Home / Feature Breaking news / छिमेकी अनुभव : होस्ने आरा बेगम, लघुवित्त र बंगलादेशको विकास

छिमेकी अनुभव : होस्ने आरा बेगम, लघुवित्त र बंगलादेशको विकास

इन्दिरा पन्त

भीख मागेर जीविकोपार्जन गरिरहेका महिलाको पहलमा स्थापना भएको संस्थाले आज अकल्पनीय संजाल, संरचना विकास गरेको छ । ९१ प्रतिशत महिला सदस्य रहेको यो लघुवित्तका ६४ जिल्लामा ९०१ कार्यालय, १७ लाख सदस्य र ८ हजार बढी कर्मचारी छन् ।

जीवन अपार सम्भावनाहरूको खानी हो । जब मान्छेभित्र दृढ इच्छाशक्ति र समर्पण हुन्छ, चामत्कारिक नतिजा हासिल हुनसक्छ भन्ने कुराको उदाहरण हुन्– ‘प्रा.डा. हुस्ने आरा बेगम’ । सन् १९७५ सम्म ‘अब्दुस समद’ नामका पुरुषको रूपमा हुर्किएकी होस्ने आरा २३ वर्षको उमेरमा पेटको ट्यूमरको अपरेसन पछि लिङ्ग परिवर्तन भएर महिलाको रूपमा रूपान्तरित भइन् । यो अनौठो परिस्थितिले उनलाई लिङ्गको आधारमा महिलाप्रति हुने भेदभाव र असमानताप्रति संवेदनशील बनायो ।

स्वास्थ्य अवस्था निकै जटिल छ भन्ने आभास पाएकी उनले मृत्युलाई पराजित गरेर फर्किए बाँकी जीवन समाजको लागि समर्पित गर्ने संकल्प गरिन् । यहाँ चमत्कार जतिबेला पनि हुनसक्छ । जस्तो, प्रा.डा. होस्ने आरा बेगमको जीवनमा भयो । ट्यूमरको शल्यक्रिया पछि महिलाका रूपमा पुनर्जीवन पाइन् । र, लघुवित्तीय संस्थामार्फत सामाजिक, आर्थिक रूपान्तरणका लागि चामत्कारिक नेतृत्व प्रदान गरिन् ।

लघुवित्त कार्यक्रममा मात्र वार्षिक ४४ अर्बभन्दा बढीे कारोबार गर्ने बंगलादेशको प्रसिद्ध लघुवित्तीय संस्था ‘ठेंगामारा मोहिला सबुज संघ’ (टीएमएसएस) की संस्थापक कार्यकारी निर्देशक बेगम मृत्युको मुखबाट जसरी चामत्कारिक रूपले फर्किन सफल भइन्, त्यसरी नै चरम गरिबी भोगिरहेका लाखौं मानिसलाई समृद्धिको बाटोमा लगिन् । उनको यो आर्थिक र सामाजिक क्षेत्रको रूपान्तरणकारी नेतृत्व बंगलादेशमा मात्रै होइन, संसारभरिकै मानिसलाई चकित पार्ने खालको छ ।

बेगम जस्तै चामत्कारिक केही व्यक्ति, तिनको प्रयासमा स्थापित संस्था र असल नेतृत्वले बंगलादेशको सामाजिक, आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ । तीव्र गतिको आर्थिक वृद्धि गरिरहेको बंगलादेशको उन्नतिमा त्यहाँको लघुवित्तीय संस्थाको महत्वपूर्ण योगदान छ ।

नेपालमा लघुवित्तीय संस्थाहरूले गरिबहरूलाई उठिबास लगाए भन्ने खबर आइरहेको बेला गत साता बेगम नेतृत्वको विशाल लघुवित्त (टीएमएसएस) को अवलोकन गर्ने मौका मिल्यो । उनको दूरदर्शी र परिवर्तनकारी नेतृत्वमा संचालित बहुआयामिक कार्यक्रमले हासिल गरेका नतिजाहरूले निकै उत्साहित बनायो ।

