Home / Feature Breaking news / दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

घोराही,७ मंसिर । दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरूमा बुधवार विहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवारहरूले उहाँहरुलाई पछ्याइरहनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार जिल्लाका ३ वटै निर्वाचन क्षेत्रहरूमा गठबन्धनका उम्मेदवारहरू अघि रहनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले अग्रता कायम राख्नुभएको छ । करिब १४ हजार मत गणना हुँदा नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई एक हजार चार सय १४ मत अन्तरले पछि पार्दै सहरी विकासमन्त्री समेत रहेनुभएका मेटमणि चौधरीले अग्रता कायमै राख्नुभएको हो । अग्रता कायम गर्नुभएका चौधरीले ५ हजार एक सय २४ मत प्राप्त गर्नुभएको छ भने शान्ताले ३ हजार सात सय १० मत ल्याउँदै पछ्याइरहनुभएको छ । क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले दुई हजार ८ सय ८६ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सुरेन्द्र चौधरीले ९ सय ४८ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं. १ मा अझै ६४ हजार मत गणना हुन बाँकी रहेको छ ।

दाङ क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले १३ हजार २ सय ४ मत प्राप्त गरेर अग्रता कायम लिइरहनुभएको छ । गठबन्धनकी साझा उम्मेदवार शर्माले एमालेका उम्मेदवार शंकर पोखरेललाई १ हजार ६ सय १६ मतले पछि पार्दै सुरुदेखि नै अग्रता कायम गरिरहनुभएको छ । पोखरेलले ११ हजार ५ सय ८८ मत प्राप्त गर्नुभएको छ । करिव १८ सय मतले पछि पर्नुभएका पोखरेलले पछिल्लो समय मतान्तर घटाउँदै लाग्नुभएको छ । यसक्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले तेस्रो स्थान कायम गर्नुभएको छ । अधिकारीले ६ हजार ३ सय ५० मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा ३५ हजार ७ सय ६० मत गणना भइसकेको छ । अझै करिव ४३ हजार बढी मत गणना हुन बाँकी रहेको छ ।

यसैगरी क्षेत्र नं. ३ मा पनि गठबन्धनकै उम्मेदवार दीपक गिरीले अग्रता कायम गरिरहनुभएको छ । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गिरीले ७ हजार ४ सय ३७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । गठबन्धनका साझा उम्मेदवार गिरीलाई एमाले उम्मेदवार कोमल वलीले ५ हजार ८ सय ७९ मत ल्याएर पच्छाइरहनुभएको छ । यसक्षेत्रमा १ हजार पाँच सय ५८ मतले कांग्रेसका उम्मेदवार गिरीले अग्रता लिइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले तीन हजार ३१ मत प्राप्त गरेर तेश्रो स्थानमा रहनुभएको छ् । यो क्षेत्रमा अझै ५० हजार बढी मत गणना हुन बाँकी रहेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार १८ हजार २ सय ६० मत मात्रै गणना भएको छ । यसैगरी प्रदेश सभातर्फ पनि सत्ता गठबन्धनकै उम्मेदवारहरूले अग्रता कायम गरिरहनुभएको छ । जिल्लाका ६ वटै प्रदेशसभाका क्षेत्रहरूमा गठबन्धनका उम्मेदवारहरु अघि रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*