Home / Feature Breaking news / अस्थायी साधनको प्रयोगमा अझै अनभिज्ञता

अस्थायी साधनको प्रयोगमा अझै अनभिज्ञता

पार्वती बस्नेत
दाङ, २८ माघ । उनका काखभरि छोराछोरी, बुहारी अनि नातिनातिना छन् । ९ वटा सन्तानलाई जन्म दिए पनि २ वटा खेर गएको बताउने मनमाया वलीको विगत सम्झिँदा धेरैको आँखा रसाउने गर्छ । काम गरेपछि साँझविहानको गुजारा चल्ने परिवार थियो ।

उनले जन्मान्तरका लागि अस्थायी साधनको प्रयोग गरिन् । तर त्यो साधनले धोका दिएको उनले गुनासो गरिन् । उनले गर्भ रोक्नको लागि अस्थायी साधन तीनमहिने सुईको प्रयोग गरेकी थिइन् । परिवारको लालनपालनका लागि श्रीमान् रोजगारको लागि भारत जाने गरेका थिए । रोजगारमा गएका श्रीमान् बिदा मिलाएर घर आउने र जाने क्रम जारी नै थियो । ३ महिने सुई लगाउन सुरु गरेपछि नै उनको महिनावरी रोकियो ।

महिनावारी किन रोकियो त भनेर उनी स्वास्थ्यचौकी पनि पुगिन् । तर स्वास्थ्यकर्मीहरुले डिपो लगाएपछि धेरैको महिनावारी रोकिन्छ, केही हुँदैन’ भने । तर मनमाया सुई लगाउँदालगाउँदै गर्भवती भइन् । तर त्यो गर्भ कहिले भयो ? कुन समयमा भयो ?’ ग्रामीण महिला उत्थान केन्द्र दाङले गरेको प्रजनन् स्वास्थ्यसम्बन्धी सञ्चालन गर्ने तालिममा सहभागी घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी वलीले भनिन्– ‘अस्थायी साधनहरुको विश्वास गर्दा धोका भयो ।’

४ वटा सन्तान जन्मिएपछि मात्रै जन्मान्तरका लागि तीनमहिने सुई रोजेकी मनमायाले सुईले दिएको पीडा र भरपर्दो काम नगरेकै कारण उनले पछि अस्थायी साधन प्रयोग गर्न छोडेको समेत बताइन् । यसैगरेर मनमाया जस्तै समस्या थियो नाम परिवर्तन (राधा घर्र्ती) को । उनले पनि अस्थायी साधन कण्डमको प्रयोग गर्दा कण्डम योनिभित्र अड्किएपछि, लाजले भन्न सक्नुभएन र पछि संक्रमण भएपछि उपचारका लागि भारतको लखनउसम्म धाउनुपरेको बताइन् ।

ग्रामीण क्षेत्र वा सहरी क्षेत्रका महिलाहरुले प्रजनन् स्वास्थ्यसँग जोडिएका स्वास्थ्यका कुराहरु अझै पनि खुलेर भन्न सक्दैनन् । लैङ्गिक समानता र समताको जतिसुकै नारा लगाए तापनि स्वास्थ्यका क्षेत्रमा महिलाहरु खुम्चिनुपर्ने अवस्था छ । परिवार नियोजनका अस्थायी साधनहरुमा ९९ दशमलव ९९ प्रतिशत प्रभावकारी नै हुन्छ तर अधिकांश महिलाहरुले समाजले केही भन्छ कि भन्ने लाज, डरले गर्दा नै सही तरिकाले प्रयोग नगरेकै कारण परिवार नियोजनका अस्थायी साधनहरु पूर्णरुपमा प्रभावकारी हुन नसकेको परिवार नियोजन संघ घोराही दाङका स्टाफ नर्स सरिता तामाङले बताइन् ।

तामाङकाअनुसार परिवार नियोजनका अस्थायी साधनलाई प्रभावकारी रुपमा प्रयोग गर्नका लागी महिनावारी भएको ७ दिनभित्र ३ महिने सुई लगाउने, अन्य अवस्थामा पिसाब चेक गरेर सुई लगाउने र सुई लगाएको १५ दिनभित्र फेरि पिसाव जाँच गराउन आवश्यक रछ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङले संस्थाको कार्ययोजना अनुसार समय–समयमा महिलाहरुलाई लक्षित गरेर ग्रामीण क्षेत्रमा पुगेर परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु स्याहार, गर्भपतनबाट हुने जटिलता रोकथाम तथा व्यवस्थापन, बाँझोपन रोकथाम र व्यस्थापन, किशोरावस्था र प्रजनन् स्वास्थ्य, यौन रोग तथा एचआइभि÷एड्स, लिङ्गको आधारमा गरिने हिंसा, उमेर ढल्केका महिलाहरुको स्वास्थ्य समस्यालगायतका काम गर्दै आएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*