Home / Feature Breaking news / अलपत्र नमूना थारुग्राम

अलपत्र नमूना थारुग्राम

लिलाधर वली
दाङ,१२ असोज। थारु जातिले बसोबास गर्ने घरसँगै कला र सस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिव ११ बर्ष पहिले स्थापना भएको सिसहनिया नमूना थारुग्राम अलपत्र अवस्थामा रहेको छ । आर्थिक अभावसँगै नमूना थारुग्राम सञ्चालनका लागि नयाँ पुस्तामा ज्ञान नहुँदा २०६५ सालमा स्थापना सञ्चालनमा आएको नमूना थारुग्राम बन्द हुन पुगेको हो । जसका कारण सरकारले लाखौँ रुपैया खर्च गरेर निर्माण गरेका संरचनाहरु प्रयोग विहिन हुन पुगेका हुन ।

थारु जातिको परम्परागत घरहरु, उनीहरुले प्रयोग गर्ने भाडाकुडा, लगाउने कपडा, बोलिने भाषा , बसाईसराई झल्काउने चित्रहरुसँगै अन्य विभिन्न कला र सस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०६५ सालमा तत्कालिन जिल्ला विकास समिति अन्तर्गतको पर्यटन शाखाले तीन लाख १५ हजार रुपैया खर्च गरेर घोराही उपमहानगरपालिका वडा नं. ७ सिसहनियामा थारु जातिका परम्परागत पाँच वटा घरहरु निर्माण गरेको थियो । घर निर्माणसँगै भित्तामा थारु जातिसँग सम्वन्धीत विभिन्न चित्रहरु समेत बनाइएको छ । घरमा भित्तामा घोडा, हात्ति, माछाहरुको चित्रहरु,थारुले सिखर बोकेका चित्रहरुसँगै घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्रीहरु राखिएको सिसहनिया नमूना थारुग्रामकाक अध्यक्ष बेझलाल चौधरीले जानकारी दिए ।

sisaniya

उनका अनुसार उक्त स्थानमा धान कुट्नलाई प्रयोग गरिने ढिकी, चाखीसँगै तेल पेल्नलाई प्रयोग गरिने कोल समेत स्थापना गरिएको छ । ‘थारु जातिका परम्परागत पाँच वटा घरहरु बनाएर करिव चार विगाह जमीनलाई नमूना थारुग्रामका रुपमा विकास गर्ने प्रयास गरिएको थियो’, अध्यक्ष चौधरीले भने,‘तर होमस्टे सञ्चालनको ज्ञानको अभावसँगै राज्यले सहयोग नगर्दा अघि बढ्न सकेन ।’ होमस्टे अघि बढ्न नसक्दा त्यो बेला बनाएका घरहरु मात्र रहेका छन ।

स्थापनासँगै केही समय त्यहाँ पुग्ने पाहुनाहरुलाई थारु खाना,रितिरिवाजका बारेमा जानकारी दिनेसँगै मनोरञ्जनकालागि नृत्य समेत देखाईने गरेको अध्यक्ष चौधरीले बताए । उनका अनुसार उक्त ठाउँमा त्यहाँ पुग्ने पाहुनालाई बस्न र सुत्नकालागि समेत व्यवस्था गरिएको थियो । नूमना थारुग्रामलाई विकास गर्दै उक्त स्थानमा थारु संग्रालह स्थापना गरिने, ग्रीनपार्कलगायतकाक संरचनाहरु निर्माण गर्ने भनिए पनि अहिलेसम्म निर्माण हुन नसकेको बताए ।

ghar
‘बाहिरबाट आउने पाउनाहरुलाई थारु जातिहरुको इतिहास,सस्कृति र रितिरिवाजका बारेमा जानकारी दिने उद्देश्यले घरहरु निर्माण गरिएका हुन’,थारु कल्याणकारीणीसभा दाङका अध्यक्ष भुवन चौधरीले भने,‘नमूना थारुग्राम सञ्चालनकालागि राज्यले स्थानीयलाई ज्ञान दिन नसक्दा नमूना थारुग्राम अघि बढ्न सकेन ।’ थारुग्राम सञ्चालनकालागि स्थानीयलाई त्यस सम्वन्धी ज्ञानसँगै यसक्षेत्रको प्रचारप्रसार हुन आवश्यक रहेको अध्यक्ष भुवन चौधरीले बताए ।

नमूना थारुग्राम सञ्चालनकालागि उपमहानगरपालिकाले सहयोग गर्ने घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताएका छन । थारू समुदायको इतिहास र सस्कृतिको संरक्षणसँगै होमस्टेलाई सञ्चालन गर्न सके आयआर्जनमाम समेत सहयोग पुग्ने भएकाले नमूना थारुग्राम सञ्चालन हुनुपर्र्ने समेत चौधरीले बताए । ‘ नमूना थारुग्रामलाई थारु जातिको कला र सस्कृति संरक्षणसँगै आयआर्जन गर्ने माध्यमका रुपमा विकास गर्न आवश्यक छ’,उनले भने,‘जसले गर्दा कला सस्कृतिको संरक्षणसँगै स्थानीयलाई केही आम्दानी समेत हुन सकोस ।’ नमूना थारूग्राम सञ्चालन, विकास र संरक्षणका लागि नयाँ पुस्ता लाग्न आवश्यक रहेको छ । नमूना थारुग्राम सञ्चालनकालागि स्थानीय अग्रसर भए घोराही उपमहानगरपालिकाले ज्ञान र सिप प्रदानमा सहयो गर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*