वारा घटित अकल्पनीय घटनाले सबैलाई झस्कायो ।

घटना नम्बर तीन

सिराहा जिल्लाको बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरीका जवान मनोहरकुमार यादव मृत अवस्थामा फेला परे । यही असार १६ गते उनको शव नहरमा फेला प¥यो । गाउँको विवाह कार्यक्रममा सहभागी भएका यादवलाई युवतीसँगको सम्बन्धका कारण केही युवाले तीन किलोमिटर जति टाढासम्म चोरको आरोप लगाई लखेट्दै लगेर पानीमा डुबाएर मारेका रहेछन् ।

घटना नम्बर चार

माडी नगरपालिका वडा नं ९ को वन क्षेत्रमा बसोबास गर्दै आएका लोपोन्मुख चेपाङ समुदायका सुकुम्बासी बस्तीमा वन कर्मचारीले आगजनी गरे । आगजनीका कारण उनीहरूको अन्नपात र नगद सम्पत्तिसमेत जल्यो । बाँकी रहेका घरटहराहरु पनि हात्ती लगाएर ध्वस्त पारिदिए । बाढी पहिरोको चपेटामा परेका सुकुम्बासीहरु गास न बासको अवस्थामा छट्पटाउँदै बसेका छन् ।

यतिमात्र होइन, जंगलमा च्याउ लगायतका खानेकुरा खोज्न गएका चेपाङ समुदायकै एक युवाले निकुञ्ज सुरक्षाकर्मीका कुटपिटबाट ज्यान गुमाए । गरिबीको चरम पीडामा रहेका लोपोन्मुख चेपाङहरु लगातारको वर्षा र बाढीका कारण पीडित त थिए नै त्यसैमाथि निकुञ्जका कर्मचारीको निर्दयी व्यवहारले गर्दा घरबाससमेत उजाड भयो भने रक्षकहरुले नै अत्याचार गर्दा आफ्ना एक सदस्य युवाको समेत ज्यान गयो । फलस्वरूप, उनीहरु कोरोना कहरका बेला मानव समुदायबाट झनै आतंकित बनेका छन् ।

घटना नम्बर पाँच
काठमाडौंको ताकेश्वर नगरपालिका–५ गोल्ढुंगामा केही दिनअघि राति घर फर्कने क्रममा होहल्ला गरेको भन्दै २४ वर्षीय छिरिङ तामाङलाई स्थानीयले निर्घात कुटपिट गरी हत्या गरे । राति अबेर रक्सी खाएर साथीसँग घर फर्कँदै गरेका तामाङले आफूहरुलाई बाटामा कुकुर भुकेका कारण कुकुरलाई गाली गरे ।  घरधनीले पनि राति राति हल्ला गर्दै हिँडेको भनी उनीहरुलाई गाली गरे । रक्सीको नसामा रहेका छिरिङले आफूलाई भुक्ने कुकुरलाई गाली गर्न नछाडेपछि घरधनीले गलत अस्त्र प्रयोग गरे । उनले चोर आयो भन्दै हल्ला गरे । टोलमा चोर आएको भन्ने हल्लाका कारण वास्तविकता नै नबुझी जम्मा भएका टोलबासीले निर्घात कुटपिट गर्दा उनको ज्यान गयो ।

घटना नम्बर छ

आफ्नी दिदीले र केही समय आफूले समेत काम गरेको गार्मेन्टका मालिकले युवतीलाई सँगै खाजा खान आग्रह गरे । उमेरले पनि धेरै अन्तर रहेको तथा मालिक स्वयम् पनि विवाहित भएकाले आफ्नो रुप र यौवनमा मालिकले लगाएको गिद्धेदृष्टिलाई युवतीले बुझ्न सकिनन् । सारै जिद्दी गरेपछि युवती आफूले दाजुसमान मानेका मालिकसँगै खाजा खान तयार भइन् । आफूसँग सँगै बस्न भन्दा नमानेको र अर्कै व्यक्तिसँग युवती नजिकिएको देखेर भित्रभित्रै ईष्र्याले जलेका मालिकले आफूभन्दा २६ वर्ष कान्छी युवतीलाई तेजाब प्रहार गर्न लगाए । तेजाबका कारण युवतीको अनुहार जलेको छ । अहिले उनको उपचार भइरहेको छ ।

