Home / Feature Breaking news / सहज र सरल बन्दै अदालतको न्याय सम्पादन

सहज र सरल बन्दै अदालतको न्याय सम्पादन

बिमला घर्ती

घोराही, २ साउन
पछिल्लो समयमा अदालतको न्याय सम्पादन प्रक्रिया छिटो छरितो बन्दै गएको छ । जिल्ला अदालतहरुमा बर्षौ देखिको मुद्दा रहने गरिएको भएपनि पछिल्लो केही बर्षमा मुद्दाहरु तिव्र रुपमा सहज तरिकाले फैसला हुँदै आएका छन् ।

अदालतमा भित्रिएको आधुनिक प्रविधिका कारण न्यायिक सम्पादन छिटोछरितो बन्दै गएको अदालत प्रशासनले बताएको छ । विगतमा जस्तो झन्झटिलो प्रक्रियाका कारण ढिलाइ हुने अदातली कामकारबाही पछिल्लो समय छिटो भएको सेवाग्राहीले बताएका छन् ।

सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा अधिकांश आधुनिक प्रविधि भित्रिएको कारणले गर्दा सहज तथा छिटो छरितो बन्दै गएको हो । एसएमएस, इमेल तथा वेबसाइटमार्फत अदालतले आफ्ना गतिविधि सञ्चार गर्दै आएको दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश हेमन्त रावलले बताउनुभयो । जहाँ रहेर पनि अदालतका गतिविधि सहजै जानकारी पाउन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मुद्दाको पेसीदेखि आदेशसम्म थाहा पाउन सक्ने भएपछि प्रविधि प्रभावकारी बन्दै गएको छ । सर्वोच्च अदालतदेखि उच्च अदालतका स्थायी अस्थायी इजलास तथा ७७ जिल्ला अदालतमा नै आधुनिक प्रविधिबाट सेवा भित्रिएसँगै सेवाग्राहीमा सन्तुष्टि बढेको रावलले केही समय अगाडी जानकारी दिनुभएको थियो । कैददेखि जरिवानासम्म तथा मिसिल अभिलेखबारे जानकारी वेबसाइटमा राखिएपछि सेवाग्राहीलाई सहजै जानकारी हुने उहाँले बताउनुभयो ।

विगतमा म्याद तामेली, फैसलालगायत जानकारी मुद्दाका पक्षले हुलाकबाट ढिलो गरेर मात्र थाहा पाउने गरेका थिए । तर अहिले प्रबिधिको प्रयोगका कारण सहज वातावरण तयार भएको छ । वर्षौंसम्म मुद्दा फैसला हुन नसक्दा सास्ती खेप्नुपर्ने समस्याको अन्त्य भएको विश्वास आफुले लिएको न्यायधिस रावलले बताउनुभयो । दाङ देउखुरी जिल्ला अदालतमा १४ महिना नाघेका मुद्दाहरु चारवटा मात्र रहेको कार्यालयका श्रेष्तेदार गम्भीर रानाले जानकारी गराउनुभयो ।

यसैबीच दाङ देउखुरी जिल्ला अदालतले आर्थिक वर्ष २०७३÷०७४ मा दर्ता भएका मुद्दा तथा फैसला प्रगतिका बारेमा जानकारी गराएको छ । मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । जसमा वितेको आर्थिक बर्षमा दुई हजार तीन सय पाँच वटा बिभिन्न मुद्दा दर्ता भएको छ । ति मुद्दा मध्य एक हजार चार सय ७१ वटा फच्छ्र्यौट भएको अदालतले जनाएको छ । आठ सय ३४ वटा मुद्दा बाँकी रहेका छन् ।

आर्थिक बर्षभरी दुई हजार एक सय ३३ वटा मुद्दा अनुमान गरेकोमा दुई हजार तीन सय पाँच वटा मुद्दा परेको न्यायाधीश रावलले जानकारी दिनुभयो । वितेको आर्थिक बर्षमा सबै भन्दा धेरै मुद्दा सम्वन्ध बिच्छेदको परेको छ । गत बर्षको साउन एक गते देखी असार अन्तिम सम्म छ सय ४० वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा चार सय ९५ जोडी अलग अलग भएका छन् । भने एक सय ४५ मुद्दाको टुंगो लाग्न बाँकी रहेको जानकारी दिइएको छ । पछिल्लो समयमा बैदेशिक रोजगार, सानै उमेरमा बिबाह गर्नु र सामान्य कुरालाई गहिराउनु जस्ता कारणले सम्बन्ध बिच्छेदका घटना बढेका हुन् । यो संख्या बर्षाे रुपमा बढ्दो देखिएको छ ।

जवरजस्ती करणीमा ५६ वटा मुद्दा दर्ता भएकोमा २५ वटा फछ््र्यौट भएको छ । भने ३१ वटा बाँकी भएको न्यायाधीश रावलले जानकारी दिनुभयो । लागु औषधका २८ मुद्दामा १३ फच्छ्र्यौट १५ बाँकी, मानब बेचबिखनका २ वटा परेकोमा दुइ वटै फच्छ्र्यौट भएको जानकारी दिनुभयो । घरेलु हिंसामा तीन वटा मुद्दा परेकोमा एउटा फच्छ्र्यौट भएको र दुई वटा बाँकी भएको अदालतले जनाएको छ । यी मुद्दाहरुलाई पनि केही समयमानै टुंगो लगाइने जानकारी न्यायधीश रावलले गराउनुभयो ।

आर्थिक वर्ष २०७४÷०७५ मा अन्य मुद्दाको तुलनामा सम्बन्ध विच्छेद र जवरजस्ती करणीका मुद्दाहरु बढ्दो अबस्थामा देखिएका छन् । २०७२ सालमा सम्बन्ध बिच्छेदका तीन सय ९३ मुद्दा परेकोमा तीन सय नौ जोडिले सम्बन्ध तोडेका थिए भने २०७३ मा पाँच सय २७ निबेदनमा चार सय १८ जोडिले सम्बन्ध बिच्छेद गरेका थिए । त्यसैगरी, २०७२ सालमा ५० वटा जवरजस्ती करणीको मुद्दा परेको थियो भने २०७३ सालमा ५१ र २०७४ सालमा ५६ वटा मुद्दा परेको जिल्ला अदालतले जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा ८३ दशमलव ८१ प्रतिशत मुद्दा फछ्र्याेट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*