Home / Feature Breaking news / समृद्धि पस्किँदै गढवा पुस्तकालय

समृद्धि पस्किँदै गढवा पुस्तकालय

खेमराज रिजाल
गढवा(दाङ) जेठ । शून्य आवाजको वातावरणबीच करिव एक दर्जन युवा तथा वयोबृद्धका हातमा विभिन्न भाषा र सर्जकहरुका कृतिहरु छन्, कसैले पुस्तकलाई टेबलमा आडेस लगाएका छन् । पुस्तकालयको पठनकक्ष करिव–करिब भरिभराउ जस्तो देखिए पनि अझै केही व्यक्ति अटाउने स्थान सुरक्षित नै छ । अर्को कोठामा युवाहरुका हातका आंैलाहरु कम्प्यूटरको की–बोर्डमा घुमिरहेका छन् । भर्खरै सिक्दै छन् जस्तो भान हुन्थ्यो, किनकि कम्प्यूटरका की–बोर्डमा ती युवाहरुले एउटा औंलालाई मात्र बढी सक्रिय बनाएका देखिन्थे । शुक्रवार अलि ढिलो भएर होला श्रव्यदृश्य कक्ष भने खाली । पुस्तकालय भवनको तल्लो तलाका सटरहरु व्यावसायिक प्रयोजनका लागि भाडामा गएका रहेछन् । त्यसैको आम्दानीले चार कर्मचारीको मासिक रोजीरोटी पनि चलिरहेको छ ।
जेठ महिनाको चर्को गर्मी छल्न कोठामा सिलिङ फ्यान चलिरहे पनि उमिता कुमालको शरीर पसिन्यौल देखिन्छ, गर्मीले भन्दा पनि कम्प्यूटरमा टाइप सिक्दाको थकानले । ‘भर्खरै शुरु गरेकी हूँ, त्यसैले टाइप गर्दा हात सहिनसक्नुगरी दुख्छ, त्यसैले पसिना आएको होला’—उमिताले भनिन्– ‘पछि त जानेपछि बानी पर्ला नि ।’ बेसिक कम्प्यूटर कोर्श सिक्दै गरेका नारायण न्यौपानेको अवस्था पनि त्यस्तै छ । शरीरमा पसिना आए पनि उनको मनमस्तिष्क भने शीतलो भएको छ । सातादिनमै उनीहरुले की–बोर्ड नहेरी केही वाक्य टाइप गर्नसक्ने भएका छन् रे । नारायण र उमिता प्रतिनिधिपात्र मात्र हुन्, उनीहरुजस्तै ३५ जनाले अहिले तीन महिने वेसिक कोर्श सिकिरहेका छन्, निशुल्क । देउखुरीको गढवामा केही वर्ष अघि सञ्चालनमा आएको सामुदायिक पुस्तकालयको परिदृश्य हो, यो ।

‘यो लटका प्रशिक्षार्थी सबै जाँगरिला छन्, बहुत मिहिनेत गरी सिक्दै छन्, हामी लक्षित समयमा लक्षित सिकाइमा सफल हुनेमा विश्वस्त छौं’—पुस्तकालयकी कम्प्यूटर प्रशिक्षिका शान्ति चौधरी भन्छिन् । उनको भनाईमा शनिवार त पाँचै सिफ्ट हाउसफुल हुन्छ । एक सिफ्टमा ७ जनाले सिक्ने गरेका छन् । फुर्सदमा उनीहरुले फ्री वाइफाई जोनको पनि भरपुर मजा लिन्छन् । भाइवर कलको सुविधा उपयोग गर्छन् । ‘सबैले आफ्नो पर्शनल एकाउण्ट खोलिसकेका छन्’– शान्ति भन्छिन्– ‘सूचना प्रविधिको पहुँचलाई घर–घरमा विस्तार गर्न पुस्तकालयले चाहेको छ ।

