Home / Feature Breaking news / डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवाना

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवाना

सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाइएको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत चैतमै डीएसपी सिंहलाई दोषी ठहर गरेको थियो। हालसालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा डीएसपी सिंहलाई ८ महिना कैद र १५ हजार जरिवनाको फैसला सुनाइको छ।

जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को ९१० बमोजिको कसुर सिंहले गरेको पूर्णपाठमा उल्लेख गरिएको छ।

उक्त कसुर गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ। सोही अनुसार सिंहलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने पूर्णपाठमा उल्लेख गरिएको छ।

नेपाल लाइभले डीएसपी सिंहले कागजात सच्याएर प्रहरीको जागिर खाएकोबारे समाचार प्रकाशन गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गरेको अघि बढाएको थियो।

छानबिन सकेर विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेका थिए।

२०५८ मंसिर १२ मा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। सशस्त्र द्वन्द्वको समय थियो। प्रहरी निरीक्षकको नतिजा निस्कन भने ढिलाई भइरहेको थियो।

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा बल्ल निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। ती मध्ये एक थिए, रमेशबहादुर सिंह। उनै रमेशबादुर सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए।

प्रहरी सेवामा भर्ना भएर १६ वर्ष सेवा गरिसकेका तिनै डिएसपी सिंहले नागरिकता लगायत डकुमेन्ट कीर्ते गरेर जागिर खाएको विषय नेपाल लाइभले समाचार प्रकाशित गरेको थियो।

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य थिए। त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्म मिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए।

तर, अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी योग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमासमेत उनको उमेर २०३२ माघ १२ गते नै थियो।

नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर। पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको ‘२’ को ठाउँमा ‘३’ बनाएर सच्याएको पाइएपछि उनी दोषी ठहर भएका हुन् ।

डिएसपी सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल ल क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसम्मलाई गुमराहमा राखेका थिए। उनले २०३२ को अन्तिमको ‘२’ रहेको स्थानमा ‘३’ बनाएको उक्त डकुमेन्ट नै ‘फेक’ भएको प्रमाणित भएको छ।

डिएसपी सिंहको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी भएको रजिस्ट्रेसन नम्बर २५८६२–९२ हो। यो रजिस्ट्रेसन नम्बर लिँदा उनको जन्ममिति २०३२ माघ १२ नै थियो। तर उनले प्रहरी निरीक्षकमा भर्ना हुन जन्ममिति सच्याएर नागरिकता र स्कूलको चारित्रिक प्रमाणपत्र बनाइसकेका थिए। सोही  अनुसार त्रिविको सर्टिफिकेटमा २०३२ को ‘२’ को ठाउँमा ‘३’ बनाएर पेस गरी प्रहरी सेवामा प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*