तुलसीपुर, २४ कार्तिक
एकाविहानै तुलसीपुर वजारमा हातमा प्लेकार्ड वोकेका विद्यार्थीहरुको जुलुस देखियो । उनीहरुले भारतले भर्खरै सार्वजनिक गरेको नक्सा सच्याउनका लागि आग्रह गरिएका प्लेकार्ड वोकेका थिए ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समावेश गरेपछि त्यसको विरोधमा विद्यार्थीहरुले र्याली निकालेका हुन् ।
नेपालको सीमा मिचेको भन्दै तुलसीपुरमा रहेको ज्ञानदिप कलेज अध्ययनरत विद्यार्थीले भारत विरुद्ध र्याली निकालेका छन् । कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले सीमा फिर्ताको माग गर्दै वजार परिक्रमा गरेर कार्यक्रम गरेका छन् ।
मातृभुमीको रक्षाका लागि नेताहरुलाई खुट्टा कमाउन नहुने भन्दै उनीहरुले देशको सीमा रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका थिए । करिव ३ सयको संख्यामा रहेका कलेजका विद्यार्थीहरुले मातृभुमी रक्षाका लागि कार्यक्रमको आयोजना गरेको वताए ।
कार्यक्रममा विद्यार्थीहरु हेमन्त वली, तेजकुमार डाँगी , प्रकाश वली, पार्वती शर्मा लगायतले नेपाली भूमि लिपुलेक र कालापानी समेतलाई आफ्नो सीमाभित्र पारिएको राजनीतिक नक्सा भारतले तत्काल सच्याउनुपर्ने वताए ।
उनीहरुले ऐतिहासिक प्रमाण मेटेर नेपालको भूमि आफ्नो भन्नु भारतको हेपाहा प्रवृत्ति भएको वताउँदै त्यसका विरुद्ध सबै एक जुट भएर लाग्नुपर्ने कुरामा जोडल दिए ।
‘लिम्पियाधुरा, कालापानी, लिपुलेख हाम्रै हो, भारतीय हस्तक्षेप बन्द गर, नेपाल सरकारले तुरुन्तै कूटनीतिक वार्ता थाल, दलहरु सचेत होऊ’ भन्ने लगायतका नारा लगाउँदै विद्यार्थीहरुले तुलसीपुर वजार परिक्रमा गरेका थिए ।