Home / Feature Breaking news / घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा २० र बाह्य हवाई इन्धनमा ३० रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल र मट्टीतेल समान १७२ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन १७० र बाह्य हवाई इन्धन १.४२ डलर प्रतिलिटर तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि नेपाली बजारमा निगमले मूल्य नघटाई चर्को नाफा राखेको भन्दै नागरिक समाज, अधिकारकर्मी र उपभोक्ताले आपत्ति जनाउँदै आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका थिए । तत्कालीन आपूर्तिसचिव तोयम रायालाई निर्देशन दिँदै प्रधानमन्त्रीले भनेका थिए, ‘पेट्रोलियम पदार्थको मूल्यलाई लिएर जनतामा निराशा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छ, उपभोक्तालाई त्यसको प्रत्याभूति हुने गरी मूल्य निर्धारण गर्नुहोला ।’ प्रधानमन्त्रीको निर्देशनअघि सचिव रायाको अर्थ मन्त्रालयमा सरुवा भएका कारण तत्काल मूल्य घटाउने विषयमा निर्णय हुन सकेको थिएन ।

मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार आपूर्ति मन्त्रालयमा सरुवा भएका सचिव मधु मरासिनीले शुक्रबार पदभार ग्रहण गरे । आपूर्तिसचिव आयल निगमको सञ्चालक समिति अध्यक्षसमेत रहने व्यवस्था छ । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । ग्यासमा भने निगमलाई प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ नोक्सान छ ।

प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य घटाउन सञ्चालक समितिको निर्णय अनिवार्य हुँदैन, निगम आफैँले गर्न सक्छ । त्यसभन्दा बढी मूल्य घटाउन भने सञ्चालक समितिको निर्णय आवश्यक हुन्छ । यसपटक ठूलो दरमा इन्धनको भाउ घटाउनुपर्ने दबाब भएकाले सञ्चालक समितिबाट निर्णय भएको निगमको भनाइ छ ।

गत १६ पुसमा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य पठाउँदा निगमले सञ्चित घाटा देखाउँदै मूल्य घटाउन नसकिने प्रस्टीकरण दिएको थियो । निगमले १६ देखि ३० पुससम्म ९९ करोड १२ लाख रुपैयाँ नाफा राखी पेट्रोलियमको मूल्य यथावत् राखेको सार्वजनिक भएपछि मूल्य घटाई उपभोक्तालाई राहत दिन चौतर्फी दबाब सिर्जना भएको थियो ।

मूल्य घटाएपछि निगमको चर्को नाफादरमा केही कमी आएको छ । यद्यपि, अझै पनि निगमलाई पेट्रोलमा ११.६६, डिजेलमा ४.१८ र मट्टीतेलमा ४०.७९ रुपैयाँ प्रतिलिटर नाफा कायम छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा २८.८१ र बाह्य हवाई इन्धनमा ६९.५३ रुपैयाँ प्रतिलिटर नाफा छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले सरकारको निर्देशन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर इन्धनको मूल्य घटाउने निर्णय लिइएको बताए । ‘पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्दै गर्दा निगम ११ अर्ब बक्यौता र आठ अर्ब ऋणमा डुबेको छ । यस्तो वेला पनि सरकारको निर्देशन पालना गर्ने र आमउपभोक्ताको मनोभावलाई सम्बोधन गर्ने क्रममा मूल्य घटाइएको हो,’ उनले भने ।

आइओसीबाट प्रत्येक महिनाको १ र १६ गते तेल खरिदको नयाँ मूल्य आउने हुँदा सोही दिनको आसपास मूल्य निर्धारण हुने गरेको छ । तर, यसपटक प्रधानमन्त्रीको निर्देशन भएपछि बीचमै मूल्य घटाइएको हो । यो मूल्यमा आउँदो ३० पुससम्म इन्धन बिक्री हुनेछ । त्यसपछि नयाँ खरिददर आउने हँुदा निगमले नयाँ मूल्य तय गर्न सक्छ । यसअघि निगमले १ पुसमा पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको थियो ।

मूल्य घटाएपछि उपभोक्ताको दैनिक तीन करोड जोगिँदै
आयल निगमले दैनिक तीन करोड चार लाख ५८ हजार रुपैयाँ नोक्सान खेप्ने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । दैनिक औसतमा पेट्रोल १८ लाख लिटर, डिजेल ४० लाख लिटर, आन्तरिक हवाई इन्धन डेढ लाख लिटर र बाह्य हवाई इन्धन साढे तीन लाख लिटर खपत हुने गरेको निगमको तथ्यांक छ । प्रतिलिटर तीन रुपैयाँले मूल्य घटाउँदा पेट्रोलबाट ५४ लाख तीन हजार, डिजेलबाट एक करोड २० लाख ३० हजार, मट्टीतेलबाट एक लाख पाँच हजार, आन्तरिक हवाई इन्धनबाट ३० लाख ८० हजार र बाह्य हवाई इन्धनबाट ९८ लाख ४० हजार रुपैयाँ नोक्सान खेप्नेछ ।

आउँदो ६ दिनसम्म यही मूल्यमा इन्धन बिक्री गर्दा निगमलाई १८ करोड २७ लाख ४८ हजार रुपैयाँ नाफा कम हुनेछ । यद्यपि, निगमले १६ देखि ३० सम्म प्रक्षेपित विवरणअनुसार मूल्य घटाएपछि पनि यो अवधिमा ८० करोड ८४ लाख रुपैयाँ नाफा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*