दाङ,५ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर राजीना दिएको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको मेयरको दाबेदारका रुपमा रहेका गौतमले पार्टीले बाटो विराएकाले आफु पाटीबाट अलग बस्ने निर्णय गरेको बताए । नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएपछि आफूले पार्टीभित्र बस्न नचाहेको बताए । गौतमले निर्वाचनको मुखमा यो प्रवृति झन् बढ्दै गएको र इमान्दार नेता तथा कार्यकार्यहरुमा वितृष्णा बढ्दै गएपछि आफुले स्वाभिमान जोगाउन पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताएका थिए ।
‘नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नहन सकेन । पार्टीमा गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गयो’,पत्रकार सम्मेलनमा गौतमले भने,‘ जसले गर्दा पार्टीमा इमान्दार नेता तथा कार्यकर्ताको भविष्य देखिएन । पार्टी गुटवाद, अवसरवाद र जालझेल फस्दै गयो र मैले स्वाभिमान गुमाउन चाहेन ।’ उनले माओवादी पार्टीले कम्युनिष्ट आदर्श गुमाइसकेको भन्दै गौतमले एमसीसी पासपछि जनविश्वास समेत गुमाएको आरोप लगाए ।
माओवादी केन्द्रबाट राजीनामा दिएका गौतमले स्थानीय तह निर्वाचनअघि कुनै पनि पार्टीमा आफु प्रवेश नगर्ने बताए । ‘म राजनीति गर्ने मान्छे हुँ । सधै स्वतन्त्र बस्न सक्दैन,कुनै पार्टीसँग जोडिनै पर्छ’,उनले भने,‘तर निर्वाचनअघि कुनै पनि पार्टीमा प्रवेश गर्दैन ।’ उनले कठिन समयमा राजनीतिमा प्रवेश गरेर पार्टीले दिएका जिम्मेवारी इमान्दारिताका साथ पुरा गरेको भन्दै अहिले पार्टीले मेयरमा टिकट दिएन भनेर राजीनामा नदिएको उनको तर्क थियो ।
‘मैले २÷४ दिनपछि राजीनामा दिएको भए मेयरको टिकट नपाएर राजीनामा दिएको भन्ने आरोप आउथ्यो । त्यसैले मैले टिकटको टुंगो लाग्नुभन्दा पहिले नै राजीनामा दिने निर्णय गरेको छु’,उनले भने,‘यसबाट नेकपा माओवादी केन्द्रका इमान्दार नेता तथा कार्यकर्ताहरुमा पर्न गएको असरप्रति क्षमाप्रर्थी छु ।’ उनले घोराही नगरको टिकटका लागि आफु मुख्य हकदार रहेपनि टिकटकै लागि पार्टीका नेताहरुको चाकरी नगरेको बताए ।
नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएपछि आफूले पार्टी भित्र बस्न नचाहेको बताए । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका गौतमले १२ हजार बढी मत प्राप्त गरेका थिए ।
गठबन्धनबाट घोराही उपमहानगरपालिकाको मेयरमा नेकमा माओवादी केन्द्रका नेता हेमराज शर्माको नाम अगाडि सारेपछि गौतम असन्तुष्ट भएका थिए । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा पार्टीको हार निश्चित हुँदाहुँदै पनि आफु पार्टीका लागि निर्वाचन लडेको भन्दै अहिले गठबन्धन बलियो हुँदा अन्य साथीहरु मेयरमा अघि सरेको बताएका थिए ।
RaptiSandesh RaptiSandesh