Home / Feature Breaking news / कांग्रेस बैंठक: देउवा निकट नेताहरू नै गठबन्धनको विपक्षमा !

कांग्रेस बैंठक: देउवा निकट नेताहरू नै गठबन्धनको विपक्षमा !

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको पहिलो दिन गठबन्धनबारे गम्भीर गन्थन भएको छ । करिब साढे तीन महिनापछि बसेको केन्द्रीय समिति बैठकको पहिलो दिन सोमबार बोल्ने पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरू नै चुनावी गठबन्धनको विपक्षमा उभिएका छन् ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न भनेर बोलाइएको बैठकमा अधिकांश केन्द्रीय नेताहरूले गठबन्धनको विपक्षमा मत जाहेर गरे । बैठकको सुरुमै पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, स्थानीय तह निर्वाच केन्द्रीय प्रचारप्रसार समिति संयोजक एवंम् पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

देउवा निकट प्रदेश सभापतिहरू पनि गठबन्धनसँग असन्तुष्ट
बैठकमा सातै प्रदेशका सभापतिहरूले आ–आफ्नो प्रदेशको चुनावी प्रतिवेदन प्रस्तुत गरेका थिए । तर, प्रदेश सभापतिहरू गठबन्धनको पक्षमा भने नखुलेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।  बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले स्थानीय तह निर्वाचनजस्तै भद्रगोल अवस्थामा चुनावी गठबन्धन हुन नसक्ने धारणा राखेका थिए । उनले ‘कांग्रेसको बुई चढेर’ चुनाव जितेका दलहरूले कांग्रेस जिताउन भने लागिनपरेको धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

वीरबहादुर दाइको आजको प्रस्तुति आक्रमक थियो । हामी छक्क पर्‍यौँ, उहाँ गठबन्धनको विपक्षमा उभिनुभयो,” ती केन्द्रीय सदस्यले भने, “बैठकमा जे भनिएपनि अधिकांश प्रदेश सभापति गठबन्धनको विपक्षमा उभिए ।”

ती केन्द्रीय सदस्यकाअनुसार बलायरले गठबन्धनमा कांग्रेससँग ‘लेभल नमिल्ने’ अन्य पार्टीहरूको माग धेरै भएको भन्दै आसन्न संघीय चुनावमा अवस्था यस्तै रहे आफ्नो जिल्लामा गठबन्धन गर्न नदिने बताएका छन् ।

“कांग्रेसको बलमा अरू पार्टीले चुनाव जित्ने, यसरी गठबन्धन हुन सक्दैन । गर्ने भए चुस्त दुरुस्त र तीव्र तयारीका साथ गरौँ, होइन भने यो गठबन्धनले पार लाग्दैन, हामी डुब्छौँ । यस्तो पाराले मेरो जिल्लामा गठबन्धन हुन सक्दैन,” बलायरको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।

वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ पनि गठबन्धन विपक्षमा उभिएका छन् । बैठकमा उनले पार्टीभित्र एकता नगर्ने तर बाहिर अरू दलसँग एकता गरेर हुन्छ भन्दै प्रश्न उठाएका थिए । उनले पार्टीको आन्तरिक एकतामा जोड दिएका थिए ।

बैठकमा मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूले घात गरेको बताएका थिए । उनले मधेस प्रदेशमा गठबन्धनका अरू दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा कांग्रेसलाई धोका दिएको बताए ।

मधेस प्रदेशका आठ जिल्लामध्ये चार जिल्लामा कांग्रेसलले जिल्ला समन्वय समिति (जिसस)को नेतृत्व लिएको छ । तर, जिससको निर्वाचनमा गठबन्धनका अन्य दलले एमालेलाई सघाएर धोका दिएको यादवको भनाइ छ ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पनि गएको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न हतार भएको बताए । उनले गठबन्धनका कारण संगठन कमजोर भएकोसमेत बताए ।

“गठबन्धन हतारमा गरियो । कार्यान्वयन गर्ने संयन्त्र जिम्मेवार भएन । गठबन्धनका कारण संगठन कमजोर भयो । केही जिल्लाबाट सहयोग भयो, राम्रो भयो । तर, केहीमा राम्रो भएन,” उनले बैठकमा भने, “नेकपा (एकीकृत समाजवादी) जनअनुमोदित भएन, एमालेले जितेको ठाउँ माग्यो, गलत भयो । माओवादी केन्द्रले साथ खोज्यो तर विश्वास गरेन, अरूसँग मिल्यो ।”

गठबन्धनका कारण पार्टी कमजोर बनेको बताउँदै उनले आउँदो निर्वाचनमा त्यसबारे ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका अध्यक्ष अम्बर पुनले गएको स्थानीय तह निर्वाचनमा एक्लै लडेको भए राम्रो नतिजा आउने बताएका छन् । उनले माओवादी केन्द्र कमजोर भएको ठाउँमा मात्र गठबन्धन गरिएको भन्दै असन्तुष्टि पनि जनाए ।

