विसं २०१५ मा भएको नेपालको पहिलो संसदीय चुनावमा दुईतिहाइ बहुमत प्राप्त पार्टी नेपाली कांग्रेसका नेताको हैसियतले २०१६ को ज्येष्ठ १३ गते बीपी कोइरालाले प्रधानमन्त्री पदको शपथ लिनु भयो । उहाँको राष्ट्रिय हितप्रतिको सजगता र प्रतिबद्धताबाट देश र जनताका पक्षमा अनेक उल्लेखनीय र ऐतिहासिक कार्य भए ।
सन् १९५० को जुलाई ३१ (२००७ को श्रावण १६) का दिन नेपाल र भारतबीचमा शान्ति र मैत्री सन्धिमा हस्ताक्षर भयो । त्यो सन्धिको धारा ७ मा भनिएको थियो — भारत सरकार र नेपाल सरकार आआफ्नो देशभित्र एकले अर्को देशको बासिन्दालाई पारस्परिक आधारमा आवास र सम्पत्तिमाथि स्वामित्व कायम गर्न, व्यापार र वाणिज्य संचालन गर्न, आवतजावत गर्न र यस प्रकारका सहुलियतहरु दिन मञ्जुर गर्छन् ।
‘‘२०१२ सालमा जारी गरिएको नागरिक अधिकार ऐनको एउटा दफामा भारतीय नागरिकलाई नेपालमा घर जमीनमा भोगाधिकारको छुट दिने व्यवस्था गरिएको थियो । त्यो शान्ति र मैत्री सन्धिको धारा ७ को प्रावधान अनुकूल थियो । तर मुलुकी ऐनको अदलको महलले धेरै पहिलेदेखि मुगलानियाँ (विदेशी) लाई नेपालभित्र अचल सम्पत्ति खरिद गर्न बन्देज लगाएको थियो । मुलुकी ऐनको यो व्यवस्था पनि यथावत थियो ।
मुलुकी ऐनमा सातौं संशोधन हुनुभन्दा पहिले नेपालमा कसैले अचल सम्पत्ति किन्नु पर्दा, विक्रेतासित घरसारमा राजीनामा गराएर, त्यस्तो राजीनामा ६ महिनाभित्र रजिष्ट्रेसन पास नगरे, त्यो राजीनामालाई अदालतद्वारा रजिष्ट्रेसन पास गराउने कानुनी व्यवस्था थियो ।
शान्ति र मैत्री सन्धिको धारा ७ को प्रावधान र नागरिक अधिकार ऐनको व्यवस्थालाई क्रियाशील पार्ने उद्देश्यले एक जना भारतीय नागरिकले काठमाडौंमा घरजमीन खरिद गरेर त्यसको घरसारको राजीनामा गराए । उनले त्यसलाई अदालतको फैसलाबाट रजिष्ट्रेसन पास गराउने अवस्थामा पुर्याए र घरजमीन आफ्नो नाउँमा दाखिल खारेज गर्न माल अड्डामा पुगे ।
शान्ति तथा मैत्री सन्धिको धारा ७ को प्रावधान र नागरिक अधिकार ऐनको व्यवस्थालाई मान्ने कि ? मुलुकी ऐनको अदलको महललाई मान्ने ? नेपाल सरकारले यसको एउटा निर्णयमा पुग्नुपर्ने स्थिति आयो । त्यसैकारण कानुन सचिव घिमिरेले यसमा प्रधानमन्त्री बीपी कोइरालाको राय माग्नुभयो । बीपीले भन्नुभयो —नेपालीहरुले भारतमा घरजमीन खरिद गरे भारतको निमित्त त्यो सामान्य कुरा हुन्छ । तर भारतीयले त्यसैगरी नेपालमा घरजमीन खरिद गरे, नेपालको निमित्त त्यसले असमान्य स्थिति सिर्जना गर्छ । बीपीले भन्नुभयो — एउटा नदी समुद्रमा मिसिन आए, समुद्रलाई केही फरक पर्दैन । समुद्र नदीमा मिसिन आयो भने नदीको अस्तित्व के हुन्छ ?