लघुवित्त सही अर्थमा अघि बढ्न सके त्यसले समाजको कायापलट गर्न सक्दोरहेछ भन्ने प्रमाण देख्दा खुसी लाग्यो । तर, नेपालमा उही उद्देश्यले खोलिएका लघुवित्तले किन अपेक्षित परिणाम हासिल गरेनन् भन्ने कुराले चिन्तित पनि बनायो ।

लघुवित्त भनेको गरिबहरूलाई वित्तीय सेवा दिनु हो । आर्थिक तथा व्यावसायिक बहिष्करणमा परेकालाई वित्तीय मूलप्रवाहमा ल्याउन लघुवित्त उपयुक्त विकल्प हो । गरिबी निवारण, गरिब तथा न्यून वर्गको वित्तीय पहुँचवृद्धि, उद्यमशीलता प्रवर्द्धन र सामाजिक पूँजी निर्माणमा लघुवित्त प्रभावकारी छन् भन्ने बंगलादेशले उदाहरण नै प्रस्तुत गरेको छ ।

समकालीन विश्वमै लघुवित्तका अगुवा डा.मोहम्मद युनुसले बंगलादेशका लाखौं निर्धन महिलालाई विना धितो ऋण दिएर तिनको जीवनमा अभूतपूर्व परिवर्तन ल्याउन सफल भएका छन् । यसबापत प्रोफेसर युनुुसले २००६ मा नोबेल शान्ति पुरस्कार समेत पाएका छन् ।

प्रा.डा. हुस्ने आरा बेगम

लघुवित्तको विशिष्टता भनेको ऋण लिंदा धितोको आवश्यकता पर्दैन । यिनीहरू आफ्ना सेवाहरू ग्राहकको घरदैलोसम्मै पुर्‍याउँछन् । समूह बनाएर ‘सामाजिक धितोको’ आधारमा ऋण दिन्छन् । जसले महिला र समुदायका कमजोर वर्गलाई आर्थिक गतिविधिमा सामेल हुन प्रेरित गर्छ ।

लघुवित्तले लघु उद्यमलाई प्रोत्साहन गर्छ । र, लघु उद्यमले स्थायी रोजगारी सृजना गर्न, समुदायको आर्थिक गतिविधिलाई चलायमान बनाउँछ । यसबाट अनौपचारिक क्षेत्रको कर्जा निर्भरता हटाउन सहयोग पुग्छ । लघुवित्तको अवधारणालाई ईमानदारीपूर्वक लागू गर्दा आम रूपमा वित्तीय साक्षरता र वित्तीय पहुँच मात्रै बढ्दैन स्वास्थ्य र शिक्षाको स्तर पनि बढ्छ । यसबाट महिला मार्फत पारिवारिक विकासमा महत्वपूर्ण योगदान पनि पुग्न सक्दछ भन्ने बंगलादेशको उपलब्धिबाट प्रष्ट हुन्छ ।

बंगलादेशमा करिब १ हजार लघुवित्त छन् । तीमध्ये ठूला १० लघुवित्त संस्थाहरू र ग्रामीण बैंकले बचत र कर्जाको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, जसमार्फत त्यहाँका विपन्न परिवारले विभिन्न आय आर्जनका काम गर्दै आएका छन् ।

यस्ता ठूला दशमध्येको एक हो टीएमएसएस । यो संस्था १२६ जना भिखारी महिलाको पहलमा बोगरा जिल्लाको सदर उपजिल्ला अन्तर्गत ठेंगामारा गाउँमा सन् १९६४ मा एक स्थानीय क्लबका रूपमा स्थापना भएको थियो ।

