नारायणप्रसाद श्रेष्ठ
मानव आचरणमा देखापरेको विविध चाहना र मनोरञ्जन प्रधान मानसिकता तब मात्र सन्तुष्टको संघारमा पुग्नसक्छ जब उनीहरुको मनमन्दिरभित्र खुसीको अनुभूति गराउने संस्कृतिको सुगन्ध र उपादेयताबारे जानकारीमूलक विचारहरु प्रवाह हुने अवस्था सिर्जना हुन्छ । पर्यटकको गन्तव्य संस्कृति र संस्कारमा केन्द्रित भएको पाइन्छ । जहाँको संस्कृति र संस्कार अलग र चाखलाग्दो हुन्छ प्रायः मानिसको आकर्षण त्यतै बढेको हुन्छ । त्यसैले ऐतिहासिक महत्व बोकेको सांस्कृतिक संस्कारलाई अविछिन्न गतिशील बनाउँदै लोपोन्मुख संस्कृतिको संरक्षण सबैको जिम्मेवारी हुन आउँछ ।
नेपाल भूपरिवेष्ठित राष्ट्र हो । हिमाल, पहाड, तराई रहेको यहाँका वासिन्दाहरु विविधतामा एकता कायम गरेर रहे, बसेको पाइन्छ । विभिन्न धर्म, जाति, सम्प्रदाय भएर पनि आपसी सद्भाव र सहिष्णुता जोगाइ एकअर्काको सहयोगी बन्दै मातृभूमिप्रतिको इमानदारीता नेपाली समाजमा अटल र विश्वसनीय रहेको पाइन्छ । नेपाल विविध संस्कृति र संस्कार रहेको मुलुक हो । संस्कृति र संस्कार अलग रहेर पनि नेपाल र नेपालीपनको आभास सबैमा उत्तिकै रहेको छ । नेपाल रहे हामी नेपाली हाम्रो इमानदारी र बीरता हाम्रो चिनारी भन्दै संस्कृति र संस्कारलाई विश्वसामू चिनाउन प्रत्येक नेपाली आफै सक्षम रहेका छन् ।
हिमालदेखि तराईसम्म बसोबास गर्ने विविध संस्कृतिका धनीको लोक संस्कृति र संस्कार विश्वसामू राष्ट्रिय पहिचान भएर मुखरित भएको पाइन्छ । संस्कृति हाम्रो धरोहर हो । यसको संरक्षण र सम्बद्र्धन हाम्रो जिम्मेवारी हो भन्दै आपसी सद्भाव र सहकार्य जीवनलाई सहज गति दिने उत्तम विकल्प रहेको कुरा प्रत्येक नेपालीको मनमन्दिरमा छाएको छ । हर हमेसा आदर्श र गतिशील भएर रहेको राष्ट्रिय चिनारी स्वरुप रहेको हाम्रो संस्कृति अगाढ विश्वास र आस्थाका कारण विश्वसामू अभूतपूर्व हिसाबले चिनारी भइरहेको छ ।
राष्ट्रिय चिनारीको रुपमा रहेको संस्कृतिप्रतिको अगाढ विश्वास र आस्थाका कारण नेपाल र नेपालीको रहनसहन, बसाइँ, लवाइ, खवाइ र आपसी मित्रता, सबै वर्ग, क्षेत्रभित्रको समन्वय र सहकार्य विश्वसामू अवस्मरणीय चिनारीको रुपमा रहेको छ । यही गौरवमय संस्कृति र संस्कारको अवलोकन गर्न तथा सुन्दर, शान्त, विशाल हिमवत खण्डलाई अवलोकन गर्न वर्षेनी लाखौँ पर्यटकहरु नेपाल आउने गरेको पाइन्छ ।
श्रद्धा र समर्पण तथा अनुशासित एवं मर्यादित जीवनशैली नेपाली मनको चाहना हो । सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार हुन् । वेद शास्त्र र त्यही शास्त्रद्वारा निर्देशित हाम्रा सांस्कृतिक पर्वहरु साच्चिकै जीवनलाई रुपान्तरण गरी आदर्श गन्तव्य निर्धारण गर्ने सांस्कृतिक क्रान्तिका आधार मानिन्छ । सेवा र सद्भाव, समर्पण र विश्वास, सामाजिक बन्धुत्व हाम्रा सांस्कृतिक पर्वका महत्वपूर्ण विशेषता हुन् ।