“चुनावअगाडि मैले कांग्रेस भारतीय कांग्रेस बन्छ भनेको थिएँ ।

गठबन्धन गर्दा पनि धेरै सिट जित्न सकिएन । प्रदेशमा माओवादी बलियो छ,” उनले बैठकमा भने, “गठबन्धनको नाम लिन चाहेनन्, कमजोर ठाउँमा मात्र भयो । गठबन्धनभन्दा प्रतिस्पर्धा गरेको, एक्लै लडेको भए राम्रो हुन्थ्यो ।”

उनले पार्टी विधानसम्मत नचलेको, प्रदेश र स्थानीय तहलाई दिइएको अधिकार केन्द्रबाट खोसिएको पनि बताए ।

“हामीले टिकट बाँड्ने अधिकार पाएनौँ । विधानसम्मत चल्ने, हाम्रो अधिकार कटौती गर्न हुँदैन भनेर हामीले माग गरेका छौँ,” उनले सुनाए ।

प्रदेश १ का सभापति उद्धव थापाले स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था सुधार भएको तर कतिपय ठाउँमा आन्तरिक किचलोले सफलता प्राप्त हुन नसकेको बताए ।

देउवालाई शेखर कोइरालाको प्रश्न– मेरा पछाडि सुराकी किन खटाइयो ?
बैठकमा नेता शेखर कोइरालाले समय लिएर १२ बुँदे लिखित धारणा नै राखे । उनने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई आफ्ना पछाडि सुराकी खटाएको आरोप लगाएका छन् ।

“महाधिवेशनमा हामीलाई ४० प्रतिशत प्रतिनिधिले मत दिएका छन् । सभापतिज्यूले ती प्रतिनिधिको भावनाविपरीत निरन्तर अन्याय  गर्नुभएको छ,” उनले बैठकमा भनेको कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले चलाउनुमात्रै भएको छैन । मेरो पछाडि सुराकी पनि खटाउनुभएको छ । स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो ?”

उनले चुनावी तालमेलबाट कांग्रेसले लाभ लिन नसकेको धारणा राखेका छन् । तालमेलका कारण केही बढी सिट जितेको तर पार्टीको आदर्श र सिद्धान्तलाई कमजोर बनेको उनको तर्क छ ।

“स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ । तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्‍यौँ । अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो । त्यो पनि विचार गर्न जरुरी छ,” उनले भने, “तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । तालमेलमा जानुपूर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाइनुपर्थ्यो । क्रियाशीलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भूगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट वितरण गरिनुपर्थ्यो । तर कतिपय स्थानमा त्यो हुन सकेन ।”

उनले बैठकमा सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।

ओली नेतृत्वकै शैलीमा सरकारले असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको उनको आरोप छ ।

“नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । महँगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ,” उनले भने, “हुनेखानेहरूसमेत सामान्य जीवन बिताउन कठिनाइ महसुस गरेका छन् । गरिब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला हामी काठमाडौं बसेर त्यसको पीडा बोध गर्न सक्दैनौँ । सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, सञ्चार जगत, व्यवसायी तथा आमनागरिकले समेत प्रश्न गर्न थालेका छन् । यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ ।”

गुरु बरालसँग देउवाको चर्काचर्की
बैठकमा देउवा निकट केन्द्रीय सदस्य गुरु बरालले गठबन्धनको भरमा कांग्रेस कहिलेसम्म चुनाव लड्ने भन्दै प्रश्न गरेका थिए । उनले गठबन्धनको मात्र भर पर्न नहुने बरु कांग्रेस एक्दै लड्ने तयारीमा लाग्नुपर्ने बताएका थिए ।

“सैद्धान्तिक रूपमा फरक ध्रुवका दलहरूसँग गठबन्धन गर्दा असहज देखियो । केही समय यथास्थितिमा राख्दै आफ्नो पनि तयारी गर्नुपर्छ,” उनले बैठकमा भनेका थिए, “भूमिका र जिम्मेवारी दिनुहोस्, हामी देशभर एक्लै लड्ने अनि जित्ने कांग्रेस बनाउँछौँ ।”

बरालले बोली नसक्दै देउवाले ‘तपाईं एक्लै चुनाव लड्ने तयारी गर्नुहोस्’ भन्दै आक्रोश पोखेको थिए ।

“ए बाबा, एक्लै लड्ने भए एक्लै लड्ने तयारी गरे भइहाल्यो त ! तपाईं तयारी गर्नु न,” देउवाले बराललाई भनेका थिए ।

यता केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापति देउवाले पार्टीमा सबै पक्षको ’स्पेस छ’ भन्ने देखाउनुपर्ने धारणा राखे । उनले सम्मुखमा निर्वाचन रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि सभापतिले उदारता देखाउनुपर्ने उनको भनाइ छ ।

“सभापतिले उदारता देखाउन जरुरी छ । अरूले पनि निर्वाचन हुन लागेको समयको संवेदनशीलता बुझ्न जरुरी छ,” उनले बैठकमा भने ।

उनले चुनावी गठबन्धनका लागि गठबन्धनको राम्रा–नराम्रा पक्षमा छलफल हुनेपर्ने धारणा पनि राखे । गठबन्धन नगरी सिट बढाउन सक्ने भए त्यस्तो उत्तम हुने र गठबन्धनमा नजाँदा विरुद्धमा बन्ने गठबन्धनको ध्यान दिनुपर्ने उनको सुझाव छ ।                        बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*