Home / Feature Breaking news / बजेटले पार्टीका कार्यकर्ता भरणपोषण गर्ने रणनीति लिएको छ : कांग्रेस

बजेटले पार्टीका कार्यकर्ता भरणपोषण गर्ने रणनीति लिएको छ : कांग्रेस

काठमाडौं,  १७ जेठ 

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भरणपोषणको रणनीतिका आधारमा बजेट आएको आरोप लगाएको छ।

संसदमा बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले जनतालाई निराश पार्ने बजेट आएको बताए।

‘सत्तासिन कम्युनिष्ट पार्टीका कार्यकर्ता भरणपोषण गर्ने रणनीति लिएको छ’, रिजालले भने, ‘बजेटले निजी क्षेत्रलाई हतोत्साही बनाउने, राजश्वको लक्ष्य सबै तहको बजेट मिसाएर हेर्दा महत्वकांक्षी, अन्तर्राष्ट्रिय लगानी निरुत्साही गर्ने खालको छ।’

‘निजीक्षेत्रका लागि पब्लिक लिमिटेडमा जाने बाध्यकारी व्यवस्था ल्याउनु भएको छ। त्यो ‘इन्सेटिभ’को रूपमा ल्याउनुपर्थ्यो’, रिजालले भने।

उनले नेपाल कम्युनिष्ट पार्टीले चर्को राष्ट्रवादको नारा छाडेजस्तै आकर्षण भरिएको चुनावी नारा बजेटबाट छाडेको उल्लेख गरे। बजेटमा कम्युनिष्टका नारा समेट्न अर्थमन्त्रीलाई गाह्रो भए पनि कार्यकर्तालाई भरणपोषणको बाटो निकालिएको भन्दै उनले अर्थमन्त्रीको आलोचना गरे।

‘नियमनकारी संस्था थुप्रै निर्माण गर्न खोज्नु भएको छ। साना कार्यक्रम छरेर ल्याउनु भएको छ। कर्मचारीलाई डर त्रासबाट पार्टीसँग ‘लोयल’ बनाउने, ‘क्रोनी क्यापिटालिज्म’तर्फ लैजान खोजिएको छ’, रिजालले भने, ‘तागतलाई पार्टीको पक्षमा प्रयोग गर्ने। कार्यकर्ता भरणपोषण गर्ने पुर्वाग्रही तवरले बजेट आएको छ ।

‘बजेटमा रेल र पानीजहाजका लागि थोरै बजेट छुट्याइएकोमा भने रिजालले अर्थमन्त्रीलाई धन्यवाद दिए।

‘अर्थमन्त्रीले सीमाभित्र बसेर काम गर्नु भएको भए पनि प्रशंसा गर्नुपर्छ’, रिजालले भने, ‘व्यक्ति जति ठूलो पदमा भए पनि अहंकार र हठबाट आर्थिक उन्नति यात्रा सुरू हुन्न। मसिनो स्वरमा भए पनि अर्थमन्त्री त्यसका विरुद्ध उभिनु भएको छ। व्यक्तिको अहंकारबाट अर्थतन्त्रको यात्रा सुरू हुन सक्दैन।’

रिजालले पानी जहाजमा हिन्द महासागर जाने सुवास नेम्वाङको निम्तो पर सरेको उल्लेख समेत गरे। नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै रिजाललाई पानीजहाजमा हिन्द महासागर जाने निम्तो नेम्वाङले दिएका थिए।

‘सम्भाव्यता अध्ययन गर्न एक वर्ष लाग्ने भयो’, रिजालले भने, ‘जलमार्गभन्दा प्राथमिकता उर्जा क्षेत्रलाई दिनुपर्छ। तमोर जलाशययुक्त आयोजना काम गर्न सक्ने अवस्थामा छ। त्यता ध्यान जाओस्।’

प्रतिपक्षीका तर्फबाट संसदमा बोलेका रिजालले सांसदले योजना छनोट गर्ने गरि ल्याइएको चार करोडको बजेटमा कुनै सहमति नरहेको बताए। उनले आगामी ५ वर्षका योजना बनाइए पनि त्यसपछिको योजना नभएकोमा बजेटप्रति असन्तुष्टि व्यक्त गरे।

‘प्राथमिकता पूर्वाधार नै हो’, रिजालले भने, ‘अर्थमन्त्री चुक्नु भएको छ। पाँच वर्षका बलियो आर्थिक आधार तयार भएका बेला मूल र सहायक प्राथमिकता छुट्याउन सक्नुपर्थ्यो।’

उनले मदन भण्डारी राजमार्ग निर्माणका लागि ४ अर्ब छुट्याएर नेपाल कम्युनिष्ट पार्टीको चित्त बुझाउन खोजिएको बताए।

‘मदन भण्डारीको नाम मात्र राख्ने भनेको भए सत्तापक्षले ताली बजाउने थियो’, रिजालले भने, द्रुत मार्गको सडक र निजगढका लागि पर्याप्त बजेट छैन। निजगढ नबनाउने हो कि क्या हो? १ अर्ब ५० बजेट छ।

‘एउटा खाले अनुहार र पहिचान भएकाले हो कि?’, रिजालले भने, ‘निजगढ नबन्दा द्रुत मार्गका लागि गरेको लगानी उठाउन सकिन्न। सँगै जानुपर्थ्यो।’

उनले प्रधानमन्त्री रोजगार योजना प्रधानमन्त्री पदको लागि आएको टिप्पणी गरे। संसदमा बजेटमाथिको छलफल अघि अर्थमन्त्री खतिवडाले आफूले समृद्धिको चित्रका रूपमा बजेट ल्याएको बताएका थिए।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*