तत्कालीन समयमा त्यहाँका महिलाहरूको अवस्था अत्यन्त दयनीय थियो । महिलाहरू सामाजिक हिसाबले बन्दी जस्तै थिए भने आर्थिक हिसाबले विपन्न । समाजमा गरिबी व्याप्त थियो । सामान्य व्यक्तिगत खर्चका लागि पनि महिला त झन् पुरुषसँगै निर्भर हुनुपर्ने अवस्था थियो । र, निरन्तर हिंसा र विभेदको शिकार भइरहन्थे । श्रीमतीले पैसा मागे श्रीमान्ले छोडपत्र दिनेसम्मको अवस्था थियो ।

यो अवस्थाबाट मुिक्त पाउन ठेंगामाराका केही महिलाले प्रति व्यक्ति एक मुठी चामल संकलन गर्न सुरु गरे । त्यो बेचेर आएको पैसा उनीहरू बचत गर्थे । यो खबरले गाउँका अरू महिलालाई पनि प्रेरणा दियो । छिट्टै नै आसपासका ६ वटा गाउँमा अरू १४ समूह गठन भए ।

कालान्तरमा ती सबै समूहलाई स्थानीय क्लबका रूपमा दर्ता गरिएको थियो । तर, बंगलादेशको स्वतन्त्रता आन्दोलनका कारण संस्था संचालन हुनसकेको थिएन । सन् १९८० मा प्रा.डा.होस्ने आरा बेगमले ‘ठेंगामारा मोहिला सबुज संघ’ (टीएमएसएस) का रूपमा दर्ता गरिन् । सन् १९८५ मा ४ वटा युनियनमा आवद्ध नियमित भिखारीहरूलाई सहभागी बनाएर एक कार्यशालाको आयोजना गरियो । उक्त कार्यशालाले भीख माग्न छोड्ने र जीविकोपाजर्नका लागि कडा परिश्रम गर्ने निर्णय गर्‍यो ।

गरिब, अतिविपन्न र भीख मागेर जीविकोपार्जन गरिरहेका महिलाहरूको पहलमा स्थापना भएको यो संस्थाले आज विशाल संजाल, संरचना र कार्यक्रमसहित अकल्पनीय ढंगले विकास गरेको छ । यस लघुवित्तका हालसम्म ६४ जिल्लामा ९०१ कार्यालय रहेका छन् । लघुवित्त कार्यक्रममा मात्रै १७ लाख सदस्य र ८ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । यस संस्थामा ९१ प्रतिशत महिला सदस्य छन् भने ९३ प्रतिशत महिला सदस्यले ऋण लिएका छन् ।

संस्थाले लघुवित्तको अलावा अन्य बहुआयामिक व्यवसाय संचालन गरिरहेको छ । विभिन्न कार्यक्रम मार्फत ३ करोड ५० लाख जनसंख्यामा पुगेको छ र करिब ३७ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

लामो समयदेखि विभेद, हिंसा र सामाजिक बेवास्ताबाट पीडित ठेंगामाराका विपन्न महिलाहरूले सुरु गरेको यो संस्थाको सफलताको कथा साँच्चिकै उत्पे्ररणादायी छ । भुईंतहबाटै संस्थाको स्थापना गरिएकोले पनि होला यो स्तरको विकास संभव भएकोे । संस्थाले गरिब र विशेषगरी महिलाको सामाजिक, आर्थिक अवस्थालाई माथि उठाउन स्थानीय स्रोतसाधन र सीपको प्रयोग गर्दै विभिन्न उद्यम संचालन गर्दै आएको छ । उनीहरूले स–सानो गर्जो टार्न मात्रै होइन, उद्यम–व्यवसाय संचालन गर्न सफल भएका छन् । लघुवित्तकै कारण महिलाले पनि समृद्धिको सपना देख्ने र आफ्नै पौरखमा पूरा गर्ने हैसियत बनाएका छन् ।

‘ठेंगामारा मोहिला सबुज संघ’ लघुवित्त संस्थाको अवलोकन गर्ने क्रममा कतिपय समूहको बैठकमा समेत सहभागी हुने र सदस्य महिलाहरूसँग अन्तरक्रिया गर्ने मौका मिल्यो । समूहमा १२ देखि १८ जना सम्म सदस्य थिए । उनीहरूले कृषि, पशुपालन गर्न, पसल तथा अटोरिक्सा किन्न ऋण लिएको बताए ।

