Home / Feature Breaking news / दाङमा अक्सिजनको अभाव, उद्योग चार बर्षदेखि बन्द

दाङमा अक्सिजनको अभाव, उद्योग चार बर्षदेखि बन्द

दाङ, १३ वैशाख । सक्रिय संक्रमितहरु दिनदिनै अप्रत्यासितरुपमा बढ्न थालेपछि दाङ जिल्लाको एकमात्र अस्थायी कोरोना विशेष अस्पतालमा जुनसुकै बेला अक्सिजनको अभाव भएर बिरामीको ज्यान जानसक्ने चेतावनी अस्पताल व्यवस्थापनले दिएको छ ।

करिब दुई महिनाअघि शून्य विरामी संख्या भएको सो अस्पतालमा आइतवार एक बिरामीको निधन भएपछि ४१ बिरामी उपचाररत छन् । अधिकांश बिरामीलाई अक्सिजन प्रयोगको विकल्प नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक ९९ सिलिन्डरसम्म खपत भएको बताउँदै अस्पताल व्यवस्थापनले बेलझुण्डी अस्पतालमा हाल बढीमा ४८ सिलिण्डर अक्सिजन ग्यास मात्र स्टकमा रहेको बताएको छ ।

‘दिनदिनै नेपालगञ्जबाट अक्सिजन ढुवानी गरेर आपूर्ति गर्दै आएका छौं, सडक जाम भयो वा गाडी बिग्रियो भने दुई घण्टा ढिलो भयो भने पनि सिकिस्त बिरामीको ज्यान जान सक्छ’, कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले गोरक्षलाई बताए । पछिल्लो संक्रमणमा यसअघिको जसरी दिइएको अक्सिजनले बिरामीलाई पुग्ने अवस्था देखिएको छैन । बिरामीलाई भारी मात्रामा अक्सिजन दिएर मात्र स्वास्थ्यमा सुधार आउन सक्ने अपेक्षा चिकित्सकहरुले गरेका छन् । यसरी अक्सिजन दिँदा पनि सिकिस्त बिरामीहरुको भने लगालग दैनिकजसो निधन भइरहेको छ ।

दाङमा कोरोना संक्रमितको संख्या बृद्धिसँगै बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको खपत बढेको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागि समेत अक्सिजन आवश्यक पर्न थालेपछि जिल्लामा अक्सिजनको समस्या देखिएको हो । सामान्य अवस्थामा महिनामा १ हजार सिलिण्डर अक्सिजन खपत हुने जिल्लामा कोरोना संक्रमित बढेसँगै अक्सिजनको प्रयोग ह्वात्तै बढेको छ ।

कोरोना भाइरसले गम्भीर बनाएका बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जान्छ । यस्तो अवस्थामा बिरामीलाई बचाउन अक्सिजन आवश्यक पर्ने हुँदा अक्सिजनको खपत बढेको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले बताएका छन् तर दैनिक कोरोना संक्रमित बढिरहेको र त्यसका लागि आवश्यक अक्सिजनको जिल्लामा स्टक नहुँदा बिरामीको उपचारमा समस्या देखिने अवस्था आएको व्यवस्थापक वलीले बताए ।

‘कोरोना संक्रमितमा जटिल प्रकारको समस्या देखिने क्रम बढिरहेको छ, यस्तो बेला अक्सिजन आवश्यक पर्छ’, व्यवस्थापक वलीले भने– ‘अहिले अक्सिजन पुगिरहेको छ तर कुनै कारण एकदिन बाहिरबाट एक्सिजन आउन सक्ने अवस्था भएन भने बिरामीले अक्सिजन नपाउने अवस्था छ ।’

जिल्लामा अक्सिजनको प्लान्ट नहुँदा जोखिम बढेको उनको अभिव्यक्ति थियो तर यहाँ रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु उद्घाटन गरिए पनि अक्सिजनकै अभावका कारण आइसियु सेवा पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । मुख्यमन्त्रीले आइसियु उद्घाटन गरेको करिब एक बर्ष पुग्न थाल्दा समेत सरकारले प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माणका लागि आवश्यक बजेट पठाउन नसक्दा यो समस्या देखिएको हो ।

