Home / Feature Breaking news / अटो र ई–रिक्सा चालकलाई ट्राफिक सचेतना

अटो र ई–रिक्सा चालकलाई ट्राफिक सचेतना

दाङ, २३ असोज

दाङका बजार क्षेत्रमा चल्ने अटो रिक्सा र ई–रिक्साहरुका कारण सवारी दुर्घटनाको जोखीम बढ्न सक्ने सम्भावनालाई मध्यनगर गर्दै ट्राफिक प्रहरीले रिक्सा चालकहरुलाई सचेत बनाउन सुरु गरेको छ ।

बजार क्षेत्रमा सञ्चालन हुने अटो रिक्सा र ई–रिक्साका चालकहरुले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखीम बढेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायीक प्रहरी सेवा केन्द्रले चालकहरुलाई सचेत बनाउन सुरु गरेको हो ।

समय–समयमा ट्राफिक प्रहरीले सचेतना कार्यक्रम अन्गरगत रिक्सा चालकहरुलाई सचेत बनाउने गरेपनि थप भएका रिक्सा चालकहरुले नियमबारे जानकारी नपाउदा दुर्घटना बढ्न थालेको भन्दै आज सोमवार घोराही क्षेत्रका अटो र ई रिक्साका चालकहरुलाई सचेत बनाईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, सामुदायीक प्रहरी सेवा केन्द्र दाङ र रिक्सा समितिहरुको आयोजनामा घोराी क्षेत्रका करिब ५ सय अटो र ई रिक्साका चालकहरुलाई सचेत बनाईएको छ । घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उनीहरुलाई प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले ट्राफिक नियमबारे जानकारी दिनुभएको थियो । उहाँले चालकहरुले पालना गर्नुपर्ने नियमबारे सचेत बनाउनुभएको थियो ।

त्यस अवसरमा वाग्लेले चालकहरुलाई क्षमताभन्दा बढि यात्रु बोक्न नहुने, निषेधीत क्षेत्रमा पार्किङ नगर्न, मापसे गसिर सवारी साधन नचलाउन, तीव्र गतिमा सवारी साधन नहाक्न, भिडभाड र घुम्तीमा ओभरटेक नगर्न, समिति वा स्थानीय तहले निर्धारण गरेको भाडामात्र लिन, अप्ठेरो बाटो टाढा एकान्त बाटोमा यात्रुहरु लिएर नजान अनुरोध गर्नुभयो ।

यस्तै रातो नम्बर प्लेटका रिक्सा नचलाउन अनुरोध गर्दै कालो नम्बर प्लेट बनाएर करको दायरामा आएरमात्र सञ्चालन गर्न, आवश्यक कागजात साथमा बोक्न, ट्राफिक संकेतको पूर्ण रुपमा पालना गर्न, साईड लाईटहरुको अनिवार्य प्रयोग गर्न, यात्रुहरुसँग सम्मानजनक व्यवहार पालना गर्न सम्पूर्ण चालकहरुलाई प्रहरी निरिक्षक वाग्लेले अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पन लिमिटेडका मोहन पुरीले बिमा प्रक्रियाबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण जिफन्टका अध्यक्ष शिवराज पन्थीले गर्नुभएको थियो ।