नागरिक अधिकार ऐनको त्यो व्यवस्था तथा शान्ति र मैत्री सन्धिको धारा ७ को प्रावधान हामीलाई किमार्थ मान्य हुन सक्तैन । मुलुकी ऐनको अदलको जुन व्यवस्था छ, त्यही अनुरुप गर्नोस् । हामीले हाम्रो देशमा कुनै पनि विदेशीलाई घरजमीन खरिद गर्ने छुट दिनु हँदैन ।
यही निर्णय लागू गर्न सबै माल अड्डाहरु र सम्बन्धित निकायहरुलाई सरकारले आदेश दियो । यसरी शान्ति र मैत्री सन्धिको धारा ७ निस्क्रिय अवस्थामा पुग्यो । नागरिक अधिकारको ऐनको त्यो व्यवस्थालाई पनि खारेज गरियो । बीपीले गरेको यही निर्णय र त्यसअनुरुप बनेका नियमकानुन नेपालमा अझै यथावत लागू छन् ।
स्वर्गीय घिमिरेको अर्को स्मरण अनुसार — भारतका एक जना व्यापारीसँग विराटनगरका व्यापारीको व्यापारसम्बन्धी कारोबार थियो । विराटनगरका व्यापारीले कारोबारको रकम तिर्न विलम्ब गरे । त्यसैले विराटनगरका व्यापारीले रकम फस्र्योट नगरेसम्म उनको सम्पत्ति रोक्का गरिदिन, ती भारतीय व्यापारीले भारतको कलकत्ता उच्च न्यायाकलयमा उजुरी दिए । कलकत्ता उच्च न्यायालयले विराटनगरका व्यापारीको नेपालमा भएको सम्पत्ति रोक्का गर्ने आदेश दियो ।
त्यो आदेशको कार्यन्वयनको निमित्त कलकत्ता उच्च न्यायालयले नेपालको गृह मन्त्रालयलाई पत्र पठायो । गृह मन्त्रालयले यस बारेमा कानुन मन्त्रालयको राय माग्यो । कानुन मन्त्रालयको पनि यसमा राय बाझियो । त्यसैले यसलाई प्रधानमन्त्री समक्ष पेस गरियो । त्यसमा प्रधानमन्त्री बीपी कोइरालाले भन्नुभयो — यो प्रधानमन्त्रीको निर्णय लिइरहनु पर्ने विषय होइन । नेपाल एक स्वतन्त्र मुलुक हो । भारतको कुनै पनि न्यायालयको क्षेत्रभित्र नेपाल पर्न सक्तैन । यस्तो स्पष्ट र दुबिधारहित विषयमा किन गृह मन्त्रालयले कानुन मन्त्रालयको राय माग्यो ? कानुन मन्त्रालयमा पनि किन राय बाझियो ? आफैँले निर्णय नगरेर यसमा किन मसँग निर्णय मागियो ? आयन्दा यस्ता कुरा लिएर मकहाँ नआउनू ।
जननायक बीपी कोइरालाको प्रधानमन्त्रित्वको सरकारका प्रत्येक कार्य र निर्णयहरु राष्ट्रिय हितमा आधारित थिए । नेपाल जे गर्छ, त्यो कसैको दबाबबाट नभई आफ्नो हित र स्वाभिमानलाई अगाडि राखेर गर्छ भन्ने तथ्यलाई त्यो सरकारका कार्यले प्रमाणित गरेका थिए ।
भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले सन् १९५९ को नोभेम्वर २७ का दिन भारत र एसियायी मुलुकहरुको स्थितिका बारेमा बोल्दा भारतीय संसद्को तल्लो सदन लोकसभामा भने — नेपाल र भुटानमाथि कतैबाट कुनै किसिमको आक्रमण भयो भने त्यसलाई भारतले आफूमाथिको आक्रमणको रुपमा लिनेछ ।
त्यसप्रति असहमति जनाउँदै नोभेम्बर २९ अर्थात् २०१६ को मंसिर १४ को प्रेस सम्मेलनमा प्रधानमन्त्री बीपी कोइरालाले भन्नुभयो — नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । नेपालको भित्री वा बाहिरी कुनै पनि मामलामा कुनै पनि देशको हस्तक्षेप हुन सक्तैन । भारतले नेपालको कुनै विषयमा आफ्नो एकतर्फी कार्य गर्न सक्छ भन्ने कदापि सोच्नु हुँदैन । के अहिले कतैबाट हामीलाई खतरा छ र ? सबैसित हाम्रो शान्तिपूर्ण सम्बन्ध कायम छ ।
त्यसपछि, डिसेम्बर ३ का दिन दिल्लीको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेहरुले फेरि भनेका थिए — नेपालका प्रधानमन्त्री बीपी कोइरालाले जे भन्नुभएको छ त्यो ठीक भन्नुभएको छ । डिसेम्बर ८ मा भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पनि नेहरुले यही भनाइ दोहर्याएका थिए ।
जननिर्वाचित सरकारका अर्थ तथा उपप्रधानमन्त्री सुवर्ण शम्शेरले, २०१६/१७ को बजेट प्रस्तुत गर्दा भन्नुभएको थियो — देशको केही भागमा भारतीय रुपियाँको प्रचलनले गर्दा हाम्रो अर्थतन्त्रमा ठूलो बाधा पुगेको छ । यसबाट नेपाली रुपियाँको क्रयशक्ति घट्न गएको छ । हाम्रो वाणिज्य व्यवस्थामा पनि धक्का पुगेको छ । उपभोग्य वस्तुहरुको मूल्यमा समेत अस्थिरता आएको छ र उपभोक्ताहरुलाई मर्का पर्न गएको छ । सम्पूर्ण देशभर नेपाली रुपियाँको प्रचलनमात्र यसको उचित समाधान हो ।
