Home / Feature Breaking news / कांग्रेस जागरण अभियानसँगको अपेक्षा

कांग्रेस जागरण अभियानसँगको अपेक्षा

विपुल पोख्रेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर जागरण अभियान सुरु गरेको छ । प्रतिपक्षी भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको आलोचना खेपिरहेको कांग्रेसको जागरण अभियानले आफंैलाई जागृत गर्न सक्छ कि सक्दैन भनेर सबैतिरबाट चासोसाथ हेरिएको छ ।

सम्पादकहरुसँगको एउटा अनौपचारिक छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘इमानदारीका साथ भन्नुपर्दा हामीसँग प्रतिपक्षी हुनुको अनुभव नै छैन, तपाईंहरुले नै सिकाउनुपर्छ ।’

त्यस्तै, अर्को छलफलमा वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘कांग्रेसले सबै मुद्दामा ‘मोरल्ली’ (नैतिक रुपमा) र ‘ओरल्ली’ (वाकपटुतासाथ) कम्युनिस्ट सरकारका गतिविधिको प्रतिवाद गर्नुपर्ने बेला आएको छ ।’

नेपालको सन्दर्भमा संसदीय पद्धतिको बलियो पक्षधर मानिने कांग्रेसले संसद्मा प्रतिपक्षको भूमिकाबारे अनभिज्ञता प्रकट गर्न मिल्दैन । बरु प्रतिपक्ष कस्तो हुनुपर्दो रहेछ भनेर संसदभित्र प्रतिपक्षीय संस्कार स्थापित गर्न सक्नुपर्ने हो ।

नेपालको संसदीय इतिहास हेर्दा विगतमा प्रतिपक्ष ज्यादै नै असहिष्णु, उग्र र अराजकता भएर प्रस्तुत भएका छन् । यसबारे धेरै बहस भए ।

संसदीय पद्धतिको वकालत गर्ने शक्ति विपक्षीमा रहेको समयमा अब प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सन्देश दिन सक्ने गरी कांग्रेस आफैंमा जागृत हुन जरुरी छ । सभापति देउवाले भनेझैं अनुभवको अभाव छ । तर, पद्धतिप्रतिको समर्पण भावबाट आफूलाई अगाडि बढाउन अनुभवको कमीले छेक्न सक्दैन र छेक्नु पनि हुँदैन ।

कांग्रेसभित्र अर्को समस्या छ । लामो समयसम्म सत्तामा बसेका कारण कतिपय गलत प्रकरणमा उसलाई मुछ्ने गरिन्छ । तर, कांग्रेसले त्यसको प्रतिवाद गर्न सकिरहेको छैन । वरिष्ठ नेता पौडेलले भनेझंै यही कारण मोरल्ली ९नैतिक रुपमा० आफूलाई प्रस्तुत गर्न कांग्रेसका कार्यकर्ता सकिरहेका छैनन् ।

प्रकरणमा पार्टी मुछिँदैन, व्यक्ति मुछिन्छन् भनेर स्पष्ट पार्ने, अनावश्यक आक्षेप लागेको भए त्यसको चिरफार गर्ने र न्यायिक निरूपणका लागि भएका प्रयासबारे कार्यकर्तालाई जानकार गराउने सन्दर्भमा अभियान कति सफल हुन्छ, हेर्न बाँकी छ ।

त्यस्तै, कांग्रेस कार्यकर्तामा वाकपटुताको कमी छ र उनीहरुलाई हरेक ठाउँमा प्रतिवाद गर्न सक्ने बनाउन र इच्छाशक्ति भर्न अभियान सार्थक होला रु

यस्ता समस्याबाट मुक्त नहोउन्जेल रचनात्मक प्रतिपक्षीय भूमिका, रक्षात्मक कार्यकर्ता निर्माण र आक्रामक संगठन निर्माण अभियान थालनी गर्नसमेत कांग्रेसलाई समस्या हुनेछ ।