पुस्तकालयले मासिक सञ्चालन खर्चका लागि कम्प्यूटर डिप्लोमाका लागि भने बजारको भाउभन्दा आधा छुटमा सिकाउँदै आएको छ । अन्त तीन महिनाको ६ हजार पर्छ भने सामुदायिक पुस्तकालयमा मात्रै तीन हजार । त्यसपछि त शिकेकाहरुले जहाँ काम पाउँछन्, त्यहाँ आवश्यकता अनुसार थप कोर्श सिक्न सजिलो पर्ने पुस्तकालयको अनुमान छ ।
पुस्तकालयको परिदृश्य पनि ‘पिन–ड्रप’ साइलेण्टको अवस्थामा । पुस्तकालय छिर्नेबित्तिकै सबैले आफूले चाहेको पुस्तक आफै खोज्छन्, नपाए लाइव्रेरियनको सहयोगमा पुस्तक उपलब्ध गराइँदै आएको छ । ‘सूचना प्रविधिले पठन संस्कृतिलाई कमजोर बनाउँदै लगेको अवस्थामा पुस्तकालय पठन संस्कृतिको विकासका लागि कोशेढुङ्गा सावित भएको छ’—स्थानीय समाजसेवी तथा वयोबृद्ध उमाकान्त पन्त भन्छन्, पुस्तकालय अध्ययताहरुका लागि साझा चौतारो बनेको छ ।

पुस्तकालयमा करिब ७ हजार पुस्तकहरु रहेका छन् । नियमित सदस्य बनेकाहरुले घरमा लगेर पनि तोकिएको समयभित्र फिर्ता गर्ने शर्तमा अध्ययन गरिरहेका छन् । जिल्लाकै सबैभन्दा ठूलो सामुदायिक पुस्तकालय हो, देउखुरी सामुदायिक पुस्तकालय । पुस्तकालयमा सबै विधाका पुस्तकहरु उपलब्ध छन् । धार्मिक पुस्तकहरुमा महाभारत, कुरान र बाइबलदेखि लिएर प्राचीन सभ्यताका रचनाहरु समेत पुस्तकालयमा राखिएका छन् । भिजिटर्स रजिष्ट्ररमा नाम दर्ता गराएपछि चाहेको पुस्तक खोज्न पुस्तकालयमा कर्मचारीहरुले समेत सघाउँछन् । ‘पुस्तकालयलाई समयानुकूल गतिशील बनाउन, समय सान्दर्भिक प्रकाशित भएका नयाँ–नयाँ पुस्तकहरु समेत थप्ने गरेका छौं’—पुस्तकालय व्यवस्थापन समितिका सचिव शिवराज पन्थी भन्छन्– ‘कतिपय सामग्रीहरु ई–लाइब्रेरीमा समेत हेर्न, पढ्न सकिन्छ । यसरी समृद्धि पस्किरहेको छ, देउखुरी सामुदायिक पुस्तकालय गढवा ।’

पछिल्लो समयमा पठन संस्कृति हराउँदै गएपछि देउखुरीका साहित्यप्रेमीहरुको पहलमा पुस्तकालय स्थापना भएको हो । स्थानीयवासीले ४५ लाख रुपैया जुटाए, बाँकी एक करोड २० लाख रुपैयाँ रिड नेपाल संस्थाले उपलब्ध गरायो अनि सम्भव भयो गढवा पुस्तकालय’—पुस्तकालय सञ्चालनका अभियन्ता तथा साहित्यप्रेमी हरिप्रसाद पोख्रोल भन्छन्– ‘पुस्तकालयलाई समयानुकूल थप व्यवस्थित गरी क्षमता समेत बृद्धि गर्ने सोचमा छौं ।’ साथै पुस्तकालयले कसैले प्रयोगविहीन अवस्थामा पुस्तकहरु घरमा थन्क्याएको भए त्यस्ता पुस्तकहरु पुस्तकालयमा उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*