त्यसपछि सरकारले नेपाली रुपियाँ र भारतीय रुपियाँको बीचमा उपयुक्त विनिमय दर निर्धारण गर्न, नेपाली रुपियाँको क्रय शक्तिलाई वस्तुपरक तवरले अवलोकन गर्यो । भारतीय रुपियाँको सटही दर कति कायम गर्न उपयुक्त हुन्छ, त्यसको समग्र रुपमा अध्ययन गर्यो । अन्ततः २०१६ को चैत्र ३० का दिन सरकारले भारतीय रुपियाँ (भा.रु) १०० को नेपाली रुपियाँ (ने.रु) १६० विनिमय दर निर्धारण गर्यो । त्यसै दिन, चैत्र ३० गतेदेखि सरकारले सबै पहाडी जिल्लामा अनिवार्य रुपमा नेपाली रुपियाँमात्र प्रचलन गर्न पाउने गर्यो । तराईका जिल्लाहरुमा त्यसको एक महिनापछि २०१७ को बैशाख ३० गतेदेखि नेपाली रुपियाँमात्र प्रचलन गर्न पाउने नियम लागू गर्यो ।
सरकारले चैत्र ३० कै दिन नेपालका सबै सरकारी कार्यालय एवं सबै माल कार्यालयहरुलाई नेपाली रुपियाँमा मात्र काराबार गर्न र सरकारी कोषमा दाखेला हुने सबै रकम नेपाली रुपियाँमा मात्र बुझ्न आदेश जारी गर्यो । विकाससम्बन्धी रकमको खाता पनि नेपाली रुपियाँमा संचालन गर्न सरकारले सबै सम्बन्धित निकायहरुलाई निर्देश गर्यो ।
त्यसबेलासम्म तराईको सम्पूर्ण भागमा तथा पहाडका अधिकांश जिल्लामा नेपाली रुपियाँको प्रचलन नै थिएन । भरतीय रुपियाँ मात्र प्रचलनमा थियो । कतिपय स्थानका बासिन्दाले त नेपाली मुद्रा नै चिन्दैनथे । यही स्थितिमा सरकारले देशभर नेपाली रुपियाँमात्र प्रचलन गर्नुपर्ने नियम लागू ग¥यो । यसले भारतीय रुपियाँको एकाधिकारमा थिचिन पुगेको नेपालको अर्थतन्त्रलाई माथि उठायो । सबैमा नेपाली रुपियाँप्रतिको विश्वसनीयतालाई बढायो । यो नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा भएको एक महत्त्वपूर्ण निर्णय थियो ।
जननिर्वाचित सरकारले राष्ट्र हितलाई मुख्य गन्तव्यमा राखेर देश उत्थानको अनेक कार्यहरु गरिरहेको थियो । यसबाट सरकारप्रति जनताको विश्वासमा वृद्धि भैरहेको थियो । तर, राजा महेन्द्रले त्यसलाई सहन सकेनन् । सैन्य शक्तिको आडमा उनले २०१७ साल पुस १ गते नेपाली जनताका सम्पूर्ण अधिकारहरु खोसेर आफू एक कठोर निरंकुश शासक बन्न पुगे । त्यसलाई टिकाइराख्न उनले अनेक देशघाती कार्यहरु गरे । राष्ट्र हितविपरितका सहमतिहरु गरे । कालापानीमा भारतीय सेनाको ब्यारेक राख्ने अनुमति र सन् १९६५ को गोप्य सैन्य सहमति त्यसैका परिणाम थिए ।
सन् १९६५ को जनवरी ३० मा दिल्लीस्थित नेपाली राजदूत यदुनाथ खनाल र भारतका परराष्ट्र सचिव वाईडी गुन्देभियाबीच नेपालको सुरक्षा सम्बन्धमा पूर्णतया भारतसित निर्भर रहने किसिमको गोप्य सहमति भयो । त्यो सहमतिमा सातवटा दफा र सातवटै उपदफाहरु थिए । यसको दफा १ मा — राजा महेन्द्रले सन् १९६३ को अगस्ट महिनामा दिल्लीको भ्रमण गर्दा, उनले भारतसित नेपाली सेनालाई सुसंगठित र आधुनिकीकरण गरिदिन कुरा उठाएका थिए । त्यसलाई भारतले मञ्जुर गर्यो । यसबारेमा चार महिनापछि, डिसेम्बरमा नेपाली प्रतिनिधि र भारतीय प्रतिनिधिबीचमा दिल्लीमा छलफल भयो । नेपाली प्रतिनिधिले सैन्य संगठनको निमित्त भारतसित सहयोगको प्रस्ताव गरे । त्यसलाई भारत सरकारले पूर्णरुपमा स्वीकार गर्यो भन्ने पनि त्यसमा उल्लेख छ ।
यो सहमति पत्रको अरु दफा र उपदफाहरुमा पनि भारतले नेपालको सबै तहको सेनालाई अत्याधुनिक हतियार उपलब्ध गराउने, तालीम दिने आदिलाई नेपालले मञ्जुर गरेको थियो । यसमा हतियार तथा गोलीगठ्ठा वा सुरक्षासम्बन्धी सबै कुरामा भारतको एकाधिकारलाई नेपालले स्वीकार गरेको थियो ।
यी सबैलाई हेर्दा, पुस १ गते जनताको यावत अधिकारहरु खोसिएको दिनको रुपमा मात्र होइन, नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमान खोसिएको दिनको रुपमा पनि आएको थियो ।
बाह्रखरीबाट