नेतृत्वले जानअन्जान सिर्जना गरेका अन्य समस्या पनि छन् । गुट व्यवस्थापनमा कांग्रेस उँधो गतिमा छ । प्रतिपस्र्धी आफूभित्रै देख्नु त्यति धेरै अन्यथा नहोला । तर, आफ्नो प्रतिपक्षसमेत कांग्रेस नेतृत्वले आफूभित्र नै देख्ने गर्दछ । यस्तो आत्मघाती संस्कृतिले गाझिँदै गरेको पार्टीलाई यो जागरण अभियानले कसरी पार लगाउँला रु यो पनि चासोको विषय हो ।

समसामयिक घटनाप्रति कार्यकर्तालाई जानकारी दिने र ती घटनाक्रमका सन्दर्भमा सकेसम्म साझा धारणा बनाउने संस्कार कांग्रेसमा बसाउन आवश्यक देखिन्छ । अध्ययन तथा छलफल गर्ने बानी बस्यो भने यस्तो साझा धारणा निर्माण हुने हो ।

त्यसैगरी, जनतासँगको सिधा सम्पर्क स्थापित गर्ने सवालमा पनि कांग्रेस चुक्दै आएको छ । जनताका प्राथमिक आवश्यकताको सूची बनाउने, त्यसको कार्यान्वयनका लागि दबाब समूह निर्माण गर्ने र कार्यान्वयनका लागि अधिकतम दबाब दिन कांग्रेसले जागरण अभियानमार्फत कार्यकर्तालाई प्रशिक्षित गरी प्रतिबद्ध बनाउनैपर्ने देखिन्छ ।

त्यस्तै, कांग्रेसले तिनै तहका सरकारका अधिकार क्षेत्र र क्रियाकलापबारे जनतालाई सुसूचित गराउनुपर्छ । भ्रातृ संस्थालाई यस काममा खटाउनुपर्छ । भ्रातृ संस्था र जनताबीच सुमधुर सम्बन्ध नभए जागरण अभियान असफल हुनेछ ।

कांग्रेस कार्यकर्तामा केही खराबी छन् । ती खराबीबाट बीपी कोइरालासमेत आजित थिए । सर्वप्रथम ती खराबीको सूची निर्माण गर्नुपर्छ । यसलाई निर्मूल पार्न योजनाबद्ध कदम चाल्नुपर्छ । यसपछि मात्र अभियान सफल हुन्छ, कांग्रेस झन् बलियो पनि हुन्छ ।

बीपी कोइरालाले औंल्याएका कार्यकर्ताका ७ खरावबी यस्ता छन्–

१> सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वास सिर्जना ग¥यो । अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन । तर, अनेक कारणले त्यसो हुन सकेन । फलस्वरूप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ । यसलाई हामीले हटाउनुपरेको छ ।

२> हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौैं । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याको हल खोज्दछौं । तसर्थ, हाम्रा धेरैजसो निर्णय व्यक्तिगत चाहना वा रुचि वा अरुचिका छाया मात्र हुन जान्छन् । यसलाई हामीले हटाउनुपरेको छ ।

३> हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्व बोध कम छ । यद्यपि, जिम्मेवारी वहनबारे हाम्रो चाख भने कम छैन ।

४> हामी जनतामा बढ्ता भिज्दैनौं । र, जनता र हामीबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो ।

५> हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्तालाई अर्कै तहको ठान्छौंै । जनता र पार्टीकै कार्यकर्ताबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ ।

६> साथीहरूमा अध्ययन गर्ने बानीको कमी छ । हामीले बितेका घटनाको प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनुपर्दछ । हामी त्यसो गर्दैनौ। उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनुपरेको छ ।

७> साथीहरूमा उत्कर्ष र संकट दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्त्व हुन् । र, सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरी विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता बाधक मात्र हुन्छ ।

एउटा अर्को थरीको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ । ९उल्लिखित खराबीहरु बीपीले आफ्ना एक कार्यकर्तालाई लेखेको पत्रबाट लिइएको हो ।०

यस्ता खराबी पहिचान गर्दै बलियो कांग्रेस निर्माणका लागि जागरण अभियानलाई सफल बनाउने अथवा नबनाउने कांग्रेसकै हातमा छ । तर, सत्तापक्ष असहिष्णु र दम्भले भरिँदै मनोमानीको बाटोमा हिँड्दै गर्दा बलियो र सुव्यवस्थित प्रतिपक्ष देशलाई चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*