Home / Feature Breaking news / संगीतको पुनर्संरचनाः मौलिकताको चोरी, बौद्धिक सम्पत्तिको अपमान

संगीतको पुनर्संरचनाः मौलिकताको चोरी, बौद्धिक सम्पत्तिको अपमान

देवेन्द्र बस्नेत
दाङ, १२ भदौ

नेपाली संगीतका विभिन्न विधा छन् । हरेक विधाका गीत÷संगीतको मौलिकपना आ–आफ्नै हुन्छ । सिर्जना नयाँ हुनु पर्छ । र, त्यो सिर्जना मौलिकतासँग पनि जोडिएकै हुनुपर्छ ।

तर नेपाली संगीत क्षेत्र यो मान्यताबाट विलय हुँदै जाने हो कि भन्ने आशंका पछिल्ला गीतहरुले जन्माइरहेका छन् । न त सिर्जनामा नयाँ पन न त गीतमा हुनुपर्ने मौलिकपन ।

पुराना कुनै स्रष्टाको भाका चोरेर तोडमोड गर्दै संगीत क्षेत्रमा नाम कमाउन खोज्ने लहडले नेपाली संगीतको मौलिकपनामाथि प्रश्न चिह्न खडा गरिदिएको छ ।

केही कलाकर्मी र संगीतकारहरुले गुनासो गरेर अदालतमा समेत पुगेको अवस्था छ, तर अधिकांश कलाकर्मीहरु मौन बसेको अवस्था देखिएको छ । जसलाई कानुनले बौद्धिक सम्पतिको अधिकारको दुरुपयोग भनेको छ ।

चलचित्र सम्झनामा समावेश गरिएको ‘उकालीमा अघि अघि’ बोलको गीतको सानो अंश अर्को चलचित्र ‘कृ’मा समावेश भएकै कारण यो चलचित्रका निर्माता सुरज गिरी प्रहरी कस्टडीमा परे ।

अल्मोडा राना उप्रेतीले निर्माण गरेको यो गीत चोरीको अभियोग ‘कृ’ निर्माता गिरीलाई लागेपछि उनले ११ लाख रुपैयाँ तिर्नु प¥यो र केस सल्टाइयो । यो गीतका निर्माता अल्मोडा अहिले नेपाली चलचित्रका गीतहरुको ‘नम्बर वान’ मेकरका रुपमा स्थापित छन् । तथापि उनको सिर्जनाका कारण पटक–पटक विवादमा आइरहन्छन्, उनी ।

उनीमाथि आरोप लाग्छ ‘गीत चोरी’ । यसअघि पनि छक्का पञ्जा–२ मा समावेश ‘हे सानु नसमाउ नाडीमा’ बोलको गीतको लय हुवहु कपी गरेर विवादमा आएका अल्मोडाको चेत त्यसपछि पनि खुलेन ।

उनले कृ मा पनि उही शृंखला दोहो¥याए, उनको गल्तीका कारण निर्माता सुरजले सजाय भोग्नु प¥यो ।

गीत चोरी गरेको अभियोगमा कृ निर्माता गिरीमाथि लागेको मुद्दा संगीत क्षेत्रमै कमै मध्यको एक हो । तथापि अहिलेको नेपाली संगीतमा नयाँपन ‘विरलै’ को अवस्थामा पुगिसकेको छ । हरेक विधाका गीतहरुमा पुरानो गीतको ‘फ्लेभर’ झल्केकै हुन्छ ।

कृ मा जस्तो उजुरी पर्दैन फरक यति मात्रै हो । नेपाली गीतको कपि नहुने गीतहरु पनि वाह्य मुलुकका गीतहरुको मेलोडीकै लयमा बगाइन्छन् ।

लोक संगीतमा विद्यावारीधि गरेका पुराना गायक तथा संगीतकार डा गोविन्द आचार्य भन्छन्–‘गीतमा नयाँपन मरिसक्यो’– अहिलेको ‘कपी संगीत’को माहोलदेखि दिक्क मान्दै उनले थपे ‘पुराना गीतहरुलाई चोरी गरेर त्यसको श्रेय आफूले लिन खोजिन्छ, यो नेपाली संगीतमा निकै ठूलो दुर्भाग्य हो ।’

कुनै बेला संगीतको जवाना यस्तो थियो— ‘गीत रेकर्डिङका लागि रेडियो नेपाल एक मात्रै स्टुडियो थियो । गीत रेकर्ड गर्नका लागि मिहिनेत उत्तिकै चाहिन्थ्यो ।

स्वर परीक्षा पास अनिवार्य हुनुपथ्र्यो । गीतको शब्द लेखनी, संकलन÷संगीत जाँच हुन्थ्यो । कसैसँग सामान्य मिल्दोजुल्दो भए मात्रै गीत रेकर्ड गर्न दिइँदैनथ्यो ।

