रोशन घर्ती
के पहिलो भेटमा नै प्रेम हुन सम्भव छ ? कहिलेकाहीं हुँदोरहेछ । मलाई भएको थियो । मैले उनलाई पहिलो पटक देख्नेवित्तिकै मेरो मनमा अनौठो तरंग उत्पन्न भएको थियो । मलाइ कस्तो महशुस भएको थियो भनेर म शब्दमा वर्णन गर्न सक्दैन । मलाई यत्तिमात्र थाहा छ कि उनलाई देखेपछि उनको अनुहारबाट नजर हटाउन मन लागेको थिएन । मुटु तेजसँग धड्किएको थियो ।
भर्खरै कक्षा १२ को परीक्षा सकिएको थियो । म फुर्सदिलो भएको थिएँ । तर मेरा बुबालाई म बरालिएर हिडेको मन परेन अनि मलाई बुबाको कपडा पसलमा बस्ने आदेश भयो।, उहाँबाट ।
मलाई पसलको जिम्मा दिएपछि बुबा आफू भने बजारका अरु पसलेहरुसँग गफ गर्न जानुहुन्थ्यो, दिनभर जसो ।
पसल रुँगेर बसिराखेको थिएँ, ग्राहकहरु खासै आएका थिएनन्, त्यो दिन । दिनको १२ बजेतिर पसलको अगाडि एउटा स्कुटर रोकियो । स्कुटरको स्टेण्ड लगाएपछि टाउकोको हेल्मेट खुल्यो ।
लामो स्टेट गरेको कपाल हावाले थोरै छरियो । एउटा हातले कपाललाई सम्हाल्दै उनले कान पछाडि लगेर अड्याइन् अनि पसलपट्टि फर्किइन् ।
आहा..! क्या सुन्दर अनुहार । यति सुन्दर अनुहार त घोराही बजारमा होलान् भनेर मैले कल्पना पनि गरेको थिइन ।
अरुका नजरमा उनको भन्दा सुन्दर अनुहार थिए होलान्, तर मेरो नजरमा भने उनको अनुहार नै मैले देखेजतिमा सबैभन्दा सुन्दर थियो । मेरा नजर उनीबाट हट्न मानेनन् ।
म पसलमै बसेर उनलाइ एकोहोरो हेरिरहें ।
उनी सरासर मेरो पसलभित्र पसिन अनि बोलिन् ‘एउटा टी–सर्ट हेर्नु थियो ।’
उनको बोली सुनेपछि म झसङ्ग भए अनि नजर तल झुकाउँदै भने ‘कस्तो टी–सर्ट ?’
उनले कोइलीको जस्तो मीठो स्वरमा भनिन् ‘हजुरसँग कस्ता–कस्ता छन देखाउनु न ।’
मलाई अरु बेला धेरै कपडा एकै पटक निकालेर छर्न झेँझो लाग्थ्यो, भरे पट्याउनको दिक्दारी सम्झेर म पहिले नै कस्तो चाहिने हो बुझेर मात्र निकाल्थे, केही पिस मात्र । तर त्यो पटक मलाई त्यस्तो भएन । मैले भए भरका सबै डिजाइनका टी–सर्ट निकालेर उनको अगाडि राखिदिएँ । उनले नै भनिन् ‘भयो मैले खोजे जस्तो यही हो ।’
म मुस्कुराउँदै उनको नजिकै आएँ । उनले एउटा टी–सर्ट उठाइन् अनि आफ्नो सरिरको बाहिर टाँसेर नाप लिन थालिन् । मैले हडबडाउँदै बोले ं‘भित्र गएर लगाएर हेर्नुस् न ।’
उनले मपट्टि फर्केर थोरै मुस्कुराइन अनि बोलिन् ‘पर्दैन लगाउन, यो साइजको ठीक्क हुन्छ ।’
उनको बोली अनि त्यो मुस्कानमा के जादू थियो कुन्नी ? म त्यसै लठ्ठ भएको थिएँ । मलाई उनी दिनभर पसलमै बसे हुन्थ्यो जस्तो लागेको थियो । म फेरि एकोहोरो उनले कपडा सुमसुम्याइरहेको हेरिरहे । उनले बोलिन् ‘कति हो यसको ?’
मलाई त त्यो टी–सर्ट उनलाइ सित्तैमा दिन मन थियो, तर बुबाको लात्तीको पनि डर थियो अनि सायद मैले सित्तैमा दिएर उनले लाने पनि त थिइनन् । मैले सानो स्वरमा बोलें ‘७ सय ५० !’
