Home / Feature Breaking news / फोहोर डायरी……(जे देखे त्यही लेखे)

फोहोर डायरी……(जे देखे त्यही लेखे)

खेमराज रिजाल
तुलसीपुरचोक (घोराही), २२ साउन

शीर्षक के लेखौं… भेटिएन । शीर्षक लेखेर समाचार लेख्ने बानी…..। गएको शुक्रवार खल्तीको स्पायरल डायरी बिहानको दश बजे नै पसिनाले फोहर भैसकेको थियो । पौने भदौमा पनि सक्रिय मनसुन नहुँदा बिहानैदेखि उम्सोको अनुभव ।

डायरीका खालीपाना गन्दै गर्दा घोराही उपमहानगरपालिकाको एउटा ठूलो फ्लेक्स व्यानर बोकेको गाडी आयो, घण्टी बजाउँदै, तुलसीपुरचोकमा । फ्लेक्स व्यानरमा लेखिएको थियो– ‘नगल्ने फोहर मात्रै यो गाडीभित्र राखिदिनुहोला । सायद नगल्ने फोहर कहाँ फाल्छन् कुन्नि ? पसिनाले फोहर भइसकेको तथा भिजेको डायरीका पानामा त्यो गाडीको नम्बर मैले शनिवार पल्टाउँदा बुझिन । जेहोस नगरपालिकाको … नं.को कम्पे्रसर भ्यान थियो, त्यो ।

तुलसीपुर जाने बस कुर्दाकुदै अर्को गाडी पनि आयो, त्यस्तै शैलीमा घण्टी बजाउँदै । व्यानरमा त्यही लेखिएको थियो, अघिल्ला गाडीमा जस्तै । तत्काल घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई फोन गरे, गल्ने फोहर जनताले कहाँ पाल्ने नि ? मेयरले नरम भएर भने– ‘सक्नुहुन्छ भने घरका करेसावारीमै बिसर्जन गर्नुस्, नत्र हामीले लगेर कम्पोष्ट मल र बायोग्यास बनाउने तयारीमा छौं, त्यसका लागि गल्ने फोहर लिन उपमहानगरपालिकाको गाडी भोलि आउँछ ।

बजारमा मात्रै होइन, नगरका सबै वडाहरुमा सायद गल्ने फोहरले उपमहानगरपालिकालाई थप आम्दानीको आधार बनाउने छ । ‘एक दिन गल्ने फोहर, अर्को दिन नगल्ने फोहर संकलनको अभियान थालेका छौं, गल्नेलाई मल बनाएर बिक्री, नगल्नेलाई रिसाइकल गरी बिक्री, त्यसका लागि पुनर्प्रशोधन गर्न सकिने फोहरहरुलाई ग्रेडिङ गर्ने अभियान पनि सुरु भैसकेको छ । हामी फोहरलाइ मोहर बनाउन चाहन्छौं’, नरुलालले अथै थप जानकारी दिन चहिरहेका थिए तर तुलसीपुर जाने गाडी आयो, हतार–हतार गाडी चढ्दा, फोन सम्पर्कविच्छेद भइसकेको थियो ।

तुलसीपुर जाँदै गर्दा मज्गैमा फेरि अर्को त्यस्तै भ्यान देखिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने कम्प्रेसर भ्यान । आहा मज्गैवासी पनि भर्खरै आउन थालेको फोहरको भ्यानमा आफ्नो घरमा भएका पुराना जुत्ता चप्पल र फाटेका कपडा….। के थाहा, फाटेका पुराना कपडालाई यहीँ प्रशोधन गरेर डसनाको कपास बन्छ भनेर ! मैले त्यो पनि डायरीको एउटा पानाको कुनामा टिपेको थिएँ । ‘अब त दूधरासमा पनि फोहर बोक्न उपमहानगरपालिकाको गाडी आउन थालेको छ नि’, दुधरासका स्थानीयबासी मनोज रानाले मलाई सुझाए । यो उनको सुझाइसँगै एउटा अर्को स्वार्थ पनि लुकेको थियो, मेयर उनकै पार्टीबाट जितेका मान्छे ।

सवा घण्टामा तुलसीपुर, त्यही दिन तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाले थालेको क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरको अभियानको पचासौं हप्ता पुगिसकेको थियो । अर्को हप्तादेखि त्यो अभियानको स्वामित्व तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने अभियान स्वरुप सातामा मंगलवार मात्रै गर्ने सरसफाई अभियान अब पछिल्लो साता सप्ताहव्यापी भएको रहेछ । अर्थात साताभरि नै सरसफाई अभियान थालिएको थियो । शुक्रवारको त्यो दिन फोहर व्यवस्थापनको छड्के जाँच । तुलसीपुर उपमहानगरपालिकाका मेयर उपमेयरसहित उद्योग वाणिज्य संघका पदाधिकारीहरु अनि अभियानका संयोजक विमल रिजालसमेत सहभाभी छड्के टोली अनुगमनका लागि अञ्चल अस्पताल परिसरमा थियो । सबैभन्दा अव्यवस्थित फोहर त्यही देखियो ।

अस्पताल प्रशासनको फोहर व्यवस्थापन पक्ष केही सुधारोन्मुख रहेको देखिए पनि गम्भीर रुपमा भने लागेको देखिएन् । त्यसलाई त्यहीँ थुपारिएको फोहरले स्पष्ट संकेत पनि गर्दथ्यो ।