प्रेम, सद्भाव र आत्मसन्तुष्टिका आधार मानिएका हाम्रा पर्वले हामीलाई एकअर्काबीचको सम्बन्धमा न्यानोपनको अनुभूति दिलाउने पुलको काम गरिरहेको छ । मित्रता र सहयोग हाम्रो संस्कृतिको विश्वास हो । युगौँदेखि मौलाउँदै आएको हाम्रो संस्कृतिले हामीलाई जीवन सहज र गतिशील बनाएको देखिन्छ । अहंकार र घमण्ड मानिसका वर्गशत्रु हुन् । कोही कसैले पनि अहंकार गर्नु गराउनु हुँदैन भन्दै घमण्डले ल्याउने दुःखद परिणामको हाम्रो संस्कृतिले निकै रोचक ढङ्गले विश्वास दिलाउन खोजेको पाइन्छ । मन, वचन र कर्मद्वारा आफ्ना भावनालाई सकारात्मक उन्मुख गराइ समाजमा यदा कदा देखिने गलत मानसिकतालाई हटाउन हाम्रो संस्कृतिले हामीलाई सचेत गराएको छ ।
हिमालदेखि तराईसम्मका विविध संस्कृति तथा संस्कृतिले डो¥याएको हाम्रो जीवन शैली विविधतामा एकता कायम गर्दै अगाडि बढेको छ । रहनसहन, भेषभुसा अलग रहेर पनि नेपाल र नेपालीपनको अठोट, विश्वास र भरोसालाई संस्कृतिले एउटै धागोमा गाँस्न सक्षम भएको पाइन्छ । घृणाले होइन, प्रेम र सद्भावले मानवीय आचरण र व्यवहारमा परिस्कृत ल्याउन सकिन्छ भन्दै सबै जातको एउटै फूलबारी भएर रहन हामीलाई हाम्रो संस्कृतिले सघाउ पु¥याएको छ । विविध समय र मौसमअनुसार विविध संस्कृति अँगाल्दै के पहाड, के तराई सबै हामी नेपाली भन्दै हाम्रो संस्कृतिले हामीलाई एउटै सूत्रमा अबद्ध गरेको छ ।
सर्वोच्च शिखर सगरमाथाको नामले परिचित नेपालीको आफ्नै मौलिक संस्कृति रहेको कुरा विश्व परिवेशमा चिनारी भएर रहेको छ । यस धरतीमा टेक्ने प्रत्येक पर्यटकको पहिलो गन्तव्य हाम्रो संस्कृति र काठमाडौं स्थित मठमन्दिरले सुसज्जित कलात्मक सिर्जनाले खिचेको अवस्था छ । उपत्यकामा रहेको विभिन्न मठमन्दिर, रहनसहन, पूजा विधि तथा संस्कृतिप्रति अगाढ स्नेह, जनमानसमा देखिएको भावनात्मक सम्बन्ध, पर्यटकको पहिलो रोजाइ बन्न सफल भएको छ । विभिन्न समयमा हुने चाडपर्वभित्रको मनोरञ्जनात्मक क्षण तथा ज्ञानबद्र्धक मौलिक संस्कृतिभित्रको परम्परा पर्यटकको आकर्षक केन्द्रविन्दु भएर रहेको छ ।
उच्च हिमशिखरको प्रतिबिम्ब भएर रहेको विभिन्न तालतलैया, प्राकृतिक एवं लोकसंस्कृतिभित्र रहेको नाचगान र वातावरण साच्चिकै नेपाली पहिचान भएर विश्वसामू परिचित हुन पुगेको छ । उपत्यका र उपत्यका बाहिर प्रदर्शन गरिने जात्रा, पर्व र यस जात्रा, पर्वभित्र लुकेर रहेको आध्यात्मिक जीवन शैली नेपालको मौलिक संस्कृतिभित्रको उज्यालो चिनारी हो । जीवित कुमारी देवीको पूजा गर्ने प्रचलनदेखि प्रत्येक सहरमा स्थापित विविध सांस्कृतिक धरोहर मठमन्दिर, जात्रा, पर्व, साच्चिकै मनै लोभ्याउने खालका छन् ।