मैले मात्र २० रुपैयाँ नाफा राखेर बोलेको थिएँ । सायद उनले सोचेभन्दा धेरै सस्तो पाएर होला उनको अनुहारमा अझै बढी चमक छाएको थियो । उनले केही नबोली आफ्नो पर्शबाट ७ सय ५० रुपैयाँ निकालेर मेरो हातमा राखिदिइन् ।
उनले पैसा मलाई दिदै गर्दा उनको हातले मेरो औलामा स्पर्श गरेको थियो । थाहा छैन त्यो स्पर्शमा के थियो, मेरो मुटुसम्म एउटा अनौठो तरङ्ग पुग्यो । हुन त पसलमा अरु धेरैका हातसँग स्पर्श हुने गर्थे, तर त्यस्तो कहिल्यै महशुस भएको थिएन । जुन उनलाइ छुँदा भएको थियो । उनले मलाई पैसा दिइसकेपछि एकपटक मलाई हेरिन् । अनि बिदा मागेको भावमा थोरै मुस्कुराइन । र, बाहिर निस्किएर स्कुटरमा बसिन् अनि ह्याण्डलमा झुण्ड्याइको हेलमेट लगाइन् ।
उनले स्कुटर स्टार्ट गर्न खोजिन तर स्कुटरबाट अलिकती च्याँ ! च्याँ !! आवाज मात्र आयो, स्टार्ट भएन । उनले निकै बेरसम्म कोशिस गर्दा पनि नभएपछि अँध्यारो अनुहार लगाउँदै स्कुटर बाहिर निस्किन अनि मतिर फर्केर हेरिन । म पसलबाट निस्केर उनको नजिकै गएँ अनि सोधें ‘के भयो र ?’
उनले माया लाग्दो स्वरमा भनिन् ‘हेर्नु न ! स्टार्ट नै हुँदैन ! अघिसम्म ठीकै थियो ।’
मैले उनको स्कुटरको ह्याण्डल पकडेर स्टार्ट गर्न खोजें तर भएन । पछाडिको स्टेण्ड लगाएर किक मारेर पनि हेरें, त्यसो गर्दा पनि भएन । उनले झन झन अँध्यारो अनुहार लगाएर मपट्टि हेरिराखेकी थिइन् ।
म उनलाई खुशी बनाउन चाहन्थे । तर मलाई पनि स्कुटरको बारेमा धेरै थाहा थिएन । मैले सोधें ‘पेट्रोल त छ ?’
उनले उस्तै माया लाग्दो स्वरमा बोलिन् ‘हिजो त हालेको फुल ट्याङ्क ।’
केहीबेर सोचेर मैले उनलाई हेर्दै भने ‘उ त्यहाँ.. एउटा दाइको मोटरसाइकल बनाउने पसल छ, त्यहाँ लग्न पर्छ ।’
उनले झनै कालो अनि डराएको अनुहार बनाएर मेरो अनुहारमा हेरिन्, तर केही बोलिनन् ।
मैले उनको अनुहारमा निराशा देखेर उनलाई सम्झाउँदै भने ‘त्यहाँ लगेपछि केहीबेरमै बनिहाल्छ ! धेरै बिग्रेको हैन होला ।’
उनले थोरै आशावादी भएर मलाई हेरिन् अनि स्कुटरको ह्याण्डल पकडेर अगाडि ठेल्न खोजिन् ।
उनलाई त्यो स्कुटर ठेल्न हम्मे–हम्मे भइरहेको देखेर मैले बोलें ‘खै ल्याउनुस् म पु¥याइदिन्छु ।’
उनले थोरै रुञ्चे हाँसो हाँस्दै भनिन् ‘हैन ! आफै लगिहाल्छु नि ।’
मैले नजिकै गएर ह्याण्डल पकड्दै भने ‘छोड्नु न मेरो नि काम छैन, पुर्याइ–दि–हाल्छु नि ।’
उनले चुपचाप मलाइ स्कुटर छोडिदिइन् । मैले स्कुटरको ह्याण्डल पकडेर मेरो छेउको पसलेलाई कराएँ ‘ए शंकर दाइ ! मेरो पसलतिर नजर लगाउँदै गर्नुस् है ?’
उसले मलाई अर्काको स्कुटर डो¥याउदै गरेको देखेर होला अनौठो हाँसो हाँस्दै बोल्यो ‘ल ! ल !!’