यस लघुवित्त संस्थाले ‘स्वास्थ्य, शिक्षा र लघुवित्त’ (एचईएम) एकीकृत मोडेलका रूपमा विकास गरेको छ । सदस्यका लागि विभिन्न क्षेत्रमा ९६ वटा उपस्वास्थ्य केन्द्र स्थापना गरिएको छ । प्रत्येक समूह बैठकमा स्वास्थ्य सचेतना, शिक्षा, सरसफाइका बारेमा छलफल गर्ने, प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने प्रचलन छ । सबैको रक्तचाप, तौल एवं अन्य साधारण परीक्षण गरिसकेपछि बैठक संचालन हुन्छ । समूहमा रहेका ग्रामीण महिलाले आफूलाई लागेको कुरा निर्धक्कसँग राख्दै र लघुवित्त कार्यक्रममा आबद्ध भएपछि आत्मविश्वास बढेको बताए ।

होस्ने आरा बेगमको गतिशील नेतृत्व र विवेकपूर्ण मार्गदर्शनमा ‘ठेंगामारा मोहिला सबुज समाज’ (टीएमएसएस) बंगलादेशमा मात्रै होइन, दक्षिणएशियाकै महिलाद्वारा नेतृत्व गरिएको सबैभन्दा ठूलो लघुवित्त बन्न सफल भएको छ । यसले लघुवित्त कार्यक्रम मार्फत गरिब तथा अति गरिब र महिलालाई आर्थिक रूपमा सक्षम बनाउन र जीवनको स्तरोन्नतिको लागि आय आर्जनमा उनीहरूको सहभागिता सुनिश्चित गर्न बहुआयामिक र एकीकृत सेवाहरू मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

बंगलादेशमा लघुवित्तको प्रत्यक्ष र परोक्ष रूपमा यस्तो प्रभाव देख्न सकिन्छ :

(१) लघुवित्तको मूल्य लक्षित समूह महिला भएकोले उनीहरूले विशेष आर्थिक शक्ति प्राप्त गरेका छन् । सांस्कृतिक हिसाबले पुरुषहरूको वर्चस्व भए पनि पूँजीमा पहुँच वृद्धि भएकोले महिलाको आत्मविश्वास बढेको छ । निर्णय गर्ने क्षमता बढेको छ । पारिवारिक व्यवसाय संचालनका लागि पनि ऋण लिन सक्षम भएका छन् ।

(२) गरिब जनताको साहु वा धनी व्यक्तिहरूमाथिको निर्भरता घटेको छ र जनताले ऋण लिन संस्थागत पहुँच वृद्धि भएको छ ।

(३) लघुवित्तका कारण ग्रामीण समाजमा आएको गुणात्मक परिवर्तनले गर्दा औपचारिक वित्तीय संस्थाहरूले समेत गरिबहरूलाई ऋण दिन थालेका छन् ।

(४) रोजगारीका अवसरहरू वृद्धि भएका छन् । लघुवित्त कार्यक्रममा आवद्ध भएको घरपरिवार तुलनात्मक हिसाबले स्वरोजगार बन्दै गइरहेका छन् ।

(५) महिला श्रमशक्तिको ज्यालादर लघुवित्तको हस्तक्षेपले गर्दा वृद्धि भएको छ । महिलाहरू मात्रै होइन पुरुषको पनि सौदावाजीको क्षमता विकास भएको छ र ग्रामीण ज्यालादारीको अवस्थामा पनि सुधार आएको छ ।

(६) लघुवित्त कार्यक्रमकै माध्यमबाट समुदायका सबै आयामहरूमा सकारात्मक प्रगति भएको छ ।

