Home / Feature Breaking news / पूर्वाधार विकास : पहिले सडक कि नाला ?

पूर्वाधार विकास : पहिले सडक कि नाला ?

लिलाधर वली

दाङ, २६ फागुन । जिल्लामा पछिल्लो समय सडक निर्माण तीव्र गतिले अगाडि बढिरहेको छ । तर धेरै सडकहरु नालाविना नै निर्माण हुने गरेका छन् । पानी बग्ने नाला नहुँदा सडकबाटै पानी बग्ने हँुदा सडक छिट्टै भत्किने तथा पानी जमेर खाडल पर्ने गरेका छन् । यस प्रकारको विकासको कार्यले बजेट त्यसै खेर जाने गरेको छ ।

यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सडक बनाइसकेपछि नाला बनाउँदा सडक बिग्रिनेसँगै लागत समेत बढ्ने गरेको यसका जानकारहरु बताउँछन् ।
नाला निर्माण गरेर सडक कालोपत्रे गर्दा राम्रो मानिन्छ । तर त्योभन्दा पहिले सडक कालोपत्रे गर्ने कार्यले उपभोक्ताहरु दोहोरो झन्झट व्यहोर्नुपरेको छ । सडक कालोपत्रे गर्दा खर्चसँगै बाटो बनाउँदा र नाला बनाउँदा सडक अवरुद्ध दुःख सर्वसाधारण तथा सवारी चालकहरुले दुःख पाउने गरेका छन् ।

पछिल्लो समय घोराहीले यो समस्या झेलिरहेको छ, घोराही उपमहानगरपालिका–१५ मा रहेको उन्नतिनगर टोल विकास संस्थाले । नाला र सडक सँगसँगै निर्माण नगर्दा अहिले दोहोरो समस्या झेल्नुपरेको छ । सडक कालोपत्रे भैसकेको ठाउँमा पछि नाला बनाउँदा पुनः पुरानै समस्या झेल्नुपरेको उन्नतिनगर टोल विकास संस्थाका सचिव मूर्तिराम पाण्डेयले बताए ।

उपभोक्ताहरुले एकैपटक भोग्नु पर्ने समस्या २÷२ पटक भोग्नुपर्ने अवस्था आएको सचिव पाण्डेय बताउँछन् । ‘सडक कालोपत्रे गर्दा नाला पनि निर्माण गर्नुपर्ने रहेछ, नालासँगै सडक कालोपत्रे गर्दा उपभोक्ताहरु दोहोरो झन्झट मुक्त हुने थिए’, पाण्डेयले भने– ‘खानेपानीका पाइप विद्युत र टेलिकमका पोलहरु सार्नुपर्दा दोहोरो झन्झट हुने रहेछ ।’ सचिव पाण्डेयले नाला र सडक एकैपटक बनाउने गरी काम हुनुपर्ने समेत बताए ।

सडक निर्माण गर्दा जनताको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्निकायको समन्वयबाट काम गर्दा राम्रो हुन निर्माण व्यवसायीको सुझाव छ । नत्र काम गरे पनि त्यो दीर्घकालीन हुन नसक्ने निर्माण व्यवसायी गोपाल घिमिरे बताउँछन् । ‘विकास निर्माण गर्दा कुन ठाउँमा के को आवश्यकता हो ? त्यो प्लानिङ गरेर काम गर्नुपर्छ’, दाङ निर्माण व्यवसायी संघका पूर्व उपाध्यक्षसमेत रहेका घिमिरेले भने– ‘नत्र पछि नाला निर्माण गर्दा सडक पिच सडकको स्वरुप बिग्रनुका साथै पिच उप्किने समस्या हुन्छ ।’ विकास निर्माण गर्दा अन्तर्निकायका बीचमा समन्वयबाटै गर्न व्यवसायी खनालको सुझाव छ ।

विकासको उल्टो काम : महाशाखा प्रमुख

घोराही उपमहानगरपालिकाका शहरी विकास तथा महाशाखा प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर युवराज पौडेलले विकासको मोडेल नमिल्दा काम गर्दा समस्या देखिने गरेको बताए ।

उनले यस्ता समस्याहरुको अन्त्यका लागि नगरमा विकासको प्रोपाइल निर्माण गरेर कुन ठाउँमा के विकास निर्माणको काम गर्ने भनेर टुंगो लगाएर अघि बढ्नुपर्ने भए पनि त्यो हुन नसकेको बताए । उनले विकासका नाममा नगरका कतिपय ठाउँमा उल्टो काम हुने गरेको बताए । ‘पहिले नाला निर्माण गर्ने, अनि सडक निर्माण गर्नुपर्ने हो, तर कतिपय ठाउँमा नालाभन्दा पहिले सडक कालोपत्रे गर्ने काम भएका छन्, जुन काम हुनुहँुदैन’, शहरी विकास तथा महाशाखाका सिनियर डिभिजन इन्जिनियर पौडेलले भने– ‘यो विकासको उल्टो काम हो, यसलाई सुधार गरेर अघि बढ्नुपर्छ ।’ यसरी विकास निर्माणको काम गर्दा समस्या देखिने गरेकोसमेत पौडेलले बताए ।

सडक मर्मत ध्यान दिन नागरिक समाजको आग्रह

दाङ, २५ फागुन । नागरिक समाज दाङले घोराही–होलेरी सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । समाजको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सडकमा खाल्डाखुल्डी भएको कारण दुर्घटना बढेको भन्दै तत्काल मर्मत गरेर सहज बनाउन मागसमेत गरेको छ । साथै बैठकले नागरिक समाज दाङमा नयाँ सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा, निर्वमान अध्यक्ष चन्द्रराज पन्त, पूर्व अध्यक्ष टीकाराम रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ । बैठक समाजका अध्यक्ष केदारबावु तिवारीको अध्यक्षतामा भएको समाजका सदस्य नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*