स्कुटर लगेर बनाउने पसलमा पु¥याएपछि त्यहाँको दाइले पारखी नजरले नियाल्यो अनि भन्यो ‘इञ्जिन नै खोल्न पर्छ, निकै समय लाग्छ ।’
उसको कुराले उनको अनुहार रातो भयो तर केही बोलिनन् । मैले नै त्यो दाइलाई भने ‘दाइ ! चाँडै गर्दिनु न जति सक्दो ।’
उसले मलाइ हेरेर हाँस्दै भन्यो ‘दुई घण्टा त लाग्छ ।’
बनाउन दुई घण्टा लाग्ने भएपछि मलाई मौका परेको थियो । उनीसँग नजिक हुन मन थियो, मलाई । अझ भनौं मलाइ त उनीसँग छुट्टिनै मन थिएन । मैले मौकाको फाइदा उठाउँदै भनिहालें ‘त्यां गएर चिया पिउँ न त, समय नि कट्छ ।’
उनले मेरो कुरा काट्न सकिनन । टाउको हल्लाएर मञ्जुरी जनाइन् । म छेउको चिया पसलतिर बढें । चिया पसलमा पुगेर बाटोबाट देखिने बाहिर नै पट्टिको टेबलमा गएर बसें । उनी पनि आएर मेरो अगाडिको कुर्सीमा बसिन । चिया मगाए पछि मैले सोधें ‘अनि घर कहाँ हजुरको ?’
उनले मधुरो स्वरमा बोलिन् ‘नारायणपुर !’
मैले छक्क पर्दै भने ‘नारायणपुरदेखि यहाँ टी–सर्ट लिन मात्र त हैन होला ?’
उनले थोरै हाँस्दै बोलिन् ‘त्यतिको लागि नै आएकी, नारायणपुरमा भने जस्तो केही नपाइने रै‘छ, म त काठमाडौंबाट अस्ति भर्खर मात्र आएकी, अब चाहि यतै बस्छु ।’
मैले सोधेभन्दा बढी उनले जवाफ दिइन् । मलाई उनको बारेमा अझै धेरै जान्न मन लागेको थियो । तर के सोध्ने भन्ने कुरा नै भेट्दैन थे । झट्ट याद आयो ‘अरे मैले त नामै पो सोध्या छैन ।’ मैले हतारिँदै सोधिहालें ‘अनि हजुरको नाम चाहिँ ।’
उनले मलाइ हेर्दै भनिन् ‘दिप्ती !.. अनि हजुरको ?’
मैले पनि भने ‘मेरो आकाश हो ।’
यसरी शुरु भएका कुरा निकै बेरसम्म लम्बिए । मैले उनको बारेमा निकै थाहा पाइसकेको थिएँ । उनी पहिले काठमाडौं बसेर पढ्दिरैछिन्, फुपुकोमा । प्लस टु सकेपछि उनलाई उता बस्न मन नलागेर नै फर्केकी रैछिन् । उनको पिताको किराना पसल रहेछ नारायणपुर बजारमा । उनको एउटा भाइ पनि रहेछ, एघारमा पढ्ने । मैले पनि उनलाई केही कुरा सुनाइसकेको थिए । मैले पनि भर्खर प्लस टु सकेको, घर अलिक पर गाउँमा रहेको अनि पसलमा बुबालाई सघाउन बसेको आदि इत्यादि । उनले पनि मेरा कुरा ध्यान दिएर सुन्दै थिइन् । लाग्थ्यो उनी पनि मेरो बारेमा धेरै जान्न चाहन्छिन् ।
त्यत्ति नै बेला बुबाले चिया पसलको बाहिरपट्टिबाट पसलतिर फर्किंदै गर्दा मलाइ देख्नुभयो । एक पटक आँखा तरेर रिसाएझैं मलाइ हेर्दै सरासर पसलतिर बढ्नुभयो, केही नबोली । मलाई भने अप्ठेरो महशुस भयो, केटीसँग बसेको बेला बुबाले देखेकाले ।
बुबा पसलतिर गएकाले मलाई झनै ढुक्क भयो । अनि फेरि उनीसँग केहीबेर कुराकानी चलिरह्यो । मसँग कुरा गर्दागर्दै उनले आफ्नो स्कुटर बिग्रिएको पीडा पनि भुलिसकेकी जस्ती देखिन्थिन् । मलाइ त झन याद हुने कुरै भएन ।
केही बेरपछि उनले घडी हेर्दै बोलिन् ‘अब त बन्यो होला, जाऔं ।’
मलाई जानै मन थिएन । उनको अगाडि बसेर उनलाई हेर्दै उनको मीठो आवाज सुनिराख्न मन थियो । तर उनी उठेपछि उठ्ने करै लाग्यो । उनले आफ्नो पर्श झिकेर पैसा निकाल्न खोज्दै थिइन् । तर मैले उनलाइ रोक्दै भने ‘हैन म तिर्छु ।’
मैले आफ्नो पर्श झिकेपछि उनी रोकिइन् । पर्सबाट पैसा झिकेर साहुलाई दिँदै गर्दा याद आयो ‘उनलाई बेचेको टी–सर्टको नाफा पनि बरबार भयो ।’
म थोरै हाँसिदिएँ । उनी पनि मलाई हेरेर अलिकति हाँसेजस्तो गरिन् ।
स्कूटर बनाउने पसलमा पुग्दा भर्खरै उनको स्कुटर तयार भएको रहेछ । पसलको दाइले उनका हातमा एउटा बिल थमायो ।
बिल हातमा परेपछि उनको अनुहार फेरि अँध्यारो भयो । मैले नजिकै गएर बिल हेरें । दुई हजार लाग्ने भएछ । निकै सामान फेर्नु परेछ । मैले उनको अनुहार त्यस्तो देखेपछि सोधिहालें ‘के भयो र ?’
