Home / Feature Breaking news / लकडाउनका कारण बायोग्याँस उत्पादनमा समस्या

लकडाउनका कारण बायोग्याँस उत्पादनमा समस्या

दाङ,२ साउन । घोराहीमा फोहोरबाट ग्याँस उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ। तर ग्याँस उत्पादन गर्न भने अझै केही समय लाग्ने जनाइएको छ।

जेठ महिनासम्म ग्याँस उत्पादन गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण उत्पादनमा ढिला भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए।

‘ग्याँस प्लान्टमा पूर्वाधार निर्माणको काम सकिएको छ,’ म्यानेजर श्रेष्ठले भने, ‘तर पनि ग्याँस उत्पादनलाई आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले हाल ल्याउन नसक्दा उत्पादन नभएको हो।’

लकडाउन खुकुलो हुँदा अहिले सामान ल्याउने प्रक्रिया अगाडि बढाउन काठमाडौंबाट पहल भइराखेको श्रेष्ठले जानकारी दिए । ‘बायो ग्याँस उत्पादनका लागि सामग्री भारतबाट ल्याउनुपर्ने हुन्छ तर लकडाउनका कारण सीमा बन्द हुँदा ल्याउन सकेनौं,’ उनले भने, ‘जसले गर्दा जेठमै उत्पादन हुने ग्याँस अब कात्तिक महिनासम्म हुने भएको छ।’

सुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान र त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण कार्य ढिला भएको थियो। घोराही उपमहानगरपालिकाको ल्यान्डफिड साइडमा फोहोरबाट ग्याँस निकाल्न थालिएको हो।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यबाट फोहोरबाट ग्याँस उत्पादन गर्न थालिएको श्रेष्ठले बताए।

त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो। १ वर्षको म्याद भए पनि काम सम्पन्न हुन नसकेकाले घोराही उपमहानगरले गत चैत महिनासम्म थप गरिएको थियो। तर कोरोनाका कारण काम हुन नसकेपछि फेरि कात्तिक मसान्तसम्म म्याद थप गरिएको छ।

करिब २० करोड लगातमा ग्याँस प्लान्ट निर्माणको काम सम्पन्न हुन थालेको म्यानेजर श्रेष्ठ बताउँछन्। फोहोरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैंले बेहोर्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए। संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिघा जग्गा उपलब्ध गराएको छ। उक्त ग्याँस प्लान्ट २ हजार घनमिटरको रहेको प्लान्ट म्यानेजर श्रेष्ठले बताए।

निर्माण सम्पन्न भए पनि दैनिक ७० देखि ८० वटा ग्याँस सिलिन्डर उत्पादन गर्ने लक्ष्य लिएको छ। प्रालिले ग्याँससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन्। ‘बजारमा निस्केको फोहोरबाट खाना बनाउनका लागि ग्याँससँगै खेतबारीमा प्रयोग गर्ने ग्याँस पनि उत्पादन गर्ने गरी काम भैरहेको छ,’ उनले भने, ‘सम्झौता मिति अनुसार सकिनुपर्ने हो तर विभिन्न कारणले  ढिलाइ भइरहेको छ।’

निर्माण गरेको कम्पनीले २० वर्ष उपभोग गर्ने गरि घोराही उपमहानगरपालिका र कम्पनीबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरलाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए।

२० वर्षसम्म कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने उनले बताए। ‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण गर्नेछौं,’ म्यानेजर श्रेष्ठले भने, ‘त्यो भन्दा पहिले कम्पनीले आम्दानीको मासिक ५ प्रतिशत रकम नगरपालिकालाई बुझाउने छ।’

ग्याँस उत्पादन हुन थालेपछि उक्त स्थानमा २० देखि २५ जनाले रोजगारीसमेत पाउने भएका छन्।

ग्याँससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ। जिल्लामा नै ग्याँस उत्पादन भएपछि ग्याँसको मूल्यमा पनि कमी हुने नागरिकको अपेक्षा छ।

यसरी फोहोरबाट ग्याँस उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हुनेछ। जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्न जिल्ला तथा बाहिरी जिल्लाबाट आउने गरेका छन्। फोहोरबाट ग्याँस तथा कम्पोस्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाले अपेक्षा लिएको छ।

ग्याँस उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग समेत हुनेछ। नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ। घोराही बजारमा दैनिक २४ टन फोहोरउठ्ने गरेको घोराही उपमहानगरका सरसफाइ शाखा प्रमुख प्रेम केसीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*