Home / समाचार / प्रहरीले जब नागरिक रोएको देख्न सकेन…

प्रहरीले जब नागरिक रोएको देख्न सकेन…

काठमाडौं । केही दिनअघि काठमाडौंको कलंकीमा औषधि लिएर आएको परिवारमाथि प्रहरीले गरेको लाठी प्रहारको चौतर्फी आलोचना भयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट ड्युटी सकेर कोठामा फर्किँदै गरेका चिकित्सकमाथि लाठी प्रहार गर्ने डीएसपीलाई विभागीय कारवाही नै भयो ।

त्यतिमात्रै होइन, बिरामी लिएर गएको मोटरसाइकललाई घण्टौँ उभ्याइदिने, तरकारीसहित अत्यावश्यक सामग्री किन्न हिँडेका नागरिकमाथि लाठी प्रहार गर्ने गरेको भन्दै अहिले नेपाल प्रहरी चौतर्फी आलोचनाको पात्र बनेको छ ।

‘प्रहरीको दमन’, ‘प्रहरीद्वारा लाठी प्रहार’ । कारोनाभाइरसको सम्भावित जोखम कम गर्न सरकारले आह्वान गरेको लकडाउनका अवधिमा लेखिएका समाचार शीर्षक हुन्, यी ।

‘प्रहरी मेरो साथी’ ‘मुस्कानसहितको सेवा’ जस्ता नारा सामाजिक सञ्जालमा मजाकको विषय बन्छ । सुरक्षा दिने क्रममा बदनाम बनेको छ, प्रहरी संगठन ।

तर कतिपय प्रहरीले भने त्यसविपरीत लकडाउनमै अप्ठेरोमा परेका मजदुरको उद्धार पनि गरेका छन् ।

डेढ साताअघि सतुंगलमा एक प्रहरी हवल्दारले अण्डा बोक्ने गाडी रोकेर हिँडेरै घर जान ठीक्क परेका सर्वसाधारणलाई पठाइदिएका थिए । आइतबार पनि थानकोटस्थित त्रिभुवन पार्कमा राखिएका एक सयभन्दा बढी नेपालीलाई गन्तव्यको नजिकतर्फ त्यसरी नै पठाइदिए ।
पार्कमा दिनभरी सुरक्षा दिएपछि प्रहरीले उनीहरुलाई राजधानी बन्क गरायो ।

त्यहाँका जनप्रतिनिधिले शनिबार पैदल यात्रीलाई गाडीमा हालेका समाचार फिँजिएपछि आइतबार करिब ३ सय सर्वसाधारण त्रिभुवन पार्क पुगेका थिए । त्यहाँ खान तथा बस्नको राम्रो प्रबन्ध थियो । त्यहाँका जनप्रतिनिधिको अगुवाइमा सो काम भएको थियो ।

तर, ती जनप्रतिनिधिले पार्कमा आएका सर्वसाधारणलाई पठाउन सकेनन् । आइतबार रात छिप्पिँदै थियो ।

आइतबार दिउँसो पार्कमा देखिएका आम सर्वसाधारणको कारुणीक दृष्यलाई मैले रिपोर्टर डायरीमा उतार्ने प्रयास गरेको थिएँ ।

साथमा बालबच्चा बोकेर हिँडेरै भए पनि जान्छौं भन्ने दृष्य प्रहरीहरुले टुलुटुलु हेर्न सकेन ।

राजधानीका विभिन्न स्थानमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने आम नागरिकलाई गन्तव्यसम्म पु¥याउनु उनीहरुले आफ्नो धर्म ठाने । मानवताको भएको हैसियतले सहयोग गरे । एउटा नेपालीको पिडा अर्कोले बुझ्यो ।

कोरोना जोखिम कम गर्न जोजो जहाँ छन् त्यहीँ त्यही बस्नू भन्ने सरकारको आदेश सिद्धान्तमा राम्रो देखिए पनि व्यवहारमा एउटा प्रहरी कर्मचारीलाई ठीक नलागेको हुनुपर्छ ।

त्यसैले मध्येरातिसम्म उनीहरुले अप्ठेरोमा परेका नागरिकलाई काठमाडौंमा सामान लिएर आएका सवारीसाधनमै भए पनि पठाइदिएका थिए ।

उनीहरुले सञ्चारमाध्यमलाई तस्बिर नलिन आग्रह गरेका थिए ।

प्रहरीका एक उच्च अधिकारी त्यहाँ थिए । मैले फ्ल्यासलाइट बाल्दै फोटो खिचेको देखेर एक प्रहरीले मलाई फोटो नखिच्न आग्रह गरे । उनले भने, “हाकिमहरु आउनु भएको छ । एकैछिन रोकिदिनोस् । हामीले पनि जवाफ दिनुपर्छ ।”

त्रिभुवन पार्कको अगाडि रहेका ४२ जनालाई ना ६ ख ९१५५ नम्बरको ट्रकमा हालेर प्रहरीले गन्तव्यसम्म पठाइदिएको थियो । त्रिभुवन पार्कमा यो दृष्य देख्नु केही समयअघि मात्रै चेकपोष्ट प्रहरी चौकीको केही मिटर परबाट ६२ जना ना ६ ख ३४२८ नम्बरको ट्रकमा चढेर तुलसीपुर गएका थिए । ट्रकमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुग्ने मजदुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*