नेपालमा पनि गरिबी निवारणको कार्यक्रमका रूपमा लघुवित्त कार्यक्रम सुरु गरिएको हो । नेपाल राष्ट्र बैंकको २०७९ असोज महिनाको तथ्याङ्क अनुसार नेपालमा ६४ वटा लघुवित्त संस्थाहरू छन् । यी संस्थाका ७७ वटैै जिल्लामा शाखा कार्यालय छन् । तिनमा १३ लाखभन्दा बढी समूहमा ५९ लाख ३६ हजार ९५ सदस्य छन् ।

हाम्रो जस्तो विकासोन्मुख देशमा लघुवित्त अर्थतन्त्रको अभिन्न अंग बन्न सक्थ्यो । तर, पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसकेर गाउँ नै छोडेर भाग्नु परेको, आत्महत्या गरेको, सामाजिक–पारिवारिक समस्या झेल्नु परेका समाचार आइरहेका छन् ।

लघुवित्त कार्यक्रम मूलतः महिला लक्षित रहेको पाइन्छ । वित्तीय क्षेत्रमा आम मानिसको पहुँच नभएको अवस्थामा महिलालाई वित्तीय मूलप्रवाहीकरणमा ल्याउन लघुवित्तले सहयोग पुर्‍याउनुपर्ने हो । तर, हामीकहाँ परिणाम सोचेअनुरुप आइरहेको छैन । खबरहरूमा आएझैं गाउँ बस्ती नै उठिबास लगाउने गरी समस्या सृजना हुँदा सरकारले किन नीतिगत हस्तक्षेप गरेन भन्ने गम्भीर प्रश्न खडा भएको छ । बजारमा आएका कुरा कति सत्य हुन् भन्ने अध्ययन गरेर बेलैमा समस्या समाधान नगर्ने हो भने स्थिति झन् गम्भीर बन्दै जान सक्छ ।

लघुवित्तको मुख्य केन्द्रविन्दु गरिबी न्यूनीकरण गर्नु हो । यसका लागि अति विपन्नका बीचमा पुग्न र उनीहरूलाई आर्थिक मूल प्रवाहमा ल्याउन सजिलो छैन । किनकि, जनसंख्याको यो समूहलाई दैनिक उपभोगको लागि नै पैसाको अभाव भइरहेको हुन्छ । दैनिक उपभोगको अभाव पूरा नभएसम्म बचत वा लगानीको स्थितिसम्म पुग्न सम्भव हुँदैन । त्यसैले समयमै ऋण तिर्न नसक्ने अवस्था आउँदछ ।

नेपालको सन्दर्भमा कतिपय व्यक्तिले एक ठाउँबाट ऋण लिने र त्यो तिर्न अर्को संस्थामा जानुपर्ने अवस्थाले पनि गरिबी निवारणमा खास उपलब्धि नभएको हुन सक्छ । लघुवित्तको सेवा घरघरसम्मै पुर्‍याउनुपर्ने हुँदा यसको लागत तुलनात्मक हिसाबले बढी छ, र व्याजदर अलि महँगो पर्छ । तर, प्रविधिका माध्यमबाट यसको लागत कम गर्न सकिन्छ ।

लघुवित्तीय क्षेत्रमा देखिएको हाम्रो यो संकटपूर्ण अवस्थाको निकासका लागि छिमेकी बंगलादेशको अनुभव काम लाग्न सक्छ । यद्यपि, बंगलादेशमै पनि लघु वित्तीय संस्थाहरू अझै ग्रामीण भेगमा पुग्न नसकेको र नियमन प्रणाली पूर्ण रूपमा व्यवस्थित र व्यावसायिक नभइसकेको लगायत आलोचना छन् ।

तर पनि, नेपालको तुलनामा त्यहाँको प्रगति उत्साहित गर्ने खालकै छ । त्यहाँका असल अभ्यासलाई संस्थागत रूपले नै अध्ययन र अनुसरण गरे नेपालको लघुवित्तले गुमाउन लागेको साख र कमजोर कार्यप्रगति सुधार्न सहयोग पुग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*