त्यसमाथि कलाकारहरुले वर्षमा एक पटक मात्रै गीत गाउने अवसर पाउँथे । ‘मलाई स्मरण छ, वर्षमा एउटा कलाकारले एउटा मात्रै गीत गाउन रेडियो नेपाललले डेट दिन्थ्यो’–डा आचार्य सम्झन्छन् ‘त्यो बेला नारायण गोपालले समेत डेट पाउनु हुन्नथ्यो, नत्र आज नारायण गोपालका गीतहरु यति थोरै हुने थिएनन् ।’

गीत रेकर्ड गर्नका लागि गीतका हरेक पक्षको चेकजाँच हुन्थ्यो । शब्द संगीतदेखि गीतको हरेक पक्षको चेकजाँचबाट पास भएपछि मात्रै मूर्त रुप पाउने गीतहरुमा विल्कुलै फरक र नयाँपन मिल्थ्यो । तर अहिले गायकीमा त्यो सीमितता छैन । स्वर परीक्षा पास गर्नै पर्ने पुरानो संगीत नीति तोडिइसकेको छ ।

यसर्थ अब गायक बन्नका लागि कुनै औपचारिकता पूरा गर्नु पर्दैन । कुनै बेला रेडियो मात्रै गीत बन्ने थालेको बनेकोमा अहिले गीत रेकर्डिङ थलोहरु ‘एक से एक’ जन्माइए । यसर्थ अब पहिलेजस्तो गीत रेकर्डका लागि समय कुर्नुपर्ने बाध्यता पनि रहेन ।

न त गीतको औपचारिक जाँच पासको सीमितता नै रह्यो । यसर्थ जो पनि जतिबेलै जस्तो सुकै गीत निर्माण गरेर गायक बन्नसक्ने बाटो खुल्ला भयो ।

गीत संगीतको क्षेत्रमा आएको प्राविधिक सुविधाका रुपमा यसलाई एक अर्थमा लिन सकिएला । तर गीतमा गुणस्तरीयता गुम्नुको मुख्य कारण पनि डा आचार्य पछिल्ला यिनै गतिविधिलाई मान्छन् ।

पछिल्लो समयमा आइरहेको कपि–गीतको बजार यसैको प्रारुप रहेको उनले बताए । ‘जब गीत जाँच हुन्न अनि जस्तो गाए पनि भयो’–उनी भन्छन् ‘नयाँ त्रियशन गर्ने क्षमता सबैमा हुन्न अनि पुरानो गीतलाई चोरेर त्यसको श्रेय लिनुभन्दा अरु विकल्प के रह्यो त ?’ उनको बुझाईमा अहिले बजारमा आउने विरलै गीत बाहेक अधिकांश कुनै न कुनै पुरानो गीतसँग मिलेकै हुन्छन् ।

‘या त शब्द होला या त संगीत हेला’–उनले भने–‘या त गायक गायिकाले पुरानै गायक गायिकाहरुको जस्तो आवाजको कपी गरेकै हुन्छन्, साच्चै भन्नुहुन्छ भने नेपाली संगीतमा क्रियशनको जवाना हराइसकेको छ ।’

गीतमा गुणस्तरियता भन्दा गायक बन्ने लहड पछिल्लो संगीत पिढीमा बढी देखिन्छ । रातारात हिट बनेर संगीत क्षेत्रको ‘स्टार’ बन्ने ‘ख्वाव’ नेपाली संगीतकर्मीहरुमा हाबी भएका कारण अहिलेका गीतहरुमा मिहिनेत भेटिन्न ।

पहिलेदेखि सुन्दै आएको गीतलाई थोरै तोडमोड गरेर नयाँ क्रियशनको जस लिँदै गीत–कपी गर्नेहरुका कारण संगीत क्षेत्रको गुणस्तरीयता निकै खस्किइसकेको डा आचार्य बताउँछन् । नेपाली संगीतप्रतिको क्रेज दाङमा पछिल्लो समय बढिरहेकै छ ।

तथापि, सिर्जनशीलताको कमजोर पाटोका कारण दङाली सिर्जनाहरु पनि पुरानो मेलोडीबाट कमै मात्रै उछितो बनेका देखिन्छन् ।

पुरानो गीतलाई जीवन्त दिनइनु सकारात्मक पक्ष हो नै । तर रिमेक वा रिमिक्सका नाममा पुरानो गीतको मौलिकतालाई मारिनु पुरानो सिर्जनामाथिको उपेक्षा हो ।

त्यसो त दाङमा बग्रेल्ती कलाकारहरु जन्मिइरहे पनि उनीहरुमा सिर्जनात्मक कौशलताको ज्ञान यथेष्ट छैन । यसर्थ पुरानै गीतको धुनलाई तोडमोड गरेर नयाँ गीत निर्माण गर्ने लहड बढिरहेकै छ ।

नयाँ गीतको सिर्जना कसरी गर्ने ? या सम्बन्धित विधाको गीतको मौलिकता के हो ? कसरी उक्त मौलिकतालाई गीतमा समावेश गर्ने भन्ने ज्ञान आर्जन गर्ने थलोसम्म जिल्लामा नहुनु यसको प्रमुख कारक हो ।

संगीतको ज्ञान अभावमा सार्वजनिक गरिएका गीतहरु कुनै न कुनै पुरानो गीतकै फ्लेभरमा बगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*