यी केही दिनअगाडि सार्वजनिक भएका समाचार समाजमा भएका प्रतिनिधि घटना हुन् । चिनेजानेका र आफन्तबाट बलात्कृत हुनेहरुको कथा त झनै कहालीलाग्दो छ । अप्रत्यक्ष अपराधका रुपमा रहेका भ्रष्टाचार, घोटाला र ठगीका घटना पनि दिनानुदिन बढ्दै गएको तथ्याङ्कले देखाउँछ । यी र यस्तै घटनाले आधारभूत मानवीय मूल्यलाई समेत बिर्सेर समाज क्रूर र आततायी बन्दै गएको देखाउँछन् । यी घटनामा असहिष्णुता र अमानवीय व्यवहारका कारण व्यक्तिले ज्यान गुमाउनुपरेको तथा आपत् विपत्का बेलामा आफ्नो स्थानमा आश्रय लिने अवस्था समेत नरहेको देखिन्छ । आफूलाई रिस उठेपछि मानवीय धर्म नै बिर्सिएर चरम अत्याचार गर्न उत्साहित हुने प्रवृत्ति समाजमा बढिरहेको छ । धन सम्पत्तिलाई जीवनको सबैभन्दा ठूलो उपलब्धि मान्ने सोचका कारण मानवीय मूल्य, संस्कार तथा मानवका गहनाका रूपमा रहेका दया, माया र करुणा जस्ता गुणहरु समाजबाट लोप हुँदै गएका छन् । ‘‘परोपकार पुण्याय पापाय परपीडनम्’ भन्ने हाम्रो संस्कृति क्षीण हुँदै जाँदा समाज संवेदना र सहानुभूतिशून्य बन्न थालेको छ ।

भौतिक वस्तुको सम्पन्नतालाई नै जीवनको उपलब्धि मान्ने परिपाटीको विकासले समाजमा हत्या, हिंसामात्र होइन भ्रष्टाचार र बलात्कारजस्ता घटना पनि दिनहुँ बढ्दै गएका हुन् । धर्मगुरुहरु तथा दर्शनशास्त्रीहरु समाजबाट आध्यात्मिक चिन्तन हराउँदै गएकाले सामाजिक विकृतिहरुले प्रश्रय पाएको बताउँछन् भने समाजशास्त्रीहरू सहरीकरण, बसाइँसराइ, पश्चिमीकरण र व्यक्तिवादी सोचका कारण समाजमा असन्तुलन बढेको मान्छन् ।

मनोविज्ञानका दृष्टिबाट माथिका घटनालाई विश्लेषण गर्दा समाजको अर्थमुखी चरित्र, बालबालिकालाई दिइने शिक्षा र पारिवारिक संरचना कारक तत्त्वका रुपमा देखिन्छन् । असलभन्दा ठूलो मानिस बन्ने प्रेरणा दिने तथा हरेक कुरामा प्रतिस्पर्धी बन्न सिकाउने हाम्रो सामाजिक परिपाटीले बालबालिकालाई बेखुसी, असन्तोषी र ईष्र्यालुमात्र बनाएका छैनन् बिस्तारै तिनलाई अनैतिक र असामाजिक गतिविधिमा संलग्न हुनसमेत उक्साइरहेका छन् । शैशवावस्थाबाटै बालमस्तिष्कमा प्रतिस्पर्धी भावना भरिदिँदा उनीहरुमा ईष्र्या र गलत मार्गबाट सफल हुन प्रयास गर्ने बानीको विकास हुन्छ । आत्मानुशासन नभएका कारण व्यक्ति बाहिर अनुशासित र सहयोगीजस्तो देखिए पनि आन्तरिकरुपमा पशुवत् वृत्तिका कारण समयसमयमा आपराधिक र अमानवीय क्रियाकलापमा उसको संलग्नता देखिन्छ ।

सामाजिक मूल्य मान्यतामा यसरी नै स्खलन आइरहने हो भने समाजमा विश्वासको आधार नै भत्किने देखिन्छ । यसको प्रत्यक्ष प्रभाव हरेक सामाजिक प्रकार्यमा पर्नेछ । बालबालिकालाई हुर्काउने परिपाटी र समाजको संरचनामा रहेको आर्थिक पक्षलाई मानवीय संवेदनासँग जोड्न नसक्ने हो भने समाजका हरेक सदस्यले धनसम्पत्तिलाई मात्र महत्त्व दिनेछन् र आपसी सद्भाव, सहिष्णुता, सहयोग र सहकार्यजस्ता मानवीय मूल्यमा तात्त्विक प्रभाव पार्न सक्ने कुरा देखावटी विषय मात्र बन्नेछन् । अतः परम्परागत मूल्यको जगेर्ना गर्दै आधुनिक पद्धतिलाई आत्मसात गर्नु आजको आवश्यकता हो ।

स्वार्थ, असहिष्णुता र जाति, धर्म वा यस्तै कुनै पनि अन्धताका पछि लागेर समाजमा विखण्डन ल्याउने तत्त्वलाई बेलैमा निरुत्साहित गर्न नसके समाजको एकताको तन्तु टुक्रिन बेर लाग्ने छैन । शक्तिको उन्माद, अनैतिक सम्बन्ध, अर्थलोलुपता वा अभावको पीडा जुनसुकै कारणले अपराध घटित भए पनि त्यसको प्रत्यक्ष प्रभाव समाज र सामाजिक वातावरणमा पर्ने भएकाले समाजका सबै प्रबुद्ध व्यक्तिहरु यस विषयमा चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*