Home / Feature Breaking news / कांग्रेसमा देउवा ‘निर्विकल्प’, थापा मिसनमै

कांग्रेसमा देउवा ‘निर्विकल्प’, थापा मिसनमै

कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षदेखिका राजनीतिक मुद्दा र आम नागरिकले उठाइरहेका सवालमा केन्द्रीय कार्यसमिति बैठकमा कुनै धारणा राखेनन् । आठ दिनसम्म चलेको बैठकमा पदाधिकारी र सदस्यले उठाएका प्रश्नलाई पनि उनले पन्छाए । छलफलका लागि लिखित दस्तावेज पनि प्रस्तुत गरेनन् । बैठक समापनका क्रममा देउवाले ‘धेरै आलोचना होला भन्ने थियो, सोचेभन्दा धेरै कम भयो’ भन्दै धन्यवादसमेत दिए ।

अर्कातिर महामन्त्री गगन थापाले सार्वजनिक तहमा उठाइरहेको संसदीय दलको नेता परिवर्तनको मुद्दा केन्द्रीय कार्यसमितिमा पनि प्रस्टसाथ राखे । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने मुद्दामा पनि फरक मत राखे ।

देउवाको अनुमति नलिईकनै महामन्त्री थापा र विश्वप्रकाश शर्माले राजधानीमा असार २१ र २२ मा जिल्ला सभापतिहरूको बैठक बोलाएका थिए । अगाडि नै अनुमति लिन खोजेको भए सम्भव नहुने बुझेरै उनीहरूले बैठक बोलाइसकेपछि मात्रै देउवालाई जानकारी दिएका थिए । यसबाट सशंकित देउवाले तत्कालै केन्द्रीय कार्यसमिति बैठक बोलाएर महामन्त्रीहरूले दिन खोजेको ‘विद्रोह’ को सन्देशलाई चिर्ने प्रयास गरे ।

आम नागरिकबीच खस्केको छवि र पार्टीभित्रकै अन्तरसंघर्षलाई लिएर सत्ता राजनीतिका दृश्य र अदृश्य शक्तिबीच हुने छलफल देउवाका लागि टाउको दुखाइका विषय थिए । प्रमुख सत्ता घटक दलका नेतृत्वबीच भएको भद्र सहमतिअनुसार आफू प्रधानमन्त्री हुने परिस्थिति नबिग्रियोस् भन्ने देउवा चाहन्छन् ।

बाहिर जेजस्तो कोलाहल भए पनि कांग्रेसभित्र आफू आलोचना मुक्त र निर्विकल्प रहेको सन्देश देउवाले बैठकबाट सत्ता गठबन्धन, विपक्षी दल र बाह्य शक्तिलाई एकैसाथ दिएको उनी निकट नेताहरू बताउँछन् । ‘बैठक लाइभ गर्ने विषय एकाएक भएको होइन । धेरै अघिदेखिकै रणनीतिक योजना थियो,’ संस्थापन पक्षका एक नेताले भने, ‘महामन्त्रीले बाहिर जस्तो हल्ला गरे पनि पार्टीमा देउवाको विकल्प कोही छैन भन्ने नै यो बैठकको मूल राजनीतिक सन्देश हो ।’

साउन २ देखि १० सम्म चलेको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गरिएको थियो । ‘बैठकको अघिल्लो दिन पदाधिकारी र पूर्व पदाधिकारीबीच बैठक लाइभ गर्ने विषयमा वादविवाद भइरहँदा देउवाको निर्देशनमा पार्टी मुख्यालय सानेपामा क्यामेरासहित प्राविधिक टोली पुगिसकेको थियो । यसले बैठक लाइभ गर्ने सभापतिको रणनीति थियो भन्ने प्रस्ट हुन्छ,’ संस्थापन इतरपक्षका एक नेताले भने ।

खासगरी महामन्त्रीद्वय थापा र शर्माले नेतृत्वको विकल्प खोज्ने बहस अघि सारेपछि असन्तुष्ट बनेका देउवाले पार्टीभित्र उनीहरूको ‘हैसियत’ देखाउने भन्दै यस्तो रणनीति बनाएको संस्थापन पक्षका एक नेताले बताए । महामन्त्री थापाले बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘बैठक लाइभ गरेर सभापतिको उद्देश्य पूरा भयो होला’ भनेर व्यंग्य हानेका थिए । बैठकमा देउवाले देश र दुनियाँले कांग्रेसबारे थाहा पाउलान् भनेरै लाइभ गरिएको बताएका थिए । केन्द्रीय सदस्य नैनसिंह महर भने बैठक लाइभ गर्नुका पछि जसको जस्तो रणनीति भए पनि कांग्रेसको समर्थक र विरोधी सबैको ध्यान एक सातासम्म तानिनु सुखद भएको बताए ।

पार्टीको १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका नेता शेखर कोइराला केन्द्रीय कार्यसमितिमा आक्रामक भएनन् । पार्टी बैठक, विभाग, भ्रातृसंस्था, भ्रष्टाचार मुद्दा लगायत विषयमा कोइराला आक्रामक ढंगले प्रस्तुत हुन नसक्दा पार्टीभित्रको प्रतिपक्ष खेमा कमजोर बनेको चर्चा पनि कांग्रेस वृत्तमा छ । कांग्रेस संगठनको ४० प्रतिशतको नेतृत्व गरेका कोइरालालाई देउवाले अरू सामान्य केन्द्रीय सदस्य हाराहारी व्यवहार गरेर ७ मिनेटभन्दा बढी समय दिएनन् तर पनि उनले प्रतिवाद गरेनन् । अभिव्यक्ति नसकिँदै देउवाले माइकको लाइन काटिदिँदा कोइराला थपक्क बसेका थिए ।

