Home / Feature Breaking news / दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

काठमाडौं, ११ असोज ।

दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको चाप स्थलमार्गसँगै हवाईमार्गमा पनि देखिएको छ । आन्तरिक उडान भर्दै आएका हवाई कम्पनीहरुकाअनुसार दशैंका लागि टिकट धमाधम बुकिङ भइरहेका छन् ।

बसको अगि्रम टिकट बिक्रीमा भएको किचलोका कारण पनि हवाई मार्गमा चाप बढेको हो । विगतको तुलनामा यस वर्षको दशैंका लागि हवाई टिकटको माग बढेको एयरलाइन्स कम्पनीहरु बताउँछन् ।

बसको यात्रा मात्र होइन टिकट काट्नै सास्ती भोग्नुपर्ने भएकाले पनि हवाई यात्रामा आकर्षण बढिरहेको छ । हवाई जहाजको टिकट अनलाइनबाटै बुक गर्न सकिन्छ ।

नेपाल एयरलाइन्समा टिकट सकियो

बुधबार मध्याहृन न्यूरोडस्थित नेपाल वायुसेवा निगमको आन्तरिक टिकट बिक्री कक्षमा पुग्दा सुनसान देखियो । कर्मचारीबाहेक जम्मा २ जना मात्रै सेवाग्राही त्यहाँ देखिन्थे ।

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’

सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए ।

निजीमा पनि चाप

राष्ट्रिय ध्वजाबाहक मात्रै होइन, निजी कम्पनीहरुमा पनि टिकटको चाप छ । दशैंका लागि आधाउधी टिकट उनीहरुले बेचिसकेका छन् ।

सौर्य एयरलाइन्सले बुधबारसम्म ५० प्रतिशत टिकट बिक्री भइसकेको जानकारी दिएको छ । सौर्य एयरलायन्सका चिफ सेल्स एन्ड मार्केटिङ मुकेश खनालले दिएको जानकारीअनुसार हालसम्म बुकिङ गर्ने क्रम जारी छ । अघिल्लो वर्षको तुलनामा यसपाली बढी घुइँचो देखिएको उनी बताउँछन् ।

यती एयरलाइन्सले ५० प्रतिशत बढी टिकट बिक्री गरेको छ । एक अधिकारीले भने, ‘अहिलेसम्म ५० प्रतिशत टिकट बेचिसक्यौं, बाँकी रहेको पनि बिक्री हुने क्रममा छ ।’

अन्य एयरलाइन्सको अवस्था पनि सौर्य र यतीको जस्तै अवस्था छ ।

जहाज थप्दै कम्पनी

नेपालमा अहिले आधा दर्जनभन्दा बढी एयरलाइन्सहरुले आन्तरिक उडान भर्दै आएका छन् । आन्तरिक उडान भर्दै आएका नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स, सिमि्रक एयरलाइन्स, श्री एयर लाइन्स, सौर्य एयरले दशैंमा पनि सेवा दिनेछन् ।

अघिल्लो साता मात्रै यती एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ जहाज थप गरेको छ । सन् १९९८ मा सेवाको थालनी गरेको यस एयरलाइन्ससँग हाल तीन वटा एटीआर-७२-५०० र ६ वटा बीएई एक्स्ट्रीम ४१ रहेका छन् । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसँग दुई वटा डोर्नियर डीओ-२२८, दुई वटा ट्वीनटर र दुई वटा ट्वीनअटर भाइकिङ ४०० सिरिज छन् ।

यतीभन्दा पहिले नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानकै लागि २ वटा चिनियाँ जहाज थप गरेको थियो ।

सुगमलाई सुविधा, विकटलाई बाध्यता

शहरी क्षेत्रका यात्रुहरुले छिटो र आरामदायी यात्राका लागि हवाई यात्रा रोज्ने गरेका छन् । तर, विकट क्षेत्रका सर्वसाधारणलाई यो बाध्यात्मक छ ।

दुर्गम स्थानमा गाडी नपुग्ने र पुगे पनि चाडबाडका बेला टिकट पाउनै मुस्किल हुने गरेकाले हवाई मार्ग रोज्नुपर्ने बाध्यता उनीहरुलाई छ ।

नेपाल वायु सेवा निगमको काउन्टरमा टिकट काट्न पुगेका खोटाङका खगेन्द्र खतिवडाले बसबाट जाँदा पनि धेरै हिँड्नु पर्ने भएकाले हवाई जहाजको महंगो यात्रा रोज्नु परेको बताए । खतिवडा भन्छन्, ‘कमाई थोरै छ, तैपनि दशैंमा घर नगई हुँदैन के गर्नू !’

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*