Home / Feature Breaking news / एक वर्षमा ५ सय ४० जनामा कडा रोगः क्यान्सर र मुटुरोग धेरै

एक वर्षमा ५ सय ४० जनामा कडा रोगः क्यान्सर र मुटुरोग धेरै

बिमला घर्ती
घोराही, १५ साउन
दाङमा ‘कडा’ रोगका विरामीको संख्या अत्याधिक देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा ‘कडा’ रोगको उपचारका लागि सिफारिस लिन आउनेहरुको तथ्याङ्कका आधारमा बिरामीको संख्या बढ्दो देखिएको हो ।

बितेको एक वर्षको अवधीमा कार्यालयवाट पाँच सय बढीले उपचारमा छुटका लागि सिफारिस लगेका छन् । कार्यालयका प्रशासन शाखा अधिकृत मिनराज पाण्डेयले आर्थिक बर्ष २०७४÷०७५ मा पाँच सय ४० जना ‘कडा’ रोगका बिरामीले उपचारमा छुटका लागि सिफारिस लगेको जानकारी दिनुभयो ।

उपचारमा सहयोगका लागि भनेर अहिले सरकारले विभिन्न नौ वटा रोगहरुलाई  सहयोगको घोषणा गरेको छ । जसमा मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया, ब्रेन ट्युमर पर्छन् ।

जसको उपचार सरकारी अस्पतालमा गर्दा उपचारमा छुट गर्ने व्यवस्था रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रशासन शाखा अधिकृत पाण्डेका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने मनसाय राखेर नेपाल सरकार स्वास्थ्य सेवा विभागले उपचारमा छुट सुविधा दिने व्यवस्था गरेको हो । यी रोग लागेका बिरामीहरुलाई सरकारी अस्पतालमा एक लाख रुपैँया सम्म छुट दिने गरिएको छ ।

उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी क्यान्सर रोगका बिरामीको संख्या बढ्दो देखिएको छ । एक बर्षको समयमा ९२ जना पुरुष तथा एक सय आठ जना महिला गरी दुई सय जना क्यान्सर रोगका बिरामीले उपचारका लागि छुट पाएका छन् ।

क्यान्सर रोगपछि मुटुरोगका बिरामीहरुको संख्या धेरै भएको देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भर्खर सकिएको आर्थिक बर्षभरी एक सय ३८ जना मुटु रोगका बिरामीले छुट सिफारिस लगेका छन् । जसमा महिलाको संख्या ६० र पुरुषको संख्या ७८ रहेको तथ्याङ्क छ ।

यसैगरी अल्जाइमर एक जना पुरुष, थालेसिमिया एक जना पुरुष, ब्रेन ट्युमर पाँच जना पुरुष चार जना महिला गरी नौ जना, मृगौला ६१ पुरुष र ३७ महिला गरी ९८ जना, सिकलसेल ३६ पुरुष ३३ महिला गरी ६९ जना, इस्पाइनल इन्जुरी ११ जना, हेड इन्जुरी १३ जना ‘कडा’ रोगका बिरामीले उपचारमा छुट सिफारिस प्राप्त गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समयमा ‘कडा’ रोगका बिरामीको संख्या अत्याधिक बढ्दो रहेका छन् ।

सरकारले बिशेष गरी विपन्न वर्गका मानिसका लागि निःशुल्क उपचार गर्ने अवधारणा ल्याएको हो । यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने शाखा अधिकृत पाण्डेयको भनाई छ । न्युन आयस्रोत भएका व्यक्तिका आधारमा विपन्न वर्ग भए नभएको तय गरिनेछ । उपचारमा छुटका लागि अनिवार्य ‘विपन्न वर्ग’ भएको, स्थानीयतह (वडा कार्यालयवाट) सिफारिस लिई जिल्ला जनस्वास्थ्य कार्यालयमा ‘विपन्न भएकाले आर्थिक सहयोग पाउँ’ भनी निवेदन दिनुपर्ने छ ।

सोही सिफारिसका आधार विपन्न वर्गका लागि बनाइएको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठीत समितिले उक्त रोगको निदानका लागि कागज बनाइदिन्छ ।

त्यसका लागि व्यक्तिले निवेदनसहित फोटो, नागरिकताको फोटो कपी, चिकित्सकले दिएको रिपोर्ट तथा प्राप्त सिफारिस पत्र जनस्वाथ्य कार्यालयमा पेश गर्नुपर्ने तथा उक्त पत्रकै आधामा ‘उक्त व्यक्ति विपन्न वर्गको हो’ भनेर प्रमाणित गरेपछि उपचारका लागि सम्बन्धित अस्पताललाई सिफारिस गरिने कार्यालयले बताएको छ ।

सिफारिसका लागि व्यक्तिले आफ्नो पाएक पर्ने अस्पतालको नामसहित उपचार लिन चाहेको रोगको विवरण खुलाउनुपर्ने जनस्वास्थ्य कार्यालयको भनाई छ । त्यसकै आधारमा बैठकले माइनुटिङ गरी सम्बन्धि अस्पताललाई पत्र लेख्ने अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

त्यसरी पत्र लेख्दा विरामीले सिधै सो अस्पतालबाट तोकिएको रकम बराबरको सेवा लिन सक्नेपनि उहाँले जानकारी दिनुभयो । सरकारले निःशुल्क घोषणा गरेको रोगको उपचारका लागि सरकारी अस्पतालहरु समेत तोकिएको छ ।

जस अन्तरर्गत क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जाउलाखेल, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, भरतपुर क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल काठमाडौमा तोकिएको छ ।

यस्तै ंप्रसुति गृह, (महिलालाई हुने क्यान्सर रोग सम्बन्धि उपचारका लागि) वीर अस्पताल काठमाडौं, त्रि.वि.वि टिचिङ अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुर, वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारका गरिने छ ।

मिर्गौला रोगको उपचारका लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौ,ं त्रि.वि.वि टिचिङ अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुरलाई तोकिएको छ ।

मुटु रोगको उपचारका लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौं, त्रि.वि.वि टिचिङ अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुर, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, मनमोहन कार्डियाक अस्पताल काठमाडौमा तोकिएको छ ।

सिकलसेल रोगको उपचारका लागि भने राप्ती उपक्षेत्रिय अस्पताल घोराही, नवलपरासी जिल्ला अस्पताल बुटवल अञ्चल अस्पताल बुटवल, कपिलबस्तु अञ्चल अस्पताल भेरी अञ्चल अस्पताल बाँके, धनगढी अञ्चल अस्पताल कैलाली, गुलरिया जिल्ला अस्पताल वर्दिया, महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई सरकारले उपचारका लागि तोकिएको छ ।

यसैगरी हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्या) वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौं, त्रि.वि.वि टिचिङ अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुरमा तोकेको छ ।

पार्किन्सन्स, अल्जाइमर वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौं, त्रि.वि.वि टिचिङ अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुरमा तोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*