देख्दामा अचम्म लाग्ने लाखे नाँच, धिमे नाँच, सारँगी नाच, देउडा तथा टप्पा नाच, भोटे नाच, तामाङ, मगर र नेवार नाच, हिमाली भेगमा नाचिने विविध नाचसँगै मयुर नाच, पहाडी रहनसहन, तराईमा मनाइने चाडपर्व, दसैँ, तिहार, छठ पर्वजस्ता हाम्रा सांस्कृतिक पर्व अगाढ विश्वासको बलियो आधार भएर रहेको छ । स्वार्थी र दुष्ट आत्मालाई निःस्वार्थ र सदाचार आत्मबलले सजिलै परास्त गर्न सक्छ भन्ने मान्यता स्वरुप मनाउने पर्वले अहंकार र घमण्डलाई परास्त गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हाम्रो संस्कृतिभित्र रहेको पाइन्छ ।
राक्षसी र दानवीय प्रवृत्तिले निम्त्याउने दुष्परिणाम तथा लाखेजात्रा, गाईजात्रा पर्वभित्र रहेको मृत्युसत्यभित्र रहेको चिनारी एवं शक्तिको पूजा, प्रकृतिको पूजा गर्ने हाम्रो परम्परा होली पर्वभित्र देखिने आपसी भाइचारा विश्वको लागि अनौठो संस्कृतिको रुपमा परिचित छ । मानव र दानवबीचको भिन्नता सोच र चिन्तनमा आउने सकारात्मक र नकारात्मक प्रवृत्तिको मानवीय आचरण, अहंकार र घमण्ड मानिसका वर्गशत्रु हुन् । मित्रता र सद्भाव नेपाली संस्कृतिले ल्याउने परिवर्तनको अधार हो ।
वास्तवमा हाम्रा लागि आदर्श र सकारात्मक प्रवृत्ति उन्मुख हाम्रो संस्कृतिभित्रको चिन्तन बलियो अधार बनेको छ । संस्कृति र संस्कारले ल्याउने सकारात्मक तरंग तथा भावनात्मक सम्बन्धले ल्याउने प्रेम र मित्रता, सहयोग सद्भाव बढाउन उत्प्रेरित गर्ने हाम्रा संस्कृति, रहनसहन, भेषभुसा, भाषा, विविधतामा एकता प्रदर्शन गर्ने मुख्य आधार रहेको छ । तसर्थ, हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो संस्कार हाम्रो जीवनशैली भनी विश्वसामू बीरताको इतिहास लेख्दै जाने नेपाली पुरुषार्थलाई सदैव हाम्रो जिम्मेवारीभित्र व्याख्या र विश्लेषण गर्दै अगाडि बढ्नुपर्ने भएको छ ।
त्यसैले अहिले केही समय यदा देखापरेको हाम्रो संस्कृतिमाथि देखिने गिद्धेदृष्टिलाई निस्तेज गर्दै तथा हाम्रो आदर्श पहिचान बोकेको संस्कृति र संस्कारमा हिलो छ्याप्ने नकावधारीलाई नङ्ग्याउँदै आफ्नो संस्कृतिको संरक्षण गर्नु जरुरी छ । आयातीत धर्म र संस्कृतिले ल्याउने छाडापनको अन्त्य गरी आत्मबल बलियो गराउँदै राष्ट्र र राष्ट्रियतालाई साक्षी राखी आफ्नो संस्कृतिको चिनारी दिनुपरेको छ । समाजमा विकृति र विसंगति भिœयाइ जीवनशैलीलाई परजीवी बनाउने छद्मभेषी तत्वलाई नङ्ग्याउँदै हाम्रो आफ्नै संस्कारभित्र हुर्केको मौलिक संस्कृतिलाई अविछिन्न रुपमा गतिशील बनाउन सबै नेपाली एक बनौँ ।
संस्कृति र संस्कारलाई समाज रुपान्तरणको मुख्य आधार र आर्थिक तथा सामाजिक उन्नतिको बलियो कडीको रुपमा विकास गरी आफूलाई प्रस्तुत गरौँ । आर्थिक विकासको बलियो आधार रहेको संस्कृति र संस्कार हाम्रो धरोहर भन्ने बोध गरी आफ्नो जिम्मेवारी निर्वाह गरौँ समयले यही खोजिरहेको छ ।