जिल्लामा अक्सिजनको अभाव भइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–३ झिङ्नीमा २०७३ सालमा सञ्चालन भएको दाङ अक्सिजन उद्योग प्रालि भने लामो समयदेखि बन्द रहेको छ । करिब चार करोडको लगानीमा सञ्चालनमा आएको उद्योग विद्युतको अभावसँगै बजारमा ठूला उद्योग कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा अक्सिजन उद्योग बन्द गर्नुपरेको दाङ अक्सिजन उद्योग प्रालिका सञ्चालक टोेपाराम पौडेलले बताएका छन् । दाङका लागि आवश्यक अक्सिजन जिल्लामै उत्पादन गर्ने उद्देश्यले सात बर्ष पहिले उद्योग सञ्चालन गरे पनि सानो बजारमा ठूलो कम्पनीसँग प्रतिष्पर्धा नसक्दा उद्योग सञ्चालन भएको एक बर्षमै बन्द भएको उनले बताए ।

जिल्लामै सञ्चालन भएको उद्योग बन्द भएपछि नेपालगञ्जमा रहेको हरिओम अक्सिजन उद्योगबाट अक्सिजन ल्याएर वितरण गरिरहेको उनले बताए । उनले अहिले दैनिक डेढ सय अक्सिजन जिल्लामा आउने गरेको बताए । ‘अहिले दैनिक डेढ सय सिलिण्डरहरु आउने गरेको छ, त्यसमध्ये एक सय सिलिण्डर बेलझुण्डी अस्पतालमा जान्छ’, सञ्चालक पौडेलले भने– ‘बाँकी सिलिण्डरहरु अन्य अस्पतालहरुसँगै व्यक्तिहरुले लग्ने गर्नुभएको छ ।’ उनले जिल्लामा अक्सिजन स्टक राख्ने प्लान्ट नहुनुका साथै सिलिण्डरहरु होल्ड गरिदिँदा अक्सिजनको थप समस्या देखापरेको बताए । उनले करिब एक सय बढी सिलिण्डरहरु जिल्लाभित्रै होल्ड रहेको बताए ।

‘अक्सिजन गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने हो तर अहिले राम्रै व्यक्तिले असिक्जनका सिलिण्डर घरमा लगेर राख्नुभएको छ’, उनले भने– ‘जसले गर्दा ती सिलिण्डरहरु चलाउन नपाउँदा थप समस्या देखिन गएको हो ।’ उनले जिल्लामा केही अस्पतालहरुले पनि आवश्यकताभन्दा बढी सिलिण्डरहरु राखेको बताए । ‘अहिलेलाई हामीसँग तीन सय बढी अक्सिजनका सिलिण्डरहरु हुन् तर अहिले रनमा डेढ सय मात्र छन्’, सञ्चालक पौडेलले भने– ‘बाँकी सिलिण्डरहरु अस्पताल र केही सिलिण्डरहरु व्यक्तिहरुले लगेर होल्ड गर्नुभएको छ, जसले गर्दा पनि थप समस्या देखिएको छ ।’

सञ्चालक पौडेलले कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुन नदिनका लागि आफूले लागेसम्म पहल गरिरहेको भन्दै भोलि गाडी बिग्रिए वा ड्राइभर नै बिरामी भएको खण्डमा समस्या पर्ने अवस्था आएको बताएका छन् । ‘नेपालगञ्जबाट अक्सिजन ल्याउने हामीसँग एउटा गाडी छ, त्यसमा ड्राईभर पनि एकजना छ’, उनले भने– ‘कारणवश गाडी बिग्रिने र ड्राइभर बिरामी भयो भने समस्या हुने स्थिति छ ।’ उनले अन्य गाडीहरुलाई अक्सिजन ल्याउनका लागि भन्दा समेत जान नमान्ने गरेको बताएका छन् ।

घोराहीमा अक्सिजन सिलिण्डर बिक्री गर्दै आएको प्रयास सप्लायर्सले अक्सिजनको खपत बढेसँगै सिमेन्ट उद्योग र अटो व्यवसायीलाई सिलिण्डर दिन छोडेको छ । विपद्को समयमा बिरामीलाई नै अक्सिजन आवश्यक पर्ने भएकाले आफूहरुले सिमेन्ट उद्योग, अटो तथा ग्रील व्यवसायीहरुलाई अक्सिजन सिलिण्डर दिन छोडेको प्रयास सप्लायर्सका प्रोपाइटर बिष्णु भण्डारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*