यति शब्द लेखिँदासम्म मेरो फोहर डायरीका लेख्न बाँकी तीन पाना सकिइसकेका थिए । मैले सम्झें दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, महासचिव दीपक सुवेदी, र अनिलसँगै पुरन्धारा छहरामा घुम्न गएको अझै तीन महिना पुगेको छैन । अध्यक्ष बञ्जाडे पनि तुलसीपुरमा थालिएको अभियानबाट प्रभावित भएका रहेछन् ।
पिक्निक स्थल जस्तै बनेको छहरामा थुप्रिएका फोहरहरु हामी चार जनाले बटुलेर जलाएका थियौं, अनि त्यहाँ पिक्निक खान आएका टिम लिडरलाई पनि यस्तै सुझाएका थियौं । अनि बञ्जाडेले भनेका थिए– ‘फोहर व्यवस्थापन पहिले कुचोले, त्यसपछि जनचेतनाले, अनि मात्रै यो अभियान सफल हुन्छ, त्यसका लागि हामीले चेतना अभियानलाइ पहिलो कार्यसूचिमा राखेका छौं, त्यसका लागि आनीबानीमा परिवर्तन गर्नुपर्दछ ।’

अँ, प्रशंग बदलिएछ, म शनिवार विहान तुलसीपुर उद्योग वाणिज्य संघको हलमा पुगें, फोहर पकेट डायरीका अढाइपाना बाँकी लिएर । क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरको सप्ताहव्यापी अभियानको चौथो दिन अन्तर्विद्यालयस्तरीय चित्रकला तथा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो, सयभन्दा बढी बालबालिकाहरुको सहभागितामा । कस्तो परिकल्पना गर्छन् त ? कलिला विद्यार्थीहरुले फोहर व्यवस्थापनका सन्दर्भमा मैले कुरिरहेको थिएँ, तर कार्यक्रम अलि ढिलो हुँदै गएकाले फुर्सदको समय अभियानका संयोजक विमल रिजालको कार्यकक्षमा बिताए । कुचोले बढार्ने कि चेतनाले फोहर ? मैले यति मात्रै सोधेको थिएँ, रिजालले भने– चेतनाको कुचोले ।
कुचो लिएर पचास हप्ता अभियान थाल्यौं, चेतनाका लागि । ‘जबसम्म चेतनाको पूर्ण विकास हुँदैन, यो अभियान अब ५ हजार हप्तासम्म पनि निरन्तर जारी रहन्छ’, अभियान संयोजक रिजालले भने– अब यसको स्वामित्व ग्रहणको जिम्मा स्थानीय जनप्रतिनिधिहरुको निकाय तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्दैछौं ।

साथै उनले आफूहरुले थालेको अभियानमा तुलसीपुर बजारको फोहर व्यवस्थापनमा निकै सहजता भएको भन्दै अहिले स्वामित्व उपमहानगरपालिकालाई हस्तान्तरण हुन थालेको भए पनि हक भने सम्पूर्ण तुलसीपुरवासीको हुने बताए । हास्टेमा हैसे मिलाए, तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बीरु रावतले पनि । अनि भनेका थिए– ‘हक हस्तान्तरण भएको होइन, स्वामित्वमात्रै हस्तान्तरण भएको हो, यो अभियान मेरो कार्यकालसम्म मात्र होइन आदिमकालसम्म चलिरहने छ ।

क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरको अभियान थालिएको पचासौं हप्ता पार भएको छ । गत भदौ ६ गते नेपाल सरकारका मुख्य सचिव तथा बागमती सरसफाई अभियानका अभियन्ता लीलामणि पोख्रेलले तुलसीपुरमा क्लिन तुलसीपुर÷ग्रिन तुलसीपुर अभियानको शुभारम्भ गरेका थिए, अब यही साउन २५ गते नेपालका सरसफाई दूत धुर्मुसे र सुन्तलीको प्रमुख उपस्थितिमा भव्य र सभ्यरुपमा यो अभियानको स्वामित्व तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । अनि अर्को कुरा…। ती स्कूले विद्यार्थीहरुलाई शीर्षक दिइएको थियो, चित्रकला र बक्तृत्वकलामा ।

मेरो कल्पनाको तुलसीपुर । कस्तो चित्र कोर्लान् उनीहरुले आफूले कल्पना गरेको तुलसीपुर र कस्ता शब्दले सम्बोधन गर्लान् उनीहरुले कल्पना गरेको तुलसीपुरलाई ? ढिला भएकाले मैले पुरै बस्न भ्याइन । यति मन्थन गरिरहँंदा मेरो खल्तीको फोहर डायरीका तीन पाना समेत भरिएका थिए ।

मेयर घनश्याम पाण्डेलाई फोहर व्यवस्थापनको सवालसँगै क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरको स्वामित्वको विषयमा सोध्दा–सोध्दै मेरो मोवाइलको व्यालेन्स सकियो, डायरीका पाना सकिए, पाण्डेले भनेका थिए– ‘अब छिट्टै गल्ने फोहरबाट बायोग्यास र कम्पोष्ट मल, अनि नगल्ने फोहरलाई रिसाइकल गरी पुनप्र्रयोग….। अँ, मेरो कल्पनाको तुलसीपुर ! कसले कस्तो कल्पना गरे, बाँकी समाचारमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*