उनले माया लाग्दो नजरले मलाइ हेरिन अनि फेरि नजर झुकाएर सानो स्वरमा बोलिन् ‘मसँग अहिले यत्रो पैसा छैन । १२ सय मात्र होला जम्मा ।’
उनको कुरा सुनेर म केहीबेर चुप भएँ । केही बेरपछि फेरि बोलें ‘खै त्यत्ति दिनुस त..अरु म थपेर दिराख्छु ।’
उनले उस्तै आँखाले मेरो अनुहारमा हेरिन् अनि केही नबोली अप्ठ्यारो मान्दै १२ सय रुपैयाँ निकालेर मेरो हातमा राखिदिइन् । मैले आफ्नो पर्श खोलेर हेरें । पर्शमा नौ सय रुपैयाँ थियो । मैले आठ सय थपेर पसलको दाइको हातमा राखिदिएँ ।
उनी लजाएझैं अँध्यारी भएकी थिइन् । मैले उनको अनुहारमा हेर्दै हाँसिदिएँ । उनले मधुरो स्वरमा बोलिन् ‘भोलि दश बजे आएर दिन्छु है हजुरलाई ।’
मैले हुन्छ भनेर टाउको हल्लाएँ ।
उनी स्कुटरमा बसिन अनि मपट्टि फर्किएर अप्ठ्यारो मान्दै भनिन् ‘हजुरको फोन नम्बर दिनुस न ।’ उनले मेरो नम्बर मागेपछि नदिने कुरै भएन । मैले नम्बर भने–….. उनले आफ्नो मोबाइलमा टिपिन् । अनि ‘जान्छु है !’ भन्दै मुस्कुराउँदै अगाडि बढिन् । उनी गएको परसम्म हेरिरहें । झट्ट दिमागमा आयो ‘थुक्क ! उसको नम्बर चाहिं माग्नै बिर्सेछु ।’
उनीसँग त्यत्ति गफ गरेर फुरुङ्ग भएको मन लिएर म पसल पुगें । बुबाले रिसाउँदै भन्नभयो ‘पसल छोडेर कोसँग बसेको ?’
मैले डराउँदै भने ‘साथी हो ।’
बुबा केही बोल्नुभएन । बेलुका पसल बन्द गरेर घर गयौं । खाना खाएपछि म आफ्नो कोठामा पसें अनि ओछ्यानमा पल्टेर उनलाइ सम्झन थालें । कता–कता दिमागमा यस्तो कुरा पनि आयो ‘भोलि उनी आइनन् भने त मेरो त्यत्रो पैसा गयो खोलै खोला ।’
तर मेरो मनले उनलाई विश्वास गरेको थियो । सायद माया नै गर्न थालेको थियो । म आँखा बन्द गरेर अनेक कल्पना गर्न थालें । ‘मैले उनलाइ प्रेम प्रस्ताव राखेको, उनले स्वीकार गरेको, उनको स्कुटरमा बसेर हामी घुम्न गएको, उनको हात पकडेको, चुम्बन गरेको, हाम्रो विहे भएको, हाम्रो छोरा–छोरी भएको । यसरी कल्पनामा हराएर फेरि यथार्थको संसारमा फर्कंदा मलाइ लाज लागेर आयो अनि मुस्कुराउँदै सिरानी पकडेर अर्कोपट्टि कोल्टे फेरेर सुतिदिएँ…।’
निदाउनै लाग्दा मोबाइलमा म्यासेजको घण्टी बज्यो । नयाँ नम्बरबाट म्यासेज आएको थियो । खोलेर हेरें । लेखेको थियो ‘थ्यांक यु सो मच .. हजुरको यो हेल्प कहिल्यै भुल्दिन’ भोलि दश बजे आउँछु । सी यु ! गुड नाइट !’