संस्थापन पक्षीय सदस्य श्याम घिमिरेका अनुसार सभापति देउवाले पार्टीको प्रतिपक्षी नेतालाई समेत ‘म्यानेज’ गरेको सन्देश बैठकले दिएको छ । ‘शेखर दाइ अलि नरम भएको देखियो । झट्ट हेर्दा महामन्त्री गगन थापाबाहेक संस्थापनइतर पक्ष पनि आक्रामक भएन । यसले पार्टी विधानअनुसार चल्नुपर्छ र अब लयमा जान्छ, धेरै तिक्तता बढाएर समस्या खडा गर्न हुन्न भन्ने सन्देश पनि दिएको छ,’ उनले भने, ‘अर्कातर्फ महामन्त्री थापा आफ्नो मिसन र अडानबाट पछि हटेनन् ।’

केन्द्रीय सदस्य महर देउवाको आलोचना र महामन्त्रीप्रतिको आलोचनाको लाभ शेखर कोइरालालाई भएको दाबी गर्छन् । बैठकले देउवा पार्टीभित्र कति सशक्त छन् भन्ने कुरा पनि प्रमाणित गरेको उनको भनाइ छ । ‘१४ औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धीहरू नै शेरबहादुर दाइसँग झुक्न गएदेखि नै पार्टीभित्र शक्तिशाली हुनुभएको हो । रामचन्द्र दाइलाई राष्ट्रपति बनाएपछि त पार्टीमा निर्विकल्पजस्तै देखिनुभएको छ,’ महरले भने ।

युवा नेता गुरु घिमिरेले रणनीतिक योजनाका साथ बैठकमा प्रस्तुत हुनुपर्ने अपेक्षा पूरा नभए पनि नेता कोइरालाले प्रतिपक्षीको मुद्दा नछाडेको बताउँछन् । ‘उहाँले आक्रामक रूपमा बोल्ने मेरो स्वभाव र संस्कार छैन भनेर धेरैपटक भन्दै आउनुभएको छ,’ उनले भने, ‘उहाँले मुद्दा प्रस्टसँग राख्नुभएको छ ।’

यता महामन्त्रीद्वयमा आफूहरूविरुद्ध बैठकमा संस्थापन पक्ष जति आक्रामक भए पनि पार्टीलाई विधिविधानअनुसार चलाउने दिशामा सभापतिलाई डोर्‍याउन बाध्य बनाएको बुझाइ छ । महामन्त्री थापाले विधिविधानअनुसार सभापतिले नगरेका पार्टी संरचना र संगठन निर्माणका सबै काम आगामी भदौ १५ भित्र गर्नुपर्ने प्रस्ताव ल्याएका थिए । बैठकले त्यो प्रस्ताव पारित गरेको छ । दुई–दुई महिनामा बोलाउनुपर्ने बैठक एक वर्षमा राखिएकामा चौतर्फी आलोचना भएको थियो । सभापतिले महामन्त्री थापाको प्रस्ताव स्विकारेर बैठक समापन गर्दा असोज २ मा अर्को बैठक बस्ने घोषणासमेत गरे । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बस्ने निर्णय भएको छ ।

संस्थापन इतरपक्षीय एक नेताले पार्टीभित्र आफ्नो एकलौटी निर्णय चल्छ, कसैले आलोचना गर्न सक्दैन भन्ने सन्देश सभापतिले केन्द्रीय कार्यसमिति बैठकमार्फत दिएको बताए । अर्कातर्फ महामन्त्रीले थापाले पनि अबको नेतृत्व आफूहरू नै रहेको भन्ने प्रभाव छाडेको उनको भनाइ छ ।

युवा नेता गुरु घिमिरे नेताहरू आ–आफ्नो रणनीतिमा सफल भए पनि कांग्रेस रूपान्तरणका लागि बैठकले सकारात्मक सन्देश दिन नसकेको बताउँछन् । सिंगो देश नै भ्रष्टाचारका विरुद्धमा उत्रिरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणजस्तो अपराधमा संलग्न भएको भनेर मुद्दा लागिसकेका नेतालाई निलम्बन नगर्नु, भ्रष्टाचार र सुशासनका विषयमा आम नागरिकले नेतृत्वप्रति उठाइरहेको प्रश्नको जवाफसमेत दिन नसक्नु दुर्भाग्य रहेको उनले बताए ।

‘अहिलेको चुनौती सामना गर्न आन्तरिक एकता कसिलो बनाउने सन्देश बैठकले दिन सकेन,’ उनले भने, ‘केन्द्रीय सदस्यहरू आफ्नो गुट रक्षाका लागि अर्कोलाइ अर्गेलो देख्ने काममा सीमित भए ।’ उनले बैठक लाइभ गर्दा केन्द्रीय सदस्यको योग्यता, क्षमता र विषय प्रस्तुतिको ज्ञान दुनियाँलाई थाहा भएको पनि बताए । ‘भ्रष्टाचारको मुद्दामा महामन्त्रीले फरक मत राख्नुपर्‍यो । महामन्त्रीले फरक मत राख्नु कांग्रेसको इतिहासमै विडम्बनापूर्ण हो,’ उनले भने ।

कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*