Home / Feature Breaking news / नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

 नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् ।

ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

नेपालको सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जुनैद सिद्दिकीको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् ।

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख एलबीडब्लू आउट हुन पुगे । आसिफ आउट हुँदा नेपाल ३.३ ओभरमा ११/२ को अवस्थामा पुगेको थियो ।

कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए । अली नासिरको बाउन्सर बलमा उनी विकेट किपरबाट क्याच आउट भएका थिए ।

कुशल मल्ललाई बासिल हामिदले बोल्ड गरेपछि नेपाल ९.१ ओभरमा ५०/४ को अवस्थामा पुगेको थियो ।

त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए । दीपेन्द्र १४ औं ओभरको दोस्रो बलमा आयन खानको बलमा एलबीडब्लु आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो ।

तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए । गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

युएईका जुनैद सिद्दिकी, बासिल हामिद